+
+
उम्मेदवार प्रोफाइल :

सुवास नेम्वाङ : कमजोर चुनावी अंकगणित, अविराम पाँचौं जितको चाहना

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २४ गते १५:३६

२४ कात्तिक, काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ पाँचौं पटक प्रतिनिधिसभा सदस्य बन्न चुनावी मैदानमा छन् । २०५६ यता लगातार चुनाव जितेर सांसद रहँदैआएका उनी उही इलाम-२ बाट उठेका छन् ।

अघिल्लो पटक एमाले-माओवादी केन्द्र (वाम गठबन्धन) का साझा उम्मेदवार रहेका नेम्वाङले नेपाली कांग्रेसका प्रत्यासी केशव थापालाई करिब १० हजार मतको अन्तरले पराजित गरेका थिए । यसपटक उनी एक्लो एमालेको बलमा छन् । उनीविरुद्ध सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका डम्बरबहादुर खड्का चुनावी मैदानमा छन् ।

यसअघि कुनै पनि चुनाव नहारेका नेम्बाङका लागि यसपटक भने केही प्रतिकुल परिस्थिति छ । इलाम-२ मा पर्ने पालिकाहरुको पछिल्लो चुनावी अंकगणित नेम्वाङ अनुकूल देखिँदैन । अघिल्ला निर्वाचनहरूमा ढुक्क देखिने उनले यसपालिको प्रतिकूलता बुझेर जिल्लामा चुनावी दौडधुप बढाएका छन् ।

लगातार चुनाव जित्दै आएका नेम्वाङ यसअघि अरूका लागि पनि मत माग्न विभिन्न क्षेत्रमा हिंड्थे । राष्ट्रिय छवि भएको नेता भए पनि चुनाव जितेपछि गाउँ बिर्सने गरेको आरोपहरूको बनिबनाउ जवाफ हुन्थ्यो उनीसँग । यसपटक भने पहिलेभन्दा कठोर अवस्थामा खटिरहेका छन्, नेम्वाङ ।

उनले संविधानसभा अध्यक्ष भएर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ल्याउन खास भूमिका खेलेको दोहोर्‍याइरहँदा गाउँलेहरू जनता बिर्सने व्यवहार र विकासको कुरा उठाइरहेका छन् ।

इलामबजार नजिकै सुन्तलाबारमा जन्मिएका ६९ वर्षीय नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिस्ट राजनीतिमा आएका थिए । २०३३ सालमा राजद्रोह मुद्दामा केही समय जेल परेका थिए, उनी ।

२०४८ र २०५२ सालमा राष्ट्रिय सभाको सदस्य भएका उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा  कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भए । २०५६ को निर्वाचन जितेर उनी सार्वजनिक लेखा समिति सभापति बनेसँगै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा पर्यटन तथा नागरिक उड्डययन मन्त्री तारिणीदत्त चटाैत जोडिएको चर्चित लाउडा कान्ड छानबिन गरेर चर्चामा आएका थिए ।

उनी  जनआन्दाेलन ०६२– ०६३ सँगै पुनर्सथापित स‌ंसदका सभामुख बने । २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर ऐतिहासिक संविधानसभाको अध्यक्ष भए । चारपल्ट सभामुख बन्दा उनी सधैं सर्वसम्मत भए ।

चुनावी अंकगणित

यसपटक इलाम-२ मा नेम्वाङ विरुद्ध युवा कांग्रेस डम्बरबहादुर खड्का सत्ता गठबन्धनको शक्ति परिचालन गरिरहेका छन् । राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वा पनि यो क्षेत्रबाट प्रतिस्पर्धामा छन् ।

२०७४ को निर्वाचनमा नेकपा (माओवादी केन्द्र)को समेत साथ पाएका नेम्वाङले ३६ हजार ५१७ र कांगे्रसबाट उनका प्रतिस्पर्धी केशव थापाले २६ हजार ८६५ भोट पाएका थिए ।

यसपटक भने अवस्था फरक छ । एमालेले २५ वर्षपछि पहिलो पटक गत स्थानीय निर्वाचनमा इलाम नगरपालिका गुमायो । उक्त चुनावमा इलाम-२ मा वडाअध्यक्षहरूले पाएको दलगत मतमा पनि एमालेभन्दा नेपाली कांग्रेस अगाडि छ ।

कांग्रेसले ३२ हजार ९७८, एमालेले ३२ हजार ५२७, माओवादी केन्द्रले २ हजार ७१७, जनता समाजवादी पार्टी (जसपा)ले ५५४, नेकपा (एकीकृत समाजवादी)ले २७७ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १३० मत पाएका छन् । यसरी गठबन्धनको कुल मत ३६ हजार ५२६ छ ।

इलाम-२ को दुईवटा प्रदेश सभा सदस्यमध्ये एउटा माओवादी केन्द्रले पाएको र अरू विषयमा मतभेद नभएकोले गठबन्धनबीच राम्रै सहकार्य हुने देखिन्छ ।

यसपटकको यस्तो चुनावी परिदृश्यले इलाममा चानचुने प्रयासले नेम्वाङको पाँचौं जित सम्भव नहुने देखाउँछ । जितका लागि उनले गठबन्धन दलहरूको भोट तान्नुपर्नेछ, त्यो पनि उल्लेख्य संख्यामा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?