
२४ कात्तिक, काठमाडौं । अष्ट्रेलियामा भइरहेको आठौं संस्करणको आईसीसी टी-२० विश्वकप क्रिकेटको उपाधिका लागि पाकिस्तान र इंग्ल्याण्ड भिड्ने भएका छन् ।
एडिलेडमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा इंग्ल्याण्डले भारतमाथि १० विकेटको शानदार जित निकाल्दै पाकिस्तानसँग उपाधि भिडन्त पक्का गरेको हो । यसअघि पहिलो सेमिफाइनलमा बुधबार पाकिस्तानले न्युजिल्याण्डलाई ७ विकेटले हराएको थियो ।
न्युजिल्याण्ड सेमिफाइनलबाट बाहिरिएपछि यस पटक टी-२० विश्वकपमा नयाँ विजेता नहुने पक्का भइसकेको छ । यस्तै पाकिस्तान र इंग्ल्याण्ड जसले फाइनल जिते पनि दोस्रो पटक च्याम्पियन बन्नेछ ।
पाकिस्तानले यसअघि सन् २००९ मा भएको दोस्रो संस्करण जितेको थियो भने इंग्ल्याण्डले २०१० मा भएको तेस्रो संस्करणको उपाधि जितेको थियो ।
यस्तै यी दुई टिमबीच अर्को संयोग पनि छ । दुवै टिम तेस्रो पटक टी-२० विश्वकपको फाइनल पुगेका हुन् ।
सन् २००७ मा भएको पहिलो टी-२० विश्वकपको फाइनल पुगेको पाकिस्तान त्यसबेला भारतसँग पराजित हुँदै उपविजेता बनेको थियो । यस्तै इंग्लयाण्ड पछिल्लो पटक २०१६ को फाइनल खेल्दा वेष्ट इन्डिजसँग पराजित भएको थियो ।
अहिलेसम्म वेष्ट इन्डिजले मात्र दुई पटक टी-२० विश्वकपको उपाधि जितेको छ ।
टी-२० विश्वकपमा अहिलेसम्मका विजेता
२००७ – भारत
२००९ – पाकिस्तान
२०१० – इंग्ल्याण्ड
२०१२ – वेष्ट इन्डिज
२०१४ – श्रीलंका
२०१६ – वेष्ट इन्डिज
२०२१ – अष्ट्रेलिया
२०२२ – ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4