+
+

समृद्ध राष्ट्र निर्माणका लागि अर्थतन्त्रमा सुधार गर्नु जरुरी छ : कार्यवाहक राष्ट्रपति पुन

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २४ गते १३:३३

२४ कात्तिक, काठमाडौं । कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले आर्थिक, सामाजिक रुपान्तरण सहितको समृद्ध राष्ट्र निर्माणका लागि अर्थतन्त्रमा सुधार गर्नुपर्ने बताएका छन् ।

बिहीवार नेपाल–चीन उद्योग वाणिज्य संघको २३औं वार्षिक साधरण सभालाई सम्बोधन गर्दै कार्यवाहक राष्ट्रपति पुनले आर्थिक सामाजिक रुपान्तरण सहितको समृद्ध राष्ट्र निर्माणका लागि अर्थतन्त्रमा सुधार गर्नुपर्ने बताएका हुन् ।

उनले नेपाल उत्पादित वस्तुमा आत्मनिर्भर भइ निर्यात वृद्धि गर्न नसकेसम्म मुलुक आर्थिक रुपमा समृद्धि हुन नसक्ने बताए । उनले नेपाली उत्पादित वस्तु चीनमा निर्यात बढाउनको लागि नेपाल-चीन उद्योग वाणिज्य संघ लगायतका संस्थाहरुले समन्वय र सहकार्य गर्न आवश्यक रहेको बताए ।

कार्यवाहक राष्ट्रपति पुनले सरकारले आर्थिक समृद्धिलाई मुख्य एजेण्डा बनाए पनि मुलुकको व्यापारको अवस्था भने सन्तोषजनक नभएको भन्दै चिन्ता व्यक्त गरे ।

उनले गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको तीन महिनाको आर्थिक तथ्याङ्क हेर्दा चीन तर्फको निर्यात निरन्तर घट्दो अवस्था रहेको भन्दै यस्तो हुनु नेपालको अर्थतन्त्रका लागि सकारात्मक सन्देश नभएको बताए ।

उनले अल्पविकशित मुलुकबाट निर्यात हुने ९० प्रतिशत वस्तुहरुको भन्सार शुल्क शुन्य बनाउने चीनको नीति नेपालको लागि राम्रो अवसर हुनसक्ने बताए । उनले नेपालका मौलिक उत्पादनहरु चिनियाँ बजारमा निर्यात गर्नसके देशको अर्थतन्त्रको मुहार परिर्वतन हुने उल्लेख गरे ।

कार्यवाहक राष्ट्रपति पुनले नेपालको कृषिजन्य उत्पादन, जडिबुटी र खनिजजन्य सामग्री चीन निर्यातको ठूलो सम्भवना रहेको बताए।

उनले भने, ‘भविष्यमा आर्थिक महाशक्तिको नेतृत्व गर्ने उद्देश्य बोकेको चीनसँग नेपालको व्यवसायिक सम्बन्ध विकास हुनु हाम्रो लागि ठूलो अवसर पनि हो । नेपालका मौलिक उत्पादनहरु चिनियाँ बजारमा निर्यातको अवसर पाउँदा देशको अर्थतन्त्रको तस्बिर नै बदलिन सक्छ । नेपालको कृषिजन्य उत्पादन, जडिबुटी र खनिजन्य सामग्री चीन निर्यात गर्न सकिन्छ । नेपालीहरुको आर्थिक सामाजिक रुपान्तरण सहितको समृद्धि राष्ट्र निर्माणका लागि नेपाल सरकारले मुलुकको अर्थतन्त्रमा व्यापक सुधार गर्नु पर्ने आवश्यकता देखिन्छ । जबसम्म हामीले सबै क्षेत्रमा आत्मनिर्भर हुँदै निर्यातमा वृद्धि गर्न सक्दैनौं । तबसम्म समृद्धि हासिल गर्न सक्दैनौं ।’

कार्यवाहक राष्ट्रपति पुनले नेपाल एक चीन नीति प्रति सधैं प्रतिवद्ध रहेको बताए । उनले नेपाल र चीनबीच पुरानो सम्बन्ध रहँदै आएको भन्दै दुई वर्षअघि चीनका राष्ट्रपतिको नेपाल भ्रमण पश्चात चीनसँगको सम्बन्ध थप नयाँ उचाइमा पुगेको बताए । उनले पञ्चशिलको सिद्धान्तमा आधारित दुई देशबीचको सम्बन्ध विविध क्षेत्रमा बिस्तार हुँदै आएको बताए ।

उनले भने, ‘नेपाल एक चीन नीति प्रति सधैँ प्रतिवद्ध पनि छ । पञ्चशिलको सिद्धान्तमा आधारित दुई देशबीचको सम्बन्ध विविध क्षेत्रमा बिस्तार हुँदै आएका छन् । नेपालले थप सम्बन्ध सुधारको लागि नयाँ सहयोगका क्षेत्रहरु पनि पहिचान गरेका छौं । आर्थिक कुटनीतिकका माध्यमबाट दुई देशको सम्बन्ध अझै बिस्तार हुने मैले विश्वास लिएको छु ।’

उनले नेपालले चीनसँग थप सम्बन्ध सुधारको लागि नयाँ सहयोगका क्षेत्रहरु पनि पहिचान गरेको बताए । उनले आर्थिक र कुटनीतिकका माध्यमबाट दुई देशको सम्बन्ध अझै बिस्तार हुने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?