+
+
उम्मेदवार प्रोफाइल :

चुनाव मिति आइसक्दा तोसिमालाई किन अल्झाउन खोज्यो आयोगले ?

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २५ गते १२:२२

पेशाले शल्यचिकित्सक तोसिमा कार्की राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ मा उम्मेदवार बनेकी छन् । ललितपुरकै नख्खुमा हुर्के–बढेकी उनी किष्ट मेडिकल कलेजको एमबीबीएस र काठमाडौं विश्वविद्यालयको एमएस (शल्य–चिकित्सामा स्नातकोत्तर) हुन् । उनीसँग नेपाल मेडिकल काउन्सिलमा कार्यकारी सदस्यको अनुभव पनि छ ।

सार्वजनिक जीवनमा उनी सत्याग्रही डा. गोविन्द केसीको प्रतिबद्ध समर्थक र सहयोगी पनि हुन् । केसीको चिकित्सा शिक्षा सुधार अभियानमा डा. कार्की सुरुबाटै सक्रिय थिइन् ।

त्यसक्रममा उनले कानुनी लडाईं समेत गरिन् । उनकै अगुवाइमा दायर मुद्दामा सर्वोच्च अदालतले चिकित्सा शिक्षा सुधारका विषयमा केही निर्देशनात्मक आदेश पनि दियो ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार दिंदा उनी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्यापक थिइन् । पेशामा आफूले ‘गुड मेडिकल प्राक्टिस’को वकालत गरेको उनी बताउँछिन् ।

राष्ट्रिय जीवनको सबै क्षेत्रमा ‘गुड प्राक्टिस’ गर्ने नीति–निर्माणको लागि दबाव बढाउन प्रतिनिधिसभा सदस्य बन्न चाहेको उनको भनाइ छ ।

डा. कार्कीले उम्मेदवारी दिएको ललितपुर–३ मा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)का नेता–कार्यकर्ताले उनलाई ‘भोट काट्न आएको’ भनेर टिप्पणी गरिरहेका छन् ।

उनी भने प्रतिस्पर्धीहरूको टीकाटिप्पणीलाई बेवास्ता गर्दै परीक्षित भइसकेका माओवादी केन्द्र, एमालेलगायत दल र तिनका नेताहरूलाई नभई नवयुवालाई जिताउन आग्रह गर्दै मत मागिरहेकी छन् ।

डा. कार्कीविरुद्ध निवेदन परेपछि निर्वाचन आयोगले निवेदकको मागबमोजिम उनको उम्मेदवारी खारेज गरिदिएको थियो । मेडिकल काउन्सिलको कार्यकारी सदस्यबाट राजिनामा नगरी निर्वाचनमा उम्मेदवारी दिएको आरोप उनलाई लगाइएको थियो ।

तर, मेडिकल काउन्सिलको कार्यकारी सदस्य लाभको पद नभएको, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको लाभको पदबाट राजिनामा गरिसकेको उनको भनाइ छ । काउन्सिलको सदस्य पद लाभको हो, होइन भनेर आफूले पहिल्यै निर्वाचन आयोगलाई सोधेको तर, जवाफ नपाएपछि उम्मेदवार बनेको डा. कार्कीको भनाइ छ ।

त्यसविरुद्ध सर्वोच्च अदालत गएर उनले आयोगको उक्त निर्णय कार्यान्वयनमा रोक लगाउने आदेश त गराएकी छन् तर निर्वाचन आयोग त्यो आदेश विरुद्ध फेरि सर्वोच्च गएको छ । चुनाव प्रसारप्रसारमा जुटे पनि अदालतले अब दिने आदेशबाट उनको उम्मेदवारी कायम हुने वा नहुने निक्र्योल हुनेछ ।

अहिलेलाई भने डा. तोसिमा कार्कीको उपस्थितिले ललितपुर–३ को चुनावी माहोलमा सरगर्मी बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?