+
+
उम्मेदवार प्रोफाइल :

मातृका यादव : दोस्रो स्पर्धामा चुनावी अंकको सहजता

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०७९ कात्तिक २५ गते १३:३५

नेकपा (माओवादी केन्द्र)का मातृकाप्रसाद यादव चर्चामा आइरहने नेता हुन् ।

२०६० सालमा भारतीय प्रहरीले दिल्लीमा पक्राउ परेर नेपालको तत्कालीन शाही सेनालाई हस्तान्तरण गरेपछि चर्चामा आउन थालेका उनी मन्त्री छँदा कर्मचारीलाई शौचालयमा थुनेर पनि चर्चित बने । कहिले पार्टीका सर्वशक्तिमान अध्यक्ष प्रचण्डको कडा आलोचना गरेर त कहिले अति प्रशंसा गरेर चर्चामा आए ।

उनै यादव यस पटकको आम चुनावमा सत्तारुढ गठबन्धनको तर्फबाट धनुषा–१ बाट प्रत्यासी बनेका छन् ।

२०१५ असोजमा धनुषाको सवैलामा जन्मिएका यादवको राजनीतिक यात्रा २०२८ सालबाट सुरु भएको हो । ‘नेपाली समाजमा रहेका उत्पीडन हटाउन’ कम्युनिस्ट राजनीतिमा आएका उनले २०३४ सालमा नेकपा (चौथो महाधिवेशन)को सदस्यता पाएका थिए ।

२०३५/३६ को पंचायत विरोधी आन्दोलनमा यादव सिरहा क्याम्पसमा विद्यार्थी नेता थिए, जहाँ उनी दुई कार्यकाल स्ववियु सभापतिमा निर्वाचित भए । उनले जेलनेल र बेपत्ता जीवन भने पंचायती व्यवस्था ढलेपछि भोगे । २०५१ सालमा उनी केन्द्रीय सदस्य बनेको नेकपा (माओवादी)ले २०५२ देखि सशस्त्र युद्ध सुरु गरेको थियो ।

सरकारले यादवलाई २०५६ मा काठमाडौंमा पक्राउ गरेर एक वर्षसम्म सम्पर्कविहीन (बेपत्ता) पारेर राखेको थियो । राष्ट्रिय–अन्तर्राष्ट्रिय मानवअधिकारकर्मीहरूको दबावमा छुटेका उनलाई २०५८ सालमा सरकारले फेरि पक्राउ गर्‍यो ।

२०५९ माघमा सरकार–माओवादी वार्ता सुरु भएपछि यादव जेलमुक्त भए । त्यसलगत्तै पार्टीले उनलाई पोलिटब्यूरो सदस्य बनायो । २०६० सालमा भएको सरकार–माओवादी दोस्रो वार्तामा यादव पनि माओवादी टोलीका सदस्य थिए । २०६० मा पार्टी अध्यक्ष प्रचण्डलाई भेट्न उपेन्द्र यादवसँग दिल्ली गएका यादव सुरेश आलेमगरसँग पक्राउ परे । त्यसपछि उनी २०६३ वैशाखमा मात्र जेलमुक्त भए ।

माओवादी मूलधारको राजनीतिमा आएयता मातृका यादव अन्तरिम व्यवस्थापिकासहित तीन पटक सांसद बने । २०६४ मा समानुपातिक सांसद बनेको बेलासहित तीनै पटक मन्त्री भए ।

पार्टी अध्यक्ष प्रचण्डसँग पारा नमिलेपछि मन्त्रीबाट राजिनामा दिएर २०६५ माघमा नेकपा (माओवादी) पुनर्गठन गरेर त्यसको संयोजक भएका थिए । त्यसरी ८ वर्ष छुट्टै राजनीतिक चलखेलमा बिताएका उनी २०७३ मा नेकपा (माओवादी केन्द्र)मा फर्किएका थिए ।

मातृका यादव प्रत्यक्ष निर्वाचित भने एकपटक मात्र भएका छन्, २०७४ मा धनुषा–१ बाट । उनी दोस्रो पटक जनअनुमोदित हुन धनुषा–१ कै चुनावी मैदानमा छन् । यादवको मुख्य प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का दीपक कार्की छन् ।

२०७४ को निर्वाचनमा यादवले कार्कीलाई ९ हजार १२२ मतको अन्तरले पराजित गरेका थिए । त्यसबेला यादवले २६ हजार ४१८ भोट पाएका थिए ।

धनुषा–१ मा यसपटक दलका र स्वतन्त्र गरी २२ जना उम्मेदवार छन् । यीमध्ये सत्ता गठबन्धनका मातृका यादव बढी सहजतामा रहेको स्थानीय तह निर्वाचनको नतिजाले देखाउँछ । त्यसो त जसपाका दीपक कार्कीलाई पनि नेकपा (एमाले)को साथ छ ।

गत वैशाखको स्थानीय निर्वाचनमा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा नेपाली कांग्रेस अगाडि छ । कांग्रेसले १७ हजार ५५०, एमालेले १५ हजार ८१७, माओवादी केन्द्रले १२ हजार २९२ र जसपाले ९ हजार १० मत पाएका छन् ।

त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले ६ हजार ६२४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ४ हजार ९३०, जनमत पार्टीले ३ हजार ३२०, नेकपा (एकीकृत समाजवादी)ले २ हजार ९३७ पाएको छ । यो क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरूले पनि ३ हजार ३२४ मत पाएका छन् ।

पाँचदलीय सत्ता गठबन्धनका वडाअध्यक्षहरूले पाएको मत जोड्दा ३९ हजार ४०३ पुग्छ भने एमाले र जसपा गठबन्धनको मत केवल २४ हजार छ । त्यसमा पनि एमालेका किशोरी साह विद्रोह गरेर जनमत पार्टीको उम्मेदवार बनेका छन् ।

यी तथ्यहरूले धनुषा–१ मा माओवादी केन्द्रका मातृका यादवलाई हराउन जसपा–एमाले गठबन्धनका दीपक कार्कीले बढी मिहिनेत गर्नुपर्ने देखाउँछन् ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?