२५ कात्तिक, काठमाडौं । काठमाडौं-१ ‘क’ का नेपालका लागि नेपाली पार्टीकी प्रदेशसभा सदस्य उम्मेदवार शान्ति चौधरीले घोषणापत्र सार्वजनिक गरेकी छिन् ।
चक्रवर्ती हबि शिक्षा एकेडेमीका विद्यार्थीहरुको संयुक्त आयोजनामा शुक्रबार काठमाडौं आयोजित पत्रकार सम्मेलेनमा चौधरीले चुनावी घोषणापत्र सार्वजनिक गरेकी हुन् ।
घोषणापत्रमा नेपालका लागि नेपाली पार्टीले ठूला भ्रष्टाचारी र जघन्य अपराध गर्नेलाई मृत्युदण्डको व्यवस्था गर्ने, भ्रष्टाचारीहरुको जनताद्धारा गठित नागरिक आयोगबाट छानबिन गर्ने, युवालाई ५० लाखसम्मको बिना धितो ऋण दिने, फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गरी निश्चित् स्थानमा व्यवसाय गर्न पाउने हकका लागि पहल गर्ने, निजामती कर्मचारीका सबै ट्रेड युनियन खारेज गर्ने, राज्यका कुनै पनि पदाधिकारीले ५० लाखभन्दा बढि मुल्यका गाडी किन्न र चढ्न नपाउने कानुनी व्यवस्था गर्नेलगायतका प्रतिवद्धता व्यक्त गरेको छ ।
प्रदेशसभा सदस्यको उम्मेदवार ६६ वर्षीया शान्ति चौधरीले आर्थिक मन्दीमा पुगेको देशको अवस्था सुधार गर्नको लागि आफूले उम्मेदवारी दिएको स्पष्ट पारिन् । उनले भनिन्, ‘संविधानमार्फत ल्याइएका सबै कुरा देशले धान्न नसक्ने अवस्था भएको छ, देश आर्थिक अवस्थाको हिसाबले पनि मन्दीमा पुगिसकेको छ, त्यसबाट देशलाई पार लगाउनको लागि मैले उम्मेदवारी दिएको हो ।’
उनले चुनावलाई खरायोको दौडको संज्ञा दिइन् । उनले भनिन्,‘जहाँ, शक्ति धनको प्रभाव हुन्छ । मतदातालाई आफ्नो पक्षमा लिन शक्तिशालीहरुले आफ्ना दलबाट भयभित पार्न अनेक दबाब पनि सिर्जना गर्छन् ।’
पछिल्लो समय युवा पुस्तालाई भोट दिने लहड चलिरहेको बेला आफूसँग पैसा नभएपनि चुनावमा होमिएको उनले स्पष्ट पारिन् । कमजोर भएपनि सक्षम उम्मेदवारलाई सबैले साथ दिनसमेत उनले आग्रह गरिन् ।
चक्रवती ल कलेजमा चौथौं वर्षमा अध्ययनरत परशुराम यादवले स्वागत मन्तव्य राखेका थिए । सोही कलेजका विद्यार्थी चक्र बहादुर रसाइलीले शान्ति चौधरीले विसंगतीको विरुद्ध, विभिन्न सरकारी जग्गा अधिग्रहण गर्ने माफियाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेर कुनै लोभलालच बिना उनीहरुविरुद्ध लागि परेको उनले सुनाए ।
ल क्याम्पसकी विद्यार्थी अस्मिता पौडेलले ६६ वर्षको उमेरमा पनि देशमा भएका विसंगती र बेथितिविरुद्ध शान्ति चौधरी उभिएकोमा खुशी व्यक्त गरिन् । चौधरी संसद्मा पुगेपछि न्याय क्षेत्रमा सुधार गर्ने विश्वास दिलाइन् ।
त्यस्तै, अधिवक्ता भूमिनन्द चुँडालले देशमा संविधानले व्यवस्था गरेको आधारमा चुनाव निस्पक्ष र स्वतन्त्र हुनुपर्ने बताए । सही उम्मेदवारले देशको कानुन निर्माण गर्ने मुलुकको विकासमा सहभागी र जनताका आकांक्षा पुरा गर्नुपर्ने उनको भनाइ थियो ।
देशमा आर्थिक संकट र भ्रष्टाचारले गुज्रिरहेको बेला त्यसकोविरुद्ध उमेरले पाको भएपनि चौधरीले उम्मेदवारी दिएर साहस देखाएको उनले सुनाए । चुँडालले मानिस उमेरले वृद्धा नहुने भन्दै जो कसैको पनि विचार हेर्नुपर्ने धारणा राखे । युवा भएपनि थकित रुपले सोच्छ भने त्यसलाई युवा भन्न नमिल्ने उनको भनाइ थियो । देश संविधान अनुसार नहिडेका कारण देशको अवस्था बिग्रिरहेको उनले सुनाए ।
थारुभाषा साहित्य केन्द्रका महासचिव सियाराम चौधरीले चौधरी नेपालको कानुनअनुसार ज्येष्ठ नागरिक भएपनि उनी विचार, भावनाले युवा भएको बताए । चौधरीले सृजना विकास केन्द्रको संस्थापक भएर सामाजिक सेवा सुरु गरेको उल्लेख गर्दै उनले पछिल्लो समय कानून विषय अध्ययनरत रहेको बताए ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4