
काठमाडौ, २५ कात्तिक । काठमाडौं क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि ३० जना उम्मेदवार चुनावी मैदानमा छन् । त्यसमध्ये एक हुन लौरो चुनाव चिन्ह लिएर मैदानमा ओर्लिएका उम्मेदवार कोषराज सुवेदी । संसदीय निर्वाचनमा पहिलो पटक होमिएका सुवेदीले बीमा अभिकर्ताहुँदै डेपुटी सीईओसम्म भइसकेका व्यक्ति हुन्।
नेपालमा बीमाअभिकर्ताका रुपमा प्रवेश गरेर डेपुटी सीईओसम्म पुग्ने उनी पहिलो व्यक्ति हुन् । वित्त क्षेत्रमा २० वर्षभन्दा बढी समय काम गरेका उनी युनियन लाइफको डेपुटी सीईओ थिए ।
सामान्य किसान परिवारमा जन्मिएका सुवेदी बीमा तथा वित्त क्षेत्रमा आफूले हासिल गरेको ज्ञान देशको मुहार परिवर्तन गर्ने काममा उपयोग गर्ने उदेश्यले निर्वाचनमा होमिएको बताउँछन् ।
डिजिटल विमाको अवधारणामा अघि बढेका सुवेदी नेपालको पहिलो इन्स्योरेन्स एग्रिगेटर कम्पनी मेरो बीमा डटकमका संस्थापक पनि हुन् । ‘सोचसँग समृद्धिको यात्रा’ आफ्नो मूल उद्देश्य रहेको उनको भनाइ छ ।
उनको चुनाव प्रचार प्रसार शैली पनि फरक छ । लौरो टेकेर मतदाताका घरघरमा पुगेका सुवेदीको अहिले पाँचौ चरणको घरदैलो अभियान चलिरहेको छ । मंसिर ४ मा भोट हाल्न निर्वाचन केन्द्रमा आउन आग्रह गर्दै आफूले ६९ हजार मतदातालाई घरमै गएर निमन्त्रणा दिएको उनको भनाइ छ ।
वैकल्पिक शक्तिका रुपमा लौरोको विकल्प नभएको भन्दै चोक चोकमा भइरहेका चिया गफबाट आफू उत्साहित भएको उनी बताउँछन् । ‘गएको स्थानीय तहको निर्वाचनमा लौरो चिन्हलाई जनताले जुन प्रकारको माया गरेका थिए त्यस्तै प्रकारको माया पाउनेमा म विश्वस्त छु’, सुवेदीले अनलाइनखबरसंग भने ।
प्रतिक्रिया 4