+
+
वार्ता :

‘एमाले एकताबद्ध छ, स्वतन्त्र मत पनि पाउँछु’

जो उम्मेदवार बनेका छन्, सबै मेरा प्रतिस्पर्धी हुन् । नेक टु नेक चाहिं मैले कोही पनि देख्दिनँ । अहिले फैसला गर्ने बेला पनि भएको छैन । लोकतन्त्रको सौन्दर्य नै चुनाव हो । चुनावमा भाग लिन आउने सबैलाई सम्मान गर्ने हो । नेकपा एमालेले यो क्षेत्रमा हार्न जानेको छैन ।

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २५ गते २०:२२

२५ कात्तिक, चितवन । चितवन क्षेत्र नम्बर २ नेकपा एमालेको बलियो पकड भएको क्षेत्र हो । यहाँ लगातार दुई पटक चुनाव जितेका कृष्णभक्त पोखरेल उम्मेदवार छन् । तर सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पनि चुनावी प्रतिस्पर्धामा उत्रिएपछि उनी दबावमा छन् ।

यद्यपि उनी पार्टीको बलियो साथ र व्यक्तिगत प्रभावको बलमा चुनाव जित्ने दाबी गर्छन् । भन्छन्, ‘मैले विगतमा पनि ५-७ हजार स्वतन्त्र मत पाउने गरेको हो । प्रदेश सभाका सांसदभन्दा ४-५ हजार भोट बढी आएको हो । उहाँहरू आज पनि मसँग नै हुनुहुन्छ ।’

प्रस्तुत छ, पोखरेलसँग अनलाइनखबरले गरेको कुराकानीको सम्पादित अंशः

तपाईंहरूको चुनावी माहोल कस्तो चल्दैछ ?

सिंगै देश अहिले चुनावी महासंग्राममा छ । चितवनको क्षेत्र नं २ मा पनि स्वाभाविक रूपमा चुनावी सरगर्मी बढिरहेको छ ।

तेस्रो पल्टको प्रतिस्पर्धा कस्तो पाउनुभएको छ ?

यो राष्ट्रिय चुनाव हो । एमाले जतिखेर कमजोर थियो, २०६४ मा त्यसबेला देशमा संविधान बनेन । एमाले २०७० मा जतिखेर बलियो बन्यो, त्यसपछि देशमा संविधान बन्यो र संविधानको एक मस्यौदाकारका रूपमा मैले काम गर्ने मौका पाएँ ।

दोस्रो पटक संविधान अनुकूलका कानुनहरू निर्माण गर्ने महत्वपूर्ण जिम्मेवारी थियो । कानुन समितिको सभापतिका हैसियतले १७६ भन्दा बढी कानुन सर्वसम्मत रूपमा (एउटामा पनि अल्पमत, बहुमत होइन) निर्माण गर्ने अवसर पाएँ र सफलतापूर्वक सम्पन्न भयो । त्यो बाहेक दोस्रो कार्यकालमा स्वाभाविक रूपमा समृद्धि, विकास र आफ्नो निर्वाचन क्षेत्रमा विकासका काममा हात हाल्ने मौका मिल्यो ।

अघिल्लो पटक चुनाव जितेका हरेकलाई खै विकास, खै काम भन्ने कोणबाट प्रश्नहरू आउने गर्छ, मतदातालाई तपाईं के भनेर चित्त बुझाउनुहुन्छ ?

यो पाँच वर्षमा संविधान कार्यान्वयनका मौलिक हकका १६ वटासहित कुल १७६ कानुन निर्माण गरेर देशका लागि सयौं वर्षसम्मलाई नयाँ थिति बसाल्ने कामको अगुवाइ गरेको छु । कोभिड–१९, बाढीपहिरो विषयमा होस् वा दलितहरूमाथि अन्याय भएको घटना विशेषमा होस्, सरकारलाई पटक–पटक घचघच्याउने काम गरेको छु ।

दलितहरूमाथि भएका अन्यायमा त मैले संसदीय समितिमार्फत दलित सेल गठन गर्न सरकारलाई निर्देश गरेको थिएँ । आज ७७ वटै जिल्लामा मेरो समितिको निर्देशनमा दलित सेल गठन भएका छन् । यस्ता ऐतिहासिक काम राष्ट्रिय सन्दर्भमा गरेको छु ।

विकासका सन्दर्भमा पनि म जतिखेर निर्वाचित थिएँ, त्यसबेला चण्डीभन्ज्याङ सिंगो गाउँपालिकामा ३०० मिटर पनि बाटो थिएन । ७ घण्टासम्म हिंड्नुपर्थ्यो गाडी चढ्न आउन । आज करिब ५ मिनेटको बीचमा गाडीसम्म पुग्ने अवस्था बनेको छ ।

म निर्वाचित हुँदा काउले गाउँका एउटै घरमा बत्ती थिएन । आज सिंगो गाउँमा बत्ती बलेको छ । सत्यपुर–फिस्लिङ बाटो थिएन, अहिले ७६ करोड रुपैयाँ बजेटमा बाटो बनिरहेको छ । भोर्ले–दाहाखानी बाटो ३० करोड हाराहारीमा निर्माण भइरहेको छ ।

यस्तै कोकाकोलाबाट पुल्चोकसम्मको बाटो १ अर्बभन्दा बढीमा ६ लेनको सुन्दरतासहितको नेकपा एमालेका अध्यक्ष केपी ओलीले बजेट छुट्याएर शिलान्यास गरेर काम भइरहेको छ ।

झण्डै एक अर्बको लगानीमा जिल्ला समन्वय समितिको जग्गामा विशाल सभागृह भवन बनेको छ । बाइपास रोड बनेको छ । अरू भित्री सडक, मठ–मन्दिर, गुम्बा बनेका छन् । कालिका–६ मा ५ करोडको लगानीमा गुम्बा बनिरहेको छ । छिन्ती झरना, लामो झरनासहितका ठाउँलाई पर्यटकीय स्थलका रूपमा विकास गरेका छौं । देवघाटधाममा होस् वा गणेशधाम, शिवधाममा हामीले धेरै काम गरेका छौं ।

तर तपाईंका प्रतिस्पर्धी त यो देशमा थिति नै छैन, भ्रष्टाचार दिग्मिग् लाग्ने भइसक्यो भनेर सिंगो व्यवस्थामा प्रश्न उठाइरहनुभएको छ !

कृष्णभक्त पोखरेल १० वर्षसम्म सांसद हुँदा एक व्यक्तिसँग पनि कुनै काम गरिदिन्छु वा गर्दिन्न भनेर एक पैसा मात्र पनि खाएको प्रमाणित भए फाँसीमा चढ्न तयार छु । दोस्रो संसदमा लगातार सुशासनका लागि आवाज बुलन्द गरिरहेको छु ।

मलको अभाव भयो, किसानहरूले राति फोन गर्नुभयो, भोलिपल्ट मैले मलको विषयमा छलफल नभएसम्म संसदको बजेट प्रक्रिया पनि अगाडि बढ्दैन भनेर प्रस्ताव लिएर गएँ । यो संसदको पाँच वर्षकै इतिहासमा पहिलो हो ।

आवाज बोल्नका लागि बोलेका कुराबाहेक थिति बस्नेवाला छैन । नागरिकता विधेयकजस्तो राष्ट्रघाती विधेयक पास गर्न खोज्दा हामीले रोक्न सकेनौं । राष्ट्रपति महोदयले राजमाता बनेर नागरिकता विधेयक रोक्नुभएको छ । एमाले हार्दा त्यो विधेयक पास भएर जान्छ ।

संसदीय प्रणालीमा थिति बसाल्न स्पष्ट बहुमत चाहिन्छ र स्पष्ट बहुमत ल्याउने तागत एमालेसँग छ । उदाहरणका लागि कांग्रेसजस्तो पुरानो, ऐतिहासिक पार्टी ९० सिटभन्दा घटीमा उठिरहेको छ । माओवादी ४० सिट हाराहारीमा उठेको छ । एकीकृत समाजवादीहरू १५÷२० सिटमा उठ्नुभएको छ । त्यसकारण थिति बसाल्ने, स्थायित्व कायम गर्ने तागत एमालेसँग मात्र छ ।

तर तपाईंका प्रतिस्पर्धी एक जना गठबन्धन बनाएर आएका र अर्का नयाँ नारा लिएर आएका छन् । एमालेको आन्तरिक एकता भावनात्मक रूपमा खल्बलिएको अवस्थामा जित जोगाउन कत्तिको सजिलो छ ?

चितवन एमालेमा विभाजनको असर अत्यन्तै सानो रह्यो । इच्छाकामना गाउँपालिकामा एक जना मात्र साथी हुनुहुन्थ्यो, उहाँ पनि यो अभियानमा जोडिनुभयो । समाजवादीको इच्छाकामनामा जिरो ।

कांग्रेसका ११÷१२ आज मात्र जोडिनुभयो । त्यसैले हाम्रो मजबूत पक्ष भनेकै एकताबद्ध नेकपा एमाले हो । एउटा पनि पार्टी सदस्य छैन, जो यो अभियानमा जुटेको नहोस् ।

तपाईंको मुख्य प्रतिस्पर्धी उमेश श्रेष्ठ कि रवि लामिछाने ?

जो उम्मेदवार बनेका छन्, सबै मेरा प्रतिस्पर्धी हुन् । नेक टु नेक चाहिं मैले कोही पनि देख्दिनँ । अहिले फैसला गर्ने बेला पनि भएको छैन । लोकतन्त्रको सौन्दर्य नै चुनाव हो । चुनावमा भाग लिन आउने सबैलाई सम्मान गर्ने हो । नेकपा एमालेले यो क्षेत्रमा हार्न जानेको छैन ।

दुई पटकसम्म जितेको छ, स्थानीय तहको पालिकाको कुरा गर्नुहुन्छ भने पनि इच्छाकामना पालिका हामीले जितेका छौं । भरतपुरमा १० वडा छ, यसमा दुई वटा बाहेक सबैमा एमालेको कुनै न कुनै उपस्थिति छ । त्यसैले यो एमालेको जनाधार भएको ठाउँ हो ।

व्यक्तिगत रूपमा पनि म यही ठाउँमा जन्मिएँ, हुर्किएँ । २० वर्ष वकालत गर्दा हरेक मान्छेको सुख–दुःखमा जोडिएको छु । चितवन उद्योग वाणिज्य संघ, भरतपुर महानगरपालिका, जिल्ला समन्वय समितिको कानुनी सल्लाहकार, विभिन्न प्रतिष्ठानको काम गर्दा जनतासँग एकाकार भएको छु ।

कुनै पनि कांग्रेसले भेटेपछि मलाई भोट हाल्दैन भन्ने लाग्दैन । युद्धकालमा एउटा पनि माओवादी छैन, जसको मुद्दा मामिलामा मैले सपोर्ट नगरेको होस् । यो परिस्थितिमा मैले विगतमा पनि ५-७ हजार स्वतन्त्र मत पाउने गरेको हो । प्रदेश सभाका सांसद भन्दा मेरो ४-५ हजार भोट बढी आएको हो । उहाँहरू आज पजि उत्तिकै मसँग आकर्षित हुनुहुन्छ ।

तपाईं निरन्तर निर्वाचन जितिराख्नुहुन्छ, तर महत्वपूर्ण अवसरबाट वञ्चित भइराख्नुहुन्छ । अब पनि तिनले केही प्राप्त गर्दैनन्, हामीले पनि केही दिन सक्दैनौं भन्ने पनि त होला नि ?

त्यो सबैले गर्ने गरेको प्रश्न नै हो । ठाउँ–ठाउँमा यो प्रश्न आएकै छ । पार्टीको श्रद्धेय अध्यक्षलाई मैले यो कुरा भनें पनि । उहाँले कृष्णभक्तले संविधान लेख्यो, कृष्णभक्तले कानुन लेख्यो, अब आउँदा कार्यकारी भूमिकासहित काम गर्नुपर्छ भनेर भन्नुभएको छ । त्यसैले अब ममाथि कुनै अन्याय हुँदैन, न्याय हुन्छ भन्ने विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?