
२७ कात्तिक, काठमाडौं । कप्तान मार्टिन ओडेगार्ड दुई गोल गरेपछि शीर्ष स्थानको आर्सनलले प्रिमियर लिगमा शनिबार राति वल्भ्सलाई २-० ले पराजित गरेको छ ।
यस जितले आर्सनले म्यानचेष्टर सिटीमाथि ५ अंकको अग्रता समेत बनाएको छ । सिटी ब्रेन्टफवर्डसँग स्तब्ध भएपछि आर्सनले जितसहित अंकदूरी बढाएको हो ।
घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा कप्तान ओडेगार्डले दुवै गोल दोस्रो हाफमा गरे । ओडेगार्डले ५४औं मिनेटमा फाबियो भिएराको पासमा गोल गरेका थिए भने ७५औं मिनेटमा पेनाल्टी बक्सभित्र प्राप्त बलमा गोल गरे ।
जितपछि आर्सनलको १४ खेलबाट ३७ अंक भएको छ । सिटीको समान खेलबाट ३२ अंक छ ।
कतारमा यही नोभेम्बरदेखि सुरु हुने फिफा विश्वकपअघि शीर्ष स्थान मा रहेको आर्सनलले क्रिसमस शीर्ष स्थानमा रहेर बिताउने भएको छ । विश्वकपपछि प्रिमियर लिग अब डिसेम्बर अन्तिममा मात्र फेरि सुरु हुनेछ ।
आर्सनलका म्यानेजर मिके अर्टेटाले आर्सनल पाँच अंकको अग्रतासहित शीर्ष स्थानमा रहँदा अहिले सबै स्तब्ध भएको र कसैले पनि यस्तो अपेक्षा नगरेको बताएका छन् ।
प्रिमियर लिगकै अन्य खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ३-१ ले पराजित गर्यो । लिभरपुलका लागि डार्विन नुनेजले २ तथा रोवर्टो फिर्मिनोले १ गोल गरे ।
यस्तै रोड्रिगो बेन्टानकुरले खलेको अन्त्यतिर दुई गोल गरेपछि टोटनहमले लिड्समाथि ४-३ को रोमाञ्चक जित निकालेको छ ।
चेल्सी भने न्युकासल युनाइटेडसँग १-० ले पराजित भयो र खराब लयलाई निरन्तरता दियो ।
१५ खेलबाट ३० अंक जोडेर न्युकासल तेस्रो स्थानमा र्क्लेको छ ।
समान खेलबाट २९ अंकसहित टोटनहम चौथो स्थानमा छ । लिभरपुल २२ अंकसहित छैटौं र २१ अंक रहेको चेल्सी आठौं स्थानमा छ ।
म्यानचेष्टर युनाइटेड १३ खेलबाट २३ अंक जोडेर पाँचौ स्थानमा छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4