+
+

सन् २०२७ को यू-१९ महिला विश्वकप क्रिकेट नेपालमा हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २७ गते ११:०२

२७ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् २०२७ मा हुने यू–१९ महिला विश्वकपमा नेपाललाई सहआयोजक बनाएको छ ।

आईसीसीले २०२७ मा नेपाल र बंगलादेशलाई संयुक्त रुपमा यू–१९ महिला विश्वकप आयोजनको अवसर दिएको हो ।

आईसीसीको बोर्ड बैठकले नेपालसहित बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड, जिम्बावे र नामिवियालाई सन् २०२४ देखि २०२७ सम्मका आईसीसी यू–१९ प्रतियोगिताको जिम्मा दिने निर्णय गरेको हो ।

जसअनुसार सन् २०२७ को यू–१९ महिला विश्वकप नेपाल र बंगलादेशमा हुने छ । त्यसअघि सन् २०२५ को प्रतियोगिता भने मलेसिया र थाइल्याण्डले आयोजना गर्ने छन् ।

यस्तै सन् २०२४ को यू–१९ क्रिकेट विश्वकप श्रीलंकामा र २०२६ को प्रतियोगिता जिम्बावे र नामिबियामा आयोजना हुने आईसीसीले जनाएको छ ।

यू-१९ महिला विश्वकप आयोजनाको अधिकार पाएको नेपालको महिला टिमले अहिलेसम्म विश्वकप खेलेको छैन ।

सन् २०२३ को पहिलो संस्करणको यू-१९ महिला विश्वकप दक्षिण अफ्रिकामा आयोजना हुँदैछ । उक्त विश्वकपको लागि नेपाललले एसियाली क्षेत्रको छनोट खेलेको थियो । तर तेस्रो हुँदै छनोट हुन असफल भयो ।

नेपालको पुरुष सिनियर टिमले सन् २०१४ मा टी-२० विश्वकप खेलेका थिए । यस्तै यू-१९ पुरुष टिमले पनि विश्वकपमा सहभागिता जनाइसकेको छ ।

क्यानले भन्यो- गर्वको विषय

नेपालले विश्वकपको आयोजना गर्ने अवसर पाउनु गर्वको विषय भएको नेपाल क्रिकेट संघ क्यानका कार्यवाहक सचिव प्रशानत विक्रम मल्लले बताए ।

‘बंगलादेश र हामी मिलेर २०१७ को यू-१९ महिला विश्वकपका लागि बिडिङ गरेका थियौं । त्यसमा आईसीसीले हामीलाई सह-आयोजक भनेर तोकेको छ । यो अहिलेसम्मकै ठूलो उपलब्धी हो,’ मल्लले भने ।

उनले विश्वकपका लागि नेपालको पाँच भेन्यूको नाम आईसीसीलाई पठाएको बताए । उनले थपे, ‘आईसीसी प्रतिनिधि आएर हाम्रो २ भेन्युलाई विश्वकप आयोजनाका लागि मान्यता दिनेछ । नेपालको दुई र बंगलादेशको दुई भेन्यूमा यू–१९ महिला विश्वकप हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?