+
+
उम्मेदवार प्रोफाइल :

रामजीप्रसाद बराल : प्रदेशबाट संघमा उक्लने बाटोमा तगारै तगारो

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २७ गते १३:०१

अघिल्लो निर्वाचनमा नेकपा (एमाले)सँग तालमेल गरेर प्रदेश सभामार्फत संसदीय यात्रामा पाइला चालेका नेकपा (माओवादी केन्द्र)का रामजीप्रसाद बराल गण्डकी प्रदेश सरकारका अर्थमन्त्री बने । २०७४ सालको चुनावमा कास्की–३ (क) बाट प्रदेश सभा सदस्य चुनिएका उनी अहिले संघीय संसद पुग्ने माथापच्चीमा छन् ।

नेकपा (एमाले)का पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री रहेको गण्डकी प्रदेश सरकार ढलेर नेपाली कांग्रेसका कृष्णचन्द्र पोखरेलको नेतृत्वमा बनेको पाँचदलीय गठबन्धनमा बरालले अर्थ मन्त्रालय सम्हाल्ने मौका पाएका थिए ।

अघिल्लो पटक तालमेल गरेको एमालेसँगको सम्बन्ध टुटाउँदै माओवादी अहिले कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धनमा सामेल छ । बराल गठबन्धनको सहारामा कास्की–३ बाट प्रतिनिधिसभामा पाइला राख्ने दाउमा छन् । उनको मुख्य प्रतिस्पर्धी एमालेका दामोदर पौडेल बैरागी छन् ।

तर, बरालको विपक्षमा माओवादी केन्द्रकै अनिता भुर्तेलले स्वतन्त्र उम्मेदवारी दिएकी छन् । भुर्तेल कास्कीका चर्चित वामपन्थी नेता तथा शहीद राजविक्रम भुर्तेलकी छोरी हुन् । बरालको विजयमा भुर्तेलको उम्मेदवारी चुनौतीपूर्ण बनेको गठबन्धनका नेताहरू नै बताउँछन् ।

माओवादी जनयुद्धका क्रममा अभिभावक गुमाएकी भुर्तेललाई फकाउन बरालले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नै आग्रह गरेकोमा भुुर्तेलले भेट्नै अस्वीकार गरेको पार्टी स्रोत बताउँछ ।

राजनीतिक पृष्ठभूमि

२०२३ सालमा जन्मेका बराल २०३५–३६ सालको आन्दोलनबाट प्रभावित बने । २०४६ सालको आन्दोलनमा सक्रिय सहभागी भएका उनलाई २०४८ मा नेकपा (मसाल)को खुला राजनीतिक संगठन संयुक्त जनमोर्चाले गाउँ इकाइ अध्यक्षको जिम्मेवारी दियो ।

२०४९ मा उनी जनमोर्चाको जिल्ला कमिटी सदस्य भए । २०५१ मा पार्टीको राष्ट्रिय भेलाले युद्ध सुरु गर्ने र त्यसका लागि जनमुक्ति सेना निर्माण गर्ने निर्णय ग¥यो । अर्को वर्ष २०५२ मा बरालको राजनीतिक सक्रियता अर्धभूमिगत अवस्थामा पुग्यो ।

२०५३ मा तत्कालीन नेकपा (माओवादी)को पूर्णकालीन कार्यकर्ताको रूपमा भूमिगत बनेका उनको नाम रामजीबाट ‘कमरेड जीवन’ भयो । पूर्णकालीन बनेसँगै उनले माओवादीको इलाका सेक्रेटरी र पार्टीको जिल्ला सदस्यको जिम्मेवारी पाए ।

२०५७ मा पार्टीले जीवनलाई पर्वत जिल्ला सेक्रेटरीको जिम्मेवारी दियो । २०५९ सालमा कास्की सेक्रेटरी र इन्चार्जको जिम्मेवारी पाएका उनी त्यसपछि पोलिटब्यूरो सदस्य बने । बराल अहिले माओवादी केन्द्रको केन्द्रीय सदस्य छन् ।

कमजोर चुनावी अंकगणित

सवारी साधन कर र मालपोत कर बढाएपछि गण्डकी प्रदेश सरकारमा एकाएक विवाद र विरोध चुलियो । ४०० प्रतिशतसम्म कर बढाएको भन्दै चौतर्फी विरोध भयो । अर्थमन्त्री बरालले चुनावी मैदानमा पनि यसबारे जवाफ दिइरहनुपरेको छ ।

माओवादी केन्द्रभित्रै पनि संसदको टिकट विवरणलाई लिएर विरोधका स्वरहरू गुञ्जिइरहेका छन् । यी सबको असर बरालको चुनावी अभियानमा परिरहेको छ । २०७४ को प्रतिनिधिसभा निर्वाचनको परिणामअनुसार कास्कीमा नेकपा (माओवादी केन्द्र) तेस्रो ठूलो दल भए पनि गएको स्थानीय चुुनावमा क्षेत्र नं. ३ का पालिका र वडामा २ हजार ४०० मत मात्रै पायो ।

२०७४ सालको प्रदेश सभा सदस्य निर्वाचनमा बरालले नेपाली कांग्रेसका शारदा पौडेललाई पराजित गरेका थिए । क्षेत्र नम्बर ३ (क)मा बरालले १५ हजार ८२३ र पौडेलले १३ हजार ५७ मत पाएकी थिइन् ।

प्रतिनिधिसभातर्फ उक्त क्षेत्रमा नेकपा (एमाले)का जगत विश्वकर्मा विजयी भएका थिए । विश्वकर्माले ३२ हजार ६९० र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शुक्रराज शर्माले २४ हजार ३०४ मत पाएका थिए ।

माओवादी केन्द्रको पार्टी संगठन कमजोर रहेको कास्की–३ बाट यसपटक रामजीप्रसाद बराल सत्ता गठबन्धनको बलमा प्रतिनिधिसभा सदस्य जित्ने दाउमा छन् । कुल १ लाख १ हजार ७१५ मतदाता रहेको यो क्षेत्रमा गत वैशाखको स्थानीय चुनावमा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा एमाले अगाडि छ ।

एमालेले २९ हजार ८०५, नेपाली कांग्रेसले २८ हजार ८४६, माओवादी केन्द्रले २ हजार ४०० र एकीकृत समाजवादीले ५०१ मत पाएका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवारले २ हजार ३३२ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ६५ प्राप्त गरेका छन् ।

चुनावी अंकगणित हेर्दा सत्ता गठबन्धन झण्डै २ हजार मतले अगाडि देखिन्छ । जितको लागि बरालले गठबन्धनको मत जोगाउन मिहिनेत गर्नुपर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?