+
+

कपिलवस्तु-३ : अभिषेकको विरासत तोडिएला ?

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २७ गते १८:३९

२७ कात्तिक, कपिलवस्तु । २०६४ सालदेखि लगातार ३ वटा चुनाव जितेका अभिषेकप्रताप शाह चौथो पटक सांसद चुनिन कपिलवस्तु–३ मा १८ जनासँग प्रतिस्पर्धामा छन् ।

प्रतिस्पर्धामा रहेकामध्ये एमालेका मंगलप्रसाद गुप्ता, जनता प्रगतिशील पार्टीका ईश्वरदयाल मिश्र, जनमत पार्टीका नरसिंह चौधरी र राप्रपाका प्रकाश रजौरिया प्रमुख प्रतिस्पर्धी मानिएका छन् ।

२०७४ को चुनावमा कांग्रेस उम्मेदवार शाह २० हजार १ मतसहित निर्वाचित हुँदा दोस्रो भएका गुप्ताले १५ हजार ८२६, मिश्रले १४ हजार ३३० र चौधरीले ४ हजार ९८७ मत पाएका थिए । अहिले दल बदलेका गुप्ता त्यतिबेला संघीय समाजवादी फोरमबाट, मिश्र नेकपा एमालेको सूर्य चिह्नबाट र चौधरी राप्रपाबाट उम्मेदवार थिए । २०७४ मा फोरम छाडेर कांग्रेस पुगेका शाहले यसपटक दल नबदले पनि उनका प्रतिस्पर्धी भने सोही क्षेत्रमा फरक दलबाट प्रतिस्पर्धामा छन् ।

शाहसँगको प्रतिस्पर्धामा सधैं दोस्रो हुने गुप्ता गत वर्ष पुसमा जनता समाजवादी पार्टी छाडेर एमाले प्रवेश गरे । कांग्रेसबाट राजनीति सुरु गरेका गुप्ताले शाह कांग्रेस प्रवेश गरेपछि पार्टी बदल्न थालेका हुन् ।

मधेसी समुदायको बाहुल्य रहेको यो क्षेत्रमा यी ४–५ जना उम्मेदवारको समान व्यक्तिगत प्रभाव छ । तर जिल्लाको उत्तरी क्षेत्रमा रहेको खस आर्य समुदायको मतले जित हारको निश्चय गर्ने स्थानीय पत्रकार सीताराम चौधरी बताउँछन् ।

कपिलवस्तु ३ मा शिवराज र कृष्णनगर नगरपालिका तथा विजयनगर गाउँपालिकाका सबै र महाराजगञ्ज नगरपालिकाको वडा नम्बर ५, ६ र ७ पर्छन् ।

शाहमाथि अन्तर्घातको आरोप

३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा शिवराज नगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवारलाई तेश्रो बनाएर राप्रपाका अजय थापा मेयरमा निर्वाचित भए । शाह निकट थापा कांग्रेसबाट मेयरको टिकट नपाएपछि राप्रपा प्रवेश गरेर मेयर भएका हुन् ।

शाहकै कारण कांग्रेस उम्मेदवार हारेको र थापाले जितेको भन्दै कांग्रेसको नगर समितिले उनलाई पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको थियो ।

तर कांग्रेसले कारबाही नगरी शाहलाई नै प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएपपछि कांग्रेस नेता शाहप्रति असन्तुष्ट छन् । शाह निकटका नेता जानकी यादव राप्रपाबाट प्रदेश सभा सदस्य उम्मेदवार छन् । विजयनगर गाउँपालिका अध्यक्षको टिकट आकांक्षी उनी कांग्रेसले टिकट नदिएपछि जसपा प्रवेश गरेर उम्मेदवार भएका थिए । तर ५०४ मतले पराजित भएपछि फेरि राप्रपा पुगेका हुन् ।

गुप्तालाई अवसर

शाहसँगको प्रतिस्पर्धामा सधैं दोस्रो हुँदै आएका गुप्ताले यसअघि खसआर्य समुदायको मत आफूले नपाएको बताउँथे । जसपाको प्रभाव खसआर्य समुदायमा नभएका कारणले गत चुनावमा हारेको गुप्ताको आकलन छ ।

यस पटक एमालेबाट उम्मेदवार भएका कारण उनले पार्टीको संगठित मत पाउने अपेक्षा गरेका छन् । गुप्ताको व्यक्तिगत प्रभावको मतमा एमालेको मत जोडिने भएकाले आफूहरुको जित हुने एमाले नेता महादेव पोखरेलले बताए ।

कृष्णनगर नगरपालिकाका एमाले नेता मिर्जा असरद वेग टिकट नपाएपछि जनता प्रगतिशील पार्टीमा प्रवेश गरी लुम्बिनी प्रदेश सभा सदस्यमा उम्मेदवार बनेका छन् । बेगको बहिर्गमनले खासै प्रभाव नराख्ने एमालेको दाबी छ ।

मिश्र र रजौरियाको जित्ने दाबी

०७४ सालको निर्वाचनमा १४ हजार ३३० मत ल्याएर तेस्रो भएका ईश्वरदयाल मिश्रले यो क्षेत्रमा प्रभावशाली छवि निर्माण गरे । अघिल्लो पटक सूर्य चिह्नबाट चुनाव लडेका उनी यसपटक हृदयेश त्रिपाठी नेतृत्वको पार्टी जनता प्रगतिशील पार्टीबटै उम्मेदवार बनेका छन् । यद्यपि उनले विगतको सम्बन्धका आधारमा एमालेको मत तान्न सक्ने आकलन छ । तर एमाले नेताहरु स्थानीय निर्वाचनमा एमालेसँग सहकार्य नगरेका कारण मिश्रसँग रुष्ट छन् ।

राप्रपाबाट उम्मेदवार बनेका रजौरिया राजनीतिक परिवारको सदस्य र युवा हुन् । उनले युवा मत आकर्षित गर्ने बताएका छन् । कांग्रेस छाडेर आएका प्रभावशाली उम्मेदवारलाई प्रदेश सभामा टिकट दिएका कारण आफूहरु मजबुत रहेको राप्रपाका जिल्ला नेताहरु बताउँछन् । कांग्रेस छाडेर आएका जानकी यादव र कृष्णप्रसाद पौडेल राप्रपाबाट प्रदेश सभा सदस्य पदका उम्मेदवार छन् ।

शिवराज नगरपालिकाको मेयर राप्रपाका अजय थापाले जित्नु रजौरियाका लागि सकारात्मक छ । थापाको संगत कांग्रेस नेताहरुबीचमा पनि रहेकाले कांग्रेसको आन्तरिक विवादको फाइदा राप्रपाले लिने आकलन छ ।

यस्तो छ स्थानीय निर्वाचनको मतभार

स्थानीय निर्वाचनमा वडा अध्यक्षले पाएको मत अनुसार सत्ता गठबन्धन अघि छ । यहाँ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको मत जोड्दा २२ हजार ७७५ छ ।

एमालेको मत १८ हजार ७४७, राप्रपाको ६ हजार ७४, जसपाको ९ हजार ९७४, लोसपाको ४ हजार ६७५, नेकपा एकीकृत समाजवादीको एक हजार ९८६ मत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?