+
+
अन्तर्वार्ता :

‘उम्मेदवारले बाघ बचाउ अभियन्तादेखि बाघले खाएकाे व्यक्तिको परिवार दुवैलाई सामना गर्नुपर्दोरहेछ’

मान्छेका समस्याहरु यति धेरै हुन्छ । काहीँ जानुहुन्छ, वन्यजन्तुले मारेका मान्छेका परिवार आएर बाघ हामीलाई किन चाहियो भनेर सोध्छन् । तर, तपाईंले आफ्नो आफन्त, बा, आमा बाघले भर्खरै खाइदिएको मान्छे आएर सोध्यो भने दिनुपर्ने जवाफ के हुन्छ ? एउटा उम्मेदवारहरुले यी सबै प्रश्नको सामना गर्नुपर्छ ।

बसन्त बस्नेत बसन्त बस्नेत
२०७९ कात्तिक २८ गते १८:२९

२८ कात्तिक, चितवन । अर्थशास्त्रीका रुपमा ख्याति पाएका डा. विश्वनाथ पौडेल अहिले सांसदका रुपमा चिनिने दौडमा छन् ।

अमेरिकाको ‘युनिभर्सिटी अफ क्यालिफोर्निया’बाट अर्थशास्त्रमा विद्यावारिधि गरेका पौडेल सत्तारुढ नेपाली कांग्रेसले चितवन-१ बाट उम्मेदवार बनाएपछि मतदाताको घरदैलोमा पुगिरहेका छन् । डा. पौडेल आजभोलि उज्यालो भएदेखि राति अबेरसम्म आफ्नै क्षेत्रमा व्यस्त रहन्छन् ।

गत शुक्रबार दिनभरको दौडधुपपछि राति ११ बजे डा. पौडेल अनलाइनखबरसँग अन्तर्वार्ताका लागि तयार भए ।

राष्ट्रिय योजना आयोजका उपाध्यक्षसमेत रहिसकेका उनी व्यस्त चुनावी कार्यतालिकाका कारण थकित देखिन्थे । पौडेल स्वयम् पनि भन्छन्, ‘चुनाव लड्न जति अफ्ठ्यारो सायदै केही होला ।’ यद्यपि, उनी चुनावलाई लोकतन्त्रको सबैभन्दा सुन्दर चिज मान्छन् ।

प्रस्तुतसँग यिनै अर्थशास्त्री डा. पौडेलसँग गरिएको कुराकानीको सम्पादित अंशः भिडियो हेर्न अनलाइनखबरको फेसबुक तथा युट्युब च्यानलमा जानुहोस् ।

कस्तो चलिरहेको छ, चुनावी दौडधुप ?

सजिलो छैन । ४२ वडा छन् । घरदैलो चलाउन पनि १४ दिनको चुनावी कार्यक्रम हो । १७ गतेबाट सुरु भएको हो । दौडधुप सधैँ जस्तो यत्तिकै हुन्छ । जनताको बीचमा जानैपर्छ ।

मतदाता, कार्यकर्ता, समर्थक, गठबन्धनका अरु दल र प्रतिद्वन्द्वीको पनि मत सकेसम्म धेरै ल्याउँ भन्ने हुनु स्वभाविक हो, तपाईंलाई चाहिँ कस्तो लागि रहेको छ ?

त्यसमा चाहिँ धेरै जसो सफल नै छु जस्तो लाग्छ ।

चितवन कांग्रेसको आन्तरिक लफडा क्षेत्र-१ मा पनि देखिन्छ । कसरी व्यवस्थापन गर्दैहुनुहुन्छ ?

आन्तरिक समस्या भएपनि भोट सबैले रुखमा नै हाल्नुहुन्छ । यसका लागि मैले राम्रो कसरत गरेको छु ।

चितवनका विभिन्न क्षेत्र घुम्दा गठबन्धनका अरु कार्यकर्ताले भोट हाल्ने तर, कांग्रेसकै भोट पाउन चाहिँ गाह्रो हुने जस्तो स्थिति जस्तो देखिन्छ नि ?

होइन, त्यो त सधैँ सोचाइ के छ भने अन्तिममा नेपाली कांग्रेसले भोट रुखमै हाल्छन् । भइरहेको पनि त्यही छ । नेपाली कांग्रेसका समर्थकहरुलाई आफूलाई ‘टेक फर ग्रान्टेड’ नगरोस् भन्ने पनि हुन्छ । स्वतन्त्र रुपमा रहन रुचाउँछन् । तर, मैले क्रमशः उहाँहरु सबैलाई कन्भिन्स गराउँछु ।

पार्टीबाट यो क्षेत्रमा टिकटका लागि दौडमा रहेका अरु आकांक्षीहरुको व्यवस्थापन कसरी गर्नुभएको छ ?

होइन, मैले व्यवस्थापन गर्ने भनेर गर्ने के हो भन्ने ‘क्लियर’ छैन । एउटा प्रक्रिया थियो । त्यो प्रक्रियाबाट हामी आयौं । अरुले टिकट लिनुभएको भए अरुलाई समर्थन गर्थें । मैले टिकट पाएँ । मैले सधैँ के भन्थेँ भने अमेरिकन प्राइमेरी जस्तै गरौं ।

तपाईंहरु कसैले एक नम्बर भनेर अरुलाई पठाइदिनुभयो भने म समर्थन गर्छु भनेको थिएँ । पार्टीले जे प्रक्रिया अपनाएर टिकट दियो । अन्त्यमा मैले टिकट लिएर आएँ । साथीहरुले पनि त्यो कुरा बुझ्नु भयो । सबैलाई एउटै प्रक्रिया थियो, त्यसबाट मैले टिकट पाएँ । त्यो कुरा अरु आकांक्षी साथीहरुले पनि बुझिसक्नु भएको छ र सबैको पाएको छु ।

तपाईं त्यो क्षेत्रमा निर्वाचन लड्दै हुनुहुन्छ, जहाँ पछिल्लो समय क्रमशः कम्युनिष्ट पार्टीले जित निकालिरहेको छ । त्यसहिसाबले तपाईं यो क्षेत्रका लागि उम्मेदवारका रुपमा नयाँ हुनुहुन्छ । यसलाई कसरी मूल्यांकन गर्नुभएको छ ?

उम्मेदवारका रुपमा म नयाँ हुँला । तर, जनतामा परिवर्तनको तीव्र चाहना छ । आफूले केन्द्रमा पठाएका प्रतिनिधिको अन्डरमा पुर्व चितवन पछाडि परेको अनुभूति सबैलाई भएको छ । त्यो स्थितिमा सुरेन्द्र पाण्डेजी असफल हुनुभयो भन्ने सबैलाई छ । र, उहाँको विकल्प मानिसहरुले खोजिरहेको स्थिति छ । म उत्तम विकल्पका रुपमा अघि बढेको छु ।

चुनावमा के लिएर जाँदै हुनुहुन्छ ? मुख्य विषयहरु के-के छन् ?

गएको दुई-तीन पटकको प्रतिनिधि हुनुहुन्थ्यो, उहाँको असफलताले गरेर पूर्वी चितवनमा सफर गर्नुपरेको छ । एक त विकासमा पछि परेका छौं । पश्चिम चितवनसँग तुलना गर्दा पनि त्यस्तो देखिन्छ । रुपन्देही, मकवानपुर, हरिवन, नवलपरासीसँग तुलना गर्दा पनि हामी पछाडि पर्‍यौं । यहाँ स्वास्थ्य केन्द्रहरु पनि छैनौं ।

सौराहा पनि पछि परेको छ । पर्यटकीय क्षेत्रहरु अर्को भेगतिर बढी खुलेका छन् । सडकहरु जर्जर छन् । ओझेलमा परियो भन्ने सबैलाई महसुस भएको छ । यसको सम्पूर्ण दोषको भागिदार जसलाई हामीले केन्द्रमा निर्वाचित गराएर पठायौं तर, काम गर्न सक्नुभएन । उहाँ नै हुनुपर्छ । किनभने, उहाँको क्षमतामा प्रश्न चिह्न लाग्यो । त्यसबाहेक जो निर्वाचित भएर जानुभएको थियो ।

उहाँले राजनीतिक रुपमा पनि स्थीरता देखाउन सक्नुभएको थिएन । जसलाई विरोध गर्दै हिँड्नु भयो । जसलाई संसद् भंग गर्नु गलत हो भनेर हिँड्नु भएको थियो । उहाँलाई नै प्रधानमन्त्री बनाउन भनेर फेरि भोट माग्दै हिँड्नुभएको छ । त्यसैले त्यो राजनीतिक रुपमा अवसरवाद हो । उहाँले विकासमा पछौटेपनको नेतृत्व गर्नुभयो । यी दुवै कारणले गर्दा खेरि जनताले उहाँलाई दोहोर्‍याउने कुनै सम्भव छैन ।

एमालेको सांसदको उम्मेदवारले अध्यक्षलाई प्रधानमन्त्री बनाउभन्दा चुनावको बेला स्वभाविक पनि देखिने होइन र ?

होइन, उहाँसँग अरु विकल्पहरु थिए । तर उहाँले अरु विकल्प रोज्नुभएन ।

जस्तो ?

यसमा डिटेलमा किन जाउँ ? यही मान्छेलाई प्रधानमन्त्री बनाउँ भनेर भन्न बाध्यता हुँदैन नि । उहाँले पार्टीभित्र विकल्प खोज्न सक्नुहुन्थ्यो । सहयात्रीहरुले पनि दुःख दिएका थिए ।

तपाईं एउटा अर्थविद् हुनुहुन्छ, पहिले योजना आयोगको उपाध्यक्ष पनि हुनुहुन्थ्यो । हाम्रो जस्तो प्रणाली भएको मुलुकमा एउटा सांसदले कति गर्न सक्छ ? कति गर्न सक्दैन ?

संसदको दुईवटा भूमिका भयो । एउटा विधेयकहरु बनाउने हो । जस्तो मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन पूर्वी चितवनको ठूलो समस्या हो । यदी म सांसद भएँ भने वन ऐनको बारे एकदम ध्यान दिएर हेर्नै पर्छ । आवश्यक पर्‍यो भने त्यसलाई फेर्न दौडिनुपर्छ ।

अर्को विकासमा चाहिँ कुन अर्थमा सांसदले हस्तक्षेप गर्न सक्छ भने संसद आफैं पनि एउटा सरकार जन्माउने थलो हो । त्यो हुनाले संसदमा गइसकेपछि यदि तपाईं सत्तारुढ पार्टीको मान्छे हुनुहुन्छ भने तपाईंसँग क्षमता हुन्छ ।

यदि विपक्षी पार्टीको सांसद हुनुहुन्छ भने पनि व्यक्तिगत रुपमा तपाईंको सम्बन्ध कस्तो बनाउन सक्नुहुन्छ ? कति फाइट गर्न सक्नु हुन्छ आफ्नो क्षेत्रका लागि ? कतिपय अवस्थामा बजेट ल्याउने हो कि ? दिन-दिनै गएर मन्त्रालय, योजना आयोगमा गएर ढक्ढक्याउनु पनि पर्छ । त्यो हुनाले प्रभावशाली तपाईं कति हुनहुन्छ ? त्यसले तपाईं कति मन्त्रालयमा गएर आफ्नो कुराहरु राख्न सक्नुहुन्छ भन्ने हो ।

भनेको सांसदको प्रभावकारिता कति स्रोत र साधनमा ऊ खेल्छ भन्ने मात्रै होइन कि उसले आफूलाई कति फैलाउन सक्छ भन्ने कुरामा पनि जोडिएको छ ?

उसले आफ्नो तर्कबाट हुन्छ कि के गरेर कन्भिन्स गर्ने त्यो हो । तर, संसद आफैं पनि धेरै शक्तिशाली ठाउँ हो । संसद त सरकारको जननी हो । संसदको विभिन्न समितिमा बसेर तपाईंले सरकारले गरेका काम कारबाहीबारे हेर्न सक्नु हुन्छ । तपाईंको बजेट विनियोजन सहीरुपमा भएको छ कि छैन भन्ने पनि हेर्न सक्नुहुन्छ । तर सांसदहरुको केही सीमितता पनि छ, हाम्रो प्रणालीमा ।

पार्टीको आन्तरिक संगठनमा तपाईं भिजेको व्यक्तित्व होजस्तो देखिनुहुन्न । यस्तो हुनु फाइदा हो कि घाटा ?

चितवनमा धेरै प्रतिस्पर्धा गरिबसेको मान्छे भए, सबै मान्छेलाई चिनिन्थ्यो । कसलाई कति विश्वास गर्ने भन्ने थाहा हुन्थ्यो । अहिले कम जानकार जस्तो भएँ म । दोस्रो फाइदा के हो भने बाहिरी मान्छे, शैक्षिक पृष्ठभूमिबाट आएको मान्छे, खासै दुस्मन पनि हुँदैन । नत्र पार्टीभित्रै संघर्ष गरिरहेको हुन्छ । त्यो रहँदैन । दुवै पक्षकालाई स्वीकार्य हुन सहज हुन्छ ।

खासमा तपाईंको राजनीतिमा आउँ भन्ने योजनै थियो कि विभिन्न परिस्थितिले बनेको सन्दर्भ हो ?

त्यतातिर नजाउँ अहिले । पछि कुनै उपयुक्त बेलामा कुरा गरौंला । तर, जब मैले चुनाव लड्छु भन्ने निश्चित भए, त्यसपछि चुनाव लड्छु भन्नेमा निश्चिन्त थिएँ । र, चितवन गृहजिल्लाबाटै लडौं भन्नेमा थिएँ ।

तपाईंको प्रतिबद्धताहरु के-के छन् त ?

पूर्वी चितवनको पहिलो समस्या भनेको तटबन्ध नै हो । नेपाली कांग्रेसले २०५० सालमा जुन तटबन्ध बाँधेको थियो, त्यसले पूर्वी चितवनलाई धेरै हदसम्म सुरक्षित बनाएको छ । तर, अझै खोलाहरु पनि बाँकी छन्, तटबन्धनका लागि । दोस्रो, कुरा यहाँ भूमिहीनहरुको समस्या छ । सुकुम्बासीहरु छन्, धेरै । झण्डै १५ हजार जना सुकुम्बासी छन् ।

उनीहरुलाई सम्मानजनक जीवनयापनका लागि सुनिश्चित गराइदिनुपर्नेछ । त्यसले गर्दा कसरी गर्ने भन्ने ठूलो चुनौती छ । खोला, खोलामा, स्कुलहरुमा, वनका जग्गामा बसेका धेरै विपन्न भूमिहीनहरु छन् । तेस्रो, कृषि हाम्रो ८० प्रतिशत जनसंख्या कृषिमा आधारित छन् । कृषिलाई फाइदामा लगेर उनीहरुलाई कसरी सम्पन्न बनाउने भन्ने चुनौती छ ।

मल, बीउदेखि लिएर अनेक कुराहरु छन् । वन्यजन्तुहरुसँगका द्वन्द्व, त्यसैले यो तीनवटा मुख्य हो । त्यसपछि पूर्वाधारहरु पनि छन् । हाम्रामा पूर्वाधारहरु धेरै कमजोर छ । सडकहरु राम्रो छैन । शिक्षा स्वास्थ्यमा पनि हामी पछाडि छौं । त्यसैले यसमा काम गर्न जरुरी छ । यही मेरो प्रतिबद्धता छ ।

तपाईंले प्राथमिकताका कुरा गर्दा भूमिहीनको कुरा गर्नुभएको छ, यसको समाधानको विषय के-के होलान् ?

जग्गा दिनैपर्छ । हामी ६०/७० वर्षअघि आउँदा पनि धेरैजसो मानिसहरु भूमिहीन भएरै आएको हो । अहिले पनि मान्छेलाई घर बनाएर बस्ने अधिकार त हुनुपर्छ ।

तपाईंको मुख्य प्रतिस्पर्धी को हो ?

मुख्य रुपमा परम्परागत रुपमा आइरहनु भएकाले सुरेन्द्र पाण्डेजी हो ।

हिजोआज चितवनको सन्दर्भमा अलि बढी चर्चा हुन्छ, राष्ट्रिय स्वतन्त्र पार्टी चाहिँ तपाईंका लागि कति चुनौती हो ?

अहिलेसम्म त्यो गम्भीरतापूर्वक लिइएको छैन किनभने, सांगठानिक संरचना एकदमै महत्वपूर्ण हुन्छ । अरु पार्टीको त्यस्तो स्ट्रक्चर छैन तल । असांगठानिक भिडले ठ्याक्कै नतिजा दिने, थ्रेस होल्ड कटाउन सक्छ जस्तो मलाई लाग्दैन ।

भनेको तपाईंलाई विश्वासै छैन यो राष्ट्रिय पार्टी बन्छ भन्ने ?

राष्ट्रिय पार्टी भनेको होइन । यहाँ चितवन–१ विजयको कुरा गर्दा खेरि भनेको हो । बाँकी के छ मलाई थाहा छैन ।

तपाईंले जित निकाल्नुभयो भने कति अन्तर होला ? केही आँकलन गर्नुभएको छ ?

हामीसँग केही छ । तर, त्यो परिपक्व भइसकेको छैन ।

तपाईं अखबारमा राजनीतिक टिप्पणी, लेखहरु गरिरहने मान्छे । आफूले टिप्पणी गर्ने ठाउँ र ग्राउण्डमा आएर हेर्दा राजनीतिक कस्तो हुँदो रहेछ ? उस्तै-उस्तै हुँदो रहेछ कि यसमा निकै फरक छ ?

एक पटक चुनाव लडेर हेर्नुस् । चुनाव लड्न जति अफ्ठ्यारो सायदै केही होला । र, यो सबैभन्दा सुन्दर चिज पनि हो । घरघर गएर मान्छेका विविध समस्या हुन्छन् । काहीँ मान्छेहरु छोराछोरीले जागिर नपाएर तनावमा बसिरहेको हुन्छ । काहीँ स्वास्थ्य उपचार नपाएर रिसाएर बसेको हुन्छ । मान्छेका समस्याहरु यति धेरै हुन्छ ।

खेती, पानीको समस्या हुन्छ । घुम्दै जाँदा थोत्रा–थोत्रा भइसकेको सडक हुन्छन् । मान्छेले धुला सडकमा हामीलाई के हुन्छ भनेर सोध्छन् । काहीँ जानुहुन्छ, वन्यजन्तुले मारेका मान्छेका परिवार आएर बाघ हामीलाई किन चाहियो भनेर सोध्छन् । त्यो प्रश्न फेस गर्दा काठमाडौंमा फेस गरे जस्तो हुँदैन । काठमाडौंमा बाघ संरक्षण गर्नुपर्छ भनेर कसैले प्रतिप्रश्न गर्दैन ।

तर, तपाईंले आफ्नो आफन्त, बा, आमा बाघले भर्खरै खाइदिएको मान्छे आएर सोध्यो भने दिनुपर्ने जवाफ के हुन्छ ? एउटा उम्मेदवारहरुले यी सबै प्रश्नको सामना गर्नुपर्छ । मलाई त अहिले के लाग्छ भने योजना आयोगहरुको उपाध्यक्ष बन्नलाई पनि एक पटक चुनाव लडेर जितेकै मान्छे चाहिन्छ कि जस्तो लाग्छ । जसले ग्राउण्डको स्थिति देखेको होस् । नत्र त खाली सुकिला-मुकिला भयो ।

सबैसँग हात मिलायो । ठूला-ठूला गफ गर्‍यो, यो गरौं भन्ने हुन्छ । हाम्रो देशमा धेरै साधारण मान्छे छन्, बिहान बेलुका खेतीपाती गरेर, भैंसीको दूध दुहेर छोराछोरी पढाउने मान्छेहरु छन् । उनीहरु अन्नमा आधारित भएका हुन्छन्, बाढीले लगिदिन्छ । अथवा, फल्दैन । पानी नभएर दुःख पाउने हुन्छ । यस्ता खाल्का सबै मान्छेहरु छन् । नीति नियम बनाउँदा यी सबै कुराहरु फेस गर्नुपर्ने हुन्छ । यो कुरा चुनाव लडेर आएका व्यक्तिलाई थाहा हुन्छ ।

तस्वीर/भिडियोः शंकर गिरी

लेखकको बारेमा
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?