+
+
स्थलगत : सुनसरी ४ :

किसानलाई बाढीको क्षतिपूर्ति आश, नेता गर्छन् एमसीसीको बात

एमाले नेताहरुले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) राष्ट्रघाती सम्झौता भएको भन्दै विरोध गरे, तर किसानको कुरा गरेनन् । एमालेको भेलामा धेरैजसो स्थानीय किसान नै थिए तर किसानको कुरै भएन ।

हरि अधिकारी हरि अधिकारी
२०७९ कात्तिक २८ गते २०:०६

२८ कात्तिक, विराटनगर । सुनसरीको हरिनगर गाउँपालिका–५ बसन्तपुरका दिनेशकुमार मेहताले चार विघामा लगाएको धान सुनसरी खोलाको बाढीले बगायो ।

२०७८ कात्तिकमा आएको बाढीले पाकेको धानबाली बगाएपछि सो क्षेत्रका सांसद कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले क्षतिपूर्ति दिलाउने आश्वासन दिएका थिए । गाउँपालिकाका कर्मचारीले क्षतिको विवरण टिपेर पनि लगे । क्षतिपूर्ति लिन बैंक खाता खोल्नू भनेपछि उनले खाता पनि खोले । तर वर्षदिन बित्यो, क्षतिपूर्ति पाएनन् ।

बाढीबाट १० लाख रुपैयाँ क्षति भएको बताउने मेहताले अनलाइनखबरसँग भने, ‘सरकारले खाता खोलाउनु पनि भयो, तर एक पैसा पनि आको छैन, किसानले के गर्छ ?’

हाल सञ्चार तथा सूचना प्रविधिमन्त्री रहेका कार्की यस पटक पनि सुनसरी–४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । मन्त्रीले आश्वासन पूरा नगरेपछि मेहता शनिबार दिउँसो मन्त्रीसँग भेट हुन्छ कि भनेर बसन्तपुरमा भएको चुनावी सभामा पुगे । ‘यहाँ आउनुभएको छ भनेर आएँ, तर गइसक्नुभएछ’ मेहताले भने, ‘सोध्न पाइएन, अब क्षतिपूर्ति आउने आश पनि छैन ।’

उनका छिमेकी रामु मेहताको पनि १० बिघाको धान बाढीले बगायो । क्षतिपूर्ति लिन सबै प्रक्रिया पूरा गरेर बैंकमा खाता पनि खोले । रामुले निराश हुँदै प्रश्न गरे, ‘दिने छैन भने किन आश्वासन दिनु ?’

हरिनगर गाउँपालिकाका कृषि शाखाका प्राविधिक सहायक लक्ष्मी मेहताका अनुसार पालिकाबाट ४ करोड २५ लाख ७५ हजार ५५९ रुपैयाँ क्षतिपूर्तिको मागदाबीसहित जिल्ला प्रशासन कार्यालयमा विवरण पेश गरिएको थियो । तर क्षतिपूर्ति आएको जानकारी छैन ।

शनिबार बसन्तपुृरमा नै नेकपा एमालेको चुनावी सभा थियो । त्यहाँबाट पनि उनीहरु निराश भएर फर्किए । एमाले नेताहरुले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) राष्ट्रघाती सम्झौता भएको भन्दै विरोध गरे, तर किसानको कुरा गरेनन् । एमालेको भेलामा धेरैजसो स्थानीय किसान नै थिए तर किसानको कुरा भएन ।

एमाले नेता जाकिर हुसेनले एमसीसीको प्रसंग उठाएर कांग्रेस उम्मेदवार मन्त्री कार्कीमाथि आरोप लगाए । उनले कार्कीकै पहलमा ‘राष्ट्रघाती’ एमसीसी सम्झौता भएको र नेपालको स्वाधीनता खतरामा रहेको बताए । ‘एमसीसी ल्याउन अमेरिका गएर उहाँले दस्तखत गराउनुभएको थियो’, उनले भने,‘…ठूलो जालझेलमा फसाउने काम ज्ञानेन्द्र कार्कीले गर्नुभयो ।’

उनीपछि र अगाडि चुनावी सभामा बोलेका एमाले र एमालेसँग तालमेलमा रहेको जनता समाजवादी पार्टीका नेताहरुले पनि किसानले आश गरेको क्षतिपूर्तिको बारेमा बोलेनन् ।

जगदीशप्रसाद कुसियत ।

चुनावी सभामा पुगेका सुनसरी–४ का एमाले उम्मेदवार जगदीश कुसियतले पनि किसानको समस्यालाई सम्बोधन गरेनन् । कांग्रेस उम्मेदवार कार्कीले राज्यशक्तिको बलमा निर्वाचन आचारसंहिता मिचेको उनले आरोप लगाए । ‘उहाँले आचारसंहिता मिचेर घरदैलो गरिरहनुभएको छ’, कुसियतले भने, ‘शक्तिको दुरुपयोग पनि गर्नुभएको छ ।’

सरकारका प्रवक्तासमेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई हामीले किसानले किन क्षतिपूर्ति नपाएको भनेर सोध्यौं । उनले आफ्नो कारणले क्षतिपूर्ति नरोकिएको भन्दै पन्छिए । उनले भने, ‘मेरो व्यक्तिगत कारणले मात्रै होइन, ती समस्याहरुको समाधान मैले मात्रै गर्न सक्दिन ।’

उनले चुनावको बेलामा नकारात्मक कुरा नगर्न पनि आग्रह गरे । ‘नकारात्मक कुराहरुलाई मात्रै प्रचार गरेर समाजलाई नकारात्मक दिशातर्फ नलानुहोस्’ कार्कीले अनलाइनखबरसँग भने ।

दबावमा मन्त्री र पूर्वमन्त्री

हालको सुनसरी-४ विगतमा सुनसरी-५ मा पर्थ्यो। यो क्षेत्रबाट विगतमा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले पनि चुनाव लडेका थिए । कोइरालाले स्वयंले कांग्रेसको संगठन विस्तार गरेको क्षेत्र हो यो ।

सो क्षेत्रमा २०५१ सालयता कुसियत चुनाव लडिरहेका छन् । २०५४,२०६४ र २०७० सालमा भोजपुरबाट पराजित भएका कार्की २०७४ सालमा सुनसरी–४ बाट विजयी भएका थिए । त्यसपछि उनी दोस्रो पटक सोही क्षेत्रबाट प्रतिस्पर्धामा छन् ।

ज्ञानेन्द्रबहादुर कार्की ।

२०४८ सालमा यो क्षेत्रबाट कांग्रेस नेता डा. खली आजाद साह निर्वाचित भएका थिए । २०५१ सालमा गिरिजाप्रसाद कोइराला विजयी हुँदा एमाले उम्मेदवार कुसियत पराजित भए । २०५३ सालको उपनिर्वाचनमा कुसियत निर्वाचित भए ।

२०५६ सालको आम चुनावमा पनि गिरिजाप्रसाद कोइराला नै विजयी भए । २०६४ र २०७० सालको निर्वाचनमा उपेन्द्र यादव विजयी भए । २०७० मा यादवसँग कुसियतले प्रतिस्पर्धा गरेका थिए । २०७४ सालमा भने कुसियत प्रदेशसभा सदस्यको चुनाव लडे, निर्वाचित भए र प्रदेश १ सरकारको मन्त्रीसमेत बने ।

यो क्षेत्रमा ज्ञानेन्द्रबहादुर कार्की र जगदीशप्रसाद कुसियत पहिलो पटक प्रतिस्पर्धा गर्दैछन् । दुवै यसअघि निर्वाचित भएर मन्त्री भएका व्यक्ति हुन् । भोजपुरबाट सुनसरी झरेर प्रतिनिधिसभा सदस्य निर्वाचित कार्की बहालवाला मन्त्री हुन् भने कुसियत प्रदेश सरकारका पूर्वमन्त्री ।

चुनावी अभियानका क्र्रममा रहेका दुई नेता एक अर्काको विरुद्ध खनिएका छन् । कुसियत कार्कीले आचारसंहिता मिचेर शक्तिको दुरुपयोग गरेको आरोप लगाउँछन् । ‘मैले उहाँलाई शालीन व्यक्तिको रुपमा लिएको थिएँ, तर होइन रहेछ,’ कुसियतले भने, ‘उहाँलाई संविधानको ज्ञान पनि छैन ।’

आफू स्थानीयबासिन्दा भएकाले चुनाव जित्ने कुसियतको दावी छ । ‘मलाई यहाँको माटोलाई चिनेको छ, भूगोललाई चिनेको छ, २०५१ सालदेखि संसदीय अभ्यासमा निरन्तर छु’, उनले भने, ‘यहाँको धरती पुत्र हुँ ।’

साढे तीन वर्ष प्रदेशको मन्त्री हुँदा क्षेत्रको विकासमा काम गरेका कारण चुनाव जित्ने उनको दाबी छ । जनता समाजवादी पार्टीको साथ पनि आफूलाई रहेका कारण जित सहज भएको कुसियतको भनाइ छ ।

नेपाली कांग्रेस नेता कार्की २०७४ सालमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गठबन्धन हुँदा पनि यो क्षेत्रबाट निर्वाचित भएका थिए । यसपटक माओवादीलेका साथ आफूलाई भएका कारण चुनाव जित्ने उनको भनाइ छ ।

त्यसबाहेक पाँच वर्षमा गरेका कामका आधारमा पनि आफूले चुनाव जित्ने मन्त्री कार्की बताउँछन् । ‘अघिल्लो चुनावमा मैले धेरै कमिटमेन्टहरु गरेको थिएँ, अहिले त्यसको ८० प्रतिशत जति पूरा गरेँ’, उनले भने, ‘काम गरेको कुरा जनताले थाहा पाएका छन्, हामी चुनाव जित्छौं ।’

उनले आफ्नो क्षेत्रमा १० अर्ब भन्दा बढीका योजनाहरु आएको बताए । ‘यो चुनावमा जनताले आफ्नो सार्वभौम अधिकार मात्रै प्रयोग गर्ने छैनन्, लोकतन्त्रलाई सुदृढ गर्ने विधिको शासनलाई सुदृढ गर्ने काम पनि गर्नेछन्’, उनले भने ।
स्थानीय तह निर्वाचनमा दलहरुले पाएको मतको आधारमा क्षेत्रमा नेपाली कांग्रेस अगाडि छ ।

वडाध्यक्षका उम्मेदवारले पाएको मत हेर्दा कांग्रेसले २८ हजार ७५६, एमालेले २३ हजार ६१३, जसपाले ९ हजार ८६३, नेकपा एकीकृत समाजवादी पार्टीले ३ हजार ७०० र नेकपा माओवादी केन्द्रले ३ हजार ६४६ मत पाएको थियो ।
यो मतका आधारमा पनि कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?