+
+

‘त्यति ठूलो प्रतिस्पर्धा होला जस्तो लाग्दैन’

डा.चन्द्र भण्डारी नेता, नेपाली कांग्रेस डा.चन्द्र भण्डारी नेता, नेपाली कांग्रेस
२०७९ कात्तिक २९ गते ९:२९

गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीसँग जिल्लाका समसामयिक विषय र निर्वाचनको सन्दर्भमा गरिएको कुराकानी :

गुल्मी क्षेत्र नम्बर १ मा तपाईंको उम्मेदवारी किन ?  

सानै उमेरदेखि नेपालको आर्थिक, सामाजिक र राजनीतिक अवस्थालाई समय अनुकूल गर्दै राजनीतिमार्फत नेपालको समाज रूपान्तरण र आर्थिक विकास गर्न सकिन्छ भन्ने मान्यता बोकेर राजनीतिमा लाग्यौं । तर, विभिन्न बाधा–व्यवधान खडा भए । हामीले चाहे अनुसारको मुलुक बनाउन सकेनौं । जनताका इच्छा र आकांक्षालाई सम्बोधन गर्न सकेनौं । त्यसकारण विश्वको अत्यन्तै सुन्दर र प्राकृतिक सौन्दर्यले भरिपूर्ण, अत्यन्तै मिहिनेती जनता भएको देश राम्रो बनाउन सकेनौं । राम्रो गुणस्तरीय शिक्षा प्राप्त गर्ने युवा विदेशतिर पलायन हुने, बलिया पाखुरा भएकाहरू रोजगारीका निम्ति अरबतिर र भारततिर जाने तर मुलुक बनाउने सोच कमै मान्छेमा भयो ।

एकथरी व्यक्ति सधैं सत्तामा रहने, मुलुकले निकास नपाउने कारणले हामीले मुलुकलाई निकास दिन सकेनौं । मुलुकको रोग भनेको भ्रष्टाचार हो, त्यो रोगको निदान गर्ने डाक्टर हामी हुनसक्छौं भनेर उम्मेदवारी दिएका हौं । तर अहिले मुलुकमा जे भइरहेको छ, आर्थिक स्थिति जति बिग्रेको छ, त्यसलाई सुधार्ने राजनीति सीमित व्यक्तिको हातमा जाँदैछ । हाम्रो प्रजातन्त्रको प्रयोग काला बजारियाको हातमा जस्तो भइरहेको छ ।

यसका लागि पहिले राजनीति सुधार्नुपर्छ, त्यसपछि देशको आर्थिक, सामाजिक अवस्था सुधार्न सकिन्छ । अहिले मुलुकको वर्तमान आर्थिक, सामाजिक अवस्था, कर्मचारीतन्त्रको प्रवृत्ति हेर्दा अब मुलुकमा प्रभावकारी सुधार गर्नुपर्ने आवश्यकता छ । त्यो सुधार कसले गर्न सक्छ भन्दा २०औं–३०औं वर्ष राजनीति गरेका व्यक्तिहरूले गर्न सकेनन् । अब हामीले काम गरेर देखाउनुपर्छ । त्यो काम गरेर देखाइसकेपछि मात्र समाजमा परिवर्तन हुन्छ । यो मान्यता पूरा गर्न मेरो उम्मेदवारी हो ।

२०७० सालमा त तपाईं निर्वाचित हुनुभएकै थियो, जिल्लाको निम्ति के गर्नुभयो ?

पहिलो, २०७० सालमा नेपाली जनताले संविधान निर्माणका निम्ति मत दिनुभएको थियो । गुल्मीका जनताले संविधान निर्माणका निम्ति मलाई पठाउनुभएको थियो । पहिलो चोटि संविधान निर्माण गर्न पठाएका साथीहरूले संविधान बनाउन सक्नुभएन र हामी गएर संविधान बनायौं ।

दोस्रो, हामीले पाएको अवसरलाई अधिकतम प्रयोग गर्नुपर्छ भनेर गुल्मी जिल्लालाई नमूना जिल्ला बनाउन सकिन्छ भन्ने मेरो सपना थियो । त्यो सपना पूरा गर्न हामीलाई सिद्धबाबाको सडकले धेरै दुःख दिइरहेको छ । धेरै व्यक्तिहरूको ज्यान लिइरहेको छ । तसर्थ मैले गुल्मेली जनतालाई सालझण्डी सडक उपहार दिएको छु ।

म निर्वाचित भइसकेपछि सालझण्डी सडक योजनामा राखेर काम सुरु गर्‍यौं । त्यसबाट गुल्मीका सबै क्षेत्रमा बुटवलको पहुँच पुग्छ । बुटवलबाट डेढ घण्टामा तम्घास आउन सकिन्छ भनेर सडक सुरु गर्‍यौं । त्यति मात्रै होइन ७३ वटा सडक पि–वानमा सुरु गर्‍यौं, हामीले ४२ वटा पक्की पुल सुरु गर्‍यौं, अझै पनि चारवटा पक्की पुल बन्न बाँकी छन् ।

हामीले नेपालमा सबैभन्दा धेरै लिफ्ट खानेपानी सञ्चालन गर्‍यौं । दौंघादेखि बिरवास, श्रृङ्गासम्म धेरै ठाउँमा लिफ्ट खानेपानी सञ्चालन गर्‍यौं । भन्नुपर्दा नेपालमै लिफ्ट खानेपानीको बानी नै बसाल्यौं । हामीले सीमान्तकृत वर्ग जसका घरवास थिएनन् १६०० जति घर बनाउनुपर्ने थियो लगभग ४०० वटा घर बनायौं । त्यति मात्रै होइन हामी भएको बेलामा नेपालको पहिचान त आफ्नै छँदैछ, गुल्मीको पहिचान कसरी बनाउने भनेर गुल्मी, पाल्पा र स्याङ्जा जोडेर पुल बनाउन थाल्यौं । हामीले गुल्मेली जनताको रूपान्तरणको निम्ति धेरै काम गरेका छौं ।

जनता त आधारभूत समस्यामै छन्, उनीहरूलाई कसरी माथि उठाउने योजना छ ?

हामीले पहिले मुलुकलाई निकास दिनुपर्‍यो । यो साठी वर्षमा राजादेखि हाम्रो अवधिसम्म जोड्दा पनि अहिलेसम्म जनताका समस्या एउटै छन् । खानेपानी, बत्ती, कपडा, छाना, स्वास्थ्य, शिक्षा, युवा अरब जानुपर्ने, युवाले नेपाल छोड्ने– यी सबै समस्या जस्ताका तस्तै छन् ।

यसको समाधान के हो त ? रोग के हो त ? भनेर हामीले उपचार गरेका छौं । नेपालको सबैभन्दा ठूलो रोग भनेको भ्रष्टाचार हो, यो भ्रष्टाचारलाई ठिक गर्ने हामी सबैभन्दा योग्य डाक्टर हौं भनेर दावी गरेका छौं । हामीलाई मुलुक बनाउने, जनतालाई सुविधा दिने र मुलुकलाई अरू विश्वसँग प्रतिस्पर्धी बनाउने हाम्र्रो लक्ष्य हो ।

त्यो कसरी बन्न सक्छ भन्नेमा मेरो दृष्टिकोण छ— पहिलो त भ्रष्टाचारको अन्त्य गर्नुपर्‍यो, कानुनले आत्मसमर्पण गर्नुभएन । कानुन स्वार्थमा लाग्नु भएन, कानुन आफूले पैसा कमाउने स्वार्थमा लगाएर बेथिति गर्नुभएन । त्यसकारण कानुनले काम गर्नुपर्‍यो र यसलाई कार्यान्वयन गर्न हामी लाग्छौं ।

अर्को कुरा अहिले पनि नेपालमा हरेक किसान खेतीपाती गर्छन् । अनुदान भनेर वास्तविक किसानले अनुदान पाएकै छैनन्, आसेपासेले पाएका छन् । त्यसकारण किसानलाई मल, बीउ, सिंचाइ र जमिनसित जोडिदिनुपर्‍यो । उत्पादन गरिसकेपछि त्यसले बजार पाउनुपर्‍यो र काम गरेको मूल्य पनि प्राप्त गर्नु पर्‍यो । त्यो दुईवटै पाएका छैनन् ।

त्यसकारण किसानलाई देशभरि कोल्डस्टोरसित जोडिदिनुपर्‍यो, हरेक पालिकामा कोल्डस्टोर बनाइदियो भने जनताले त्यहाँ आफ्नो उत्पादन संकलन गर्दछन् र ‘अफ सिजन’ मा धेरै मूल्यमा बेच्छन् । त्यसकारण किसानले धेरै मूल्य पाउँछन् । यस्ता कुरा जोडियो भने फरक तरिकाले नेपाल अगाडि जान्छ । त्यो व्यवस्था गर्नुपर्छ भन्ने मेरो दृष्टिकोण छ ।

धेरै नेता एमालेबाट विरक्त भएर छुट्टै पार्टी बनाएका पनि छन् । त्यसैले गर्दा त्यति धेरै ठूलो प्रतिस्पर्धा होला जस्तो लाग्दैन । सधैं काम नगर्ने, झुट कुरा मात्रै गर्ने, यो प्रवृत्ति नेपालमा विकास भएको छ । अवश्य पनि जनता यसपटक ती कुराबाट मुक्त हुन्छन् भन्ने मलाई लाग्छ ।

अर्को कुरा शिक्षाको बारेमा हामीले अब पाठ्यक्रम नै परिवर्तन गर्नुपर्‍यो । सामान्य शिक्षा भन्दा प्राविधिक शिक्षालाई महत्व दिनुपर्‍यो जसले गर्दा हाम्रा बच्चाहरू विश्व शिक्षासँग जोडिन सक्छन् । स्वास्थ्य र शिक्षालाई सरकारले निःशुल्क गरिदिनुपर्‍यो । किनकि किड्नी, क्यान्सरको बिरामी भए त उपचार गर्न सक्दैनौं ।

अर्को हामीले वर्तमान अवस्थालाई मात्रै हेरेर हुँदैन । हामीले प्राकृतिक स्रोत र साधन जनतासँग जोड्नुपर्छ । हामीसित यति धेरै नदी छन् ५–६ वटा नदीलाई प्रयोग गर्‍यौं भने, किसानलाई जोडिदियौं भने जनता धनी भइहाल्छन् । सीमित व्यक्तिले कमाएको छ, ऋण ल्याएको छ तिनैले घर बनाएको छ, गाडी चढेको छ, जनताको हातमा त केही पनि छैन ।

त्यसलाई हामीले प्राकृतिक स्रोत र साधनसित जोडौं । यो त वर्तमानको कुरा हो भविष्यमा के हुँदैछ त मुलुक, १०० वर्षपछि के गर्ने ? उत्पादन छैन, केही छैन, संसारमा अरू देशमा बच्चा पाउँदैनन् मान्छेको मृत्यु दर एकदमै कम छ । त्यो अवस्थामा बजेटले बुढाबुढीलाई पाल्नुपर्‍यो नि त्यो चुनौती बनेको छ भने हाम्रोमा त कर्मचारीलाई पेन्सन दिनुपर्‍यो, सुरक्षा निकायलाई पेन्सन दिनुपर्‍यो ।

अब कहाँबाट हुन्छ, कहाँबाट थेग्न सक्छ मुलुकले ? मैले सोचेको छु— संसारलाई हेरेर यदि हामीले जन्मँदा बित्तिकै एउटा बच्चाको खातामा पाँचहजार राखिदियौं भने ६५ वर्षमा ४ करोड ९ लाख ६६ हजार रुपैयाँ हुन्छ । त्यसले अहिले विदेश गएका बच्चाहरू छन्, बाउआमा बुढाबुढी घरमा एक्लै छन्, त्यसलाई पनि यसले अन्त्य गर्छ । त्यो पूँजीलाई हामीले क्यापिटल विकासमा लगायौं भने त्यसले पनि हाम्रो मुलुकलाई अगाडि बढाउँछ । यो चाहिं विश्वका लागि नमूना हुन सक्छ । अरू देशले पनि यसलाई अनुसरण गर्न सक्छन्, यी मेरा महत्वपूर्ण एजेन्डाहरू हुन् ।

तपाईं नेतृत्वमा पुगेको पनि लामो समय भयो, रिडी–रुद्रावेनी–वामी सडक स्तरीय किन बनेन ? 

म २०७० सालमा निर्वाचित भएर आइसकेपछि रिडी–रुद्रावेनी–वामी सडक बनाउनुपर्छ भनेर मैले २३ करोड बहुवर्षीयमा लगेर बजेट पारेको हुँ । त्यतिबेला ६ मिटरको थियो, आठ मिटरको बनायौं, दोस्रो पटक ४८ करोड बहुवर्षीयमा लगिएको हो । चारवटा पुललाई मेरो समयमा डीपीआर गरिएको हो । तर गुल्मेली जनताले २०७४ सालमा मलाई जिताउनु भएन । जसले काम गर्‍यो उसलाई चुनावमा हराए, जुन पात्र निर्वाचित हुनुपर्दथ्यो गुल्मेली जनताले त्यो पात्रलाई निर्वाचित नगरेकाले काम गर्न नपाएका हौं ।

राम्रो कामको जस लिने तर नराम्रो कामको जति अरूलाई दोष लगाउने परिपाटी किन हुन्छ राजनीतिमा ?

मैले नेपालको राजनीतिमा कहिल्यै पनि नचाहिने काम गरेको छैन । मलाई यति धेरै कुराहरू भन्नुपर्नेछ यो ब्रह्माण्डरूपी समुद्रमा यति धेरै ज्ञान छ त्यसलाई उभ्याउने लोटा मेरो सानो छ । अब त्यो सानो लोटालाई पनि अझ अरूको बारेमा कुरा गर्न लगाएँ भनें मैले केही पनि उपलब्धि हासिल गर्न सक्दिनँ ।

त्यस कारण मेरो लोटा जस्तो सानो छ, मैले आफूले भएका कुरा अभिव्यक्त गर्ने हो । हामीसित यति धेरै सपना छन्, आफ्ना कुराहरू भन्ने त्यसैले मलाई कुनै व्यक्तिलाई दोष देखाउनुपर्ने छैन । फेरि तपाईंले सोचे जस्तो अरू राजनीति गर्ने जसतो म होइन, म जीवनमा चार वर्ष संविधान बनाउन गएको हुँ, संविधान पनि बनाएको र गुल्मीको नमूना विकास पनि गरेको हुँ ।

गुल्मीको पूर्वाधार विकासले आम भुइँमान्छेलाई नछोएको किन होला ? 

हाम्रो देशका विज्ञहरूमा नेपालको भू–बनोट अनुसार कसरी विकास गर्नुपर्छ भन्ने दृष्टिकोण नै थिएन । हामीले १०० वर्ष पहिले नेपालमा सुरुङ्गमार्ग सुरु गरेका हौं, हाम्रो देशमा पहाडमा बाटो खनेर बाटो लैजाने होइन, हामीले त सुरुङ्ग मार्ग बनाउनुपर्ने, सुरुङ्गमार्गबाट एकीकृत बस्ती हुन्थ्यो, एकीकृत भइसकेपछि सबै सुविधाहरू दिन सकिन्थ्यो । शिक्षा, स्वास्थ्य राम्रो हुन्थ्यो, हरेक ठाउँमा बजार बन्थ्यो । नेपालका पहाडहरू सुरक्षित हुन्थे । यति धेरै भत्काउने काम हुँदैनथ्यो ।

जलस्रोत प्रयोग हुन्थ्यो । त्यो सोच हाम्रो भएन । सोच नभएका व्यक्तिहरू मुलुकको नेतृत्वमा पुगे । भनिन्छ लाखौं जनता मूर्ख भएर केही हुँदैन, एउटा नेता मूर्ख भयो भने मुलुक बिग्रिन्छ । त्यही भएको हो नेपालमा । अहिले पनि यस्तै मूर्खहरूको जञ्जाल छ । त्यसलाई रूपान्तरण गरेर बदल्नका निम्ति र नेपाली जनतालाई नेपाल के हो भन्ने पहिचान दिनका निम्ति हामी यो बाटोमा हिंडिरहेका छौं ।

एमालेसँगको प्रतिस्पर्धा कस्तो होला त ?

पहिलो कुरा त पहिला एक्लै लड्दा पनि हामीले राम्रो मत ल्याएका थियौं । पहिले एमालेसँग गठबन्धन गरेका दल अहिले हामीसँगै छन् । त्यसले गर्दा यसपटक हाम्रो पक्षमा जनमत छ र सत्तामा पुगेका व्यक्तिले नेपाली जनतालाई आघात गर्नुभयो । धेरै नेता एमालेबाट विरक्त भएर छुट्टै पार्टी बनाएका पनि छन् । त्यसैले गर्दा त्यति धेरै ठूलो प्रतिस्पर्धा होला जस्तो लाग्दैन । सधैं काम नगर्ने, झुट कुरा मात्रै गर्ने, यो प्रवृत्ति नेपालमा विकास भएको छ । अवश्य पनि जनता यसपटक ती कुराबाट मुक्त हुन्छन् भन्ने मलाई लाग्छ ।

कथं पराजित हुनुभयो भने नि ?

त्यस्तो हुँदैन । हार्नेसित सम्बन्ध छैन । किनभने नेपाली, गुल्मेली जनताले आफैं हार्नुहुन्छ । विचारमा, दृष्टिकोणमा, विश्वासमा धेरै पटक हारिसके । अब गुल्मेली जनता हार्न चाहँदैनन् ।

तपाईं निर्वाचित भइसकेपछि प्राथमिकता पाउने मुख्य काम के हुन् ?

शिक्षा, स्वास्थ्य निःशुल्क हुनुपर्छ । विदेशमा नेपालीले कमाएको सम्पत्ति एकद्वार प्रणालीबाट नेपाल ल्याएर विकास गर्नुपर्छ । विदेशी ऋणबाट मुक्त हुनुपर्छ । नेपालका किसानलाई अब कोल्डस्टोरसँग जोडेर उनीहरूलाई सम्पन्न गराउनुपर्छ । प्राकृतिक साधन स्रोतसँग जनता जोडिनुपर्छ । यसैमा नेपालीको सम्पन्नता जोडिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?