+

‘म दिनभर काम गर्छु, मैले व्यायाम गर्नुपर्छ ?’

२०७९ कात्तिक  २९ गते १२:५२ २०७९ कात्तिक २९ गते १२:५२
‘म दिनभर काम गर्छु, मैले व्यायाम गर्नुपर्छ ?’

चिकित्सा विज्ञानको एउटा मन्त्र छ, ‘रोग लागेर उपचार खोज्नुभन्दा निरोगी हुनु सर्वोत्तम हो ।’

निरोगी कसरी रहने त ? यसको जवाफ पनि पूर्खाहरुले खोजतलास गरिसकेका छन् । साथै आफ्नो जीवनमा अभ्यास गरेर त्यसको सफल नतिजा देखाइसकेका छन् । यसको तीनवटा सूत्र छन्- सही आहार, विहार र विचार ।

समुचित खानपान, दिनचर्या र सोच-चिन्तनले मान्छेलाई स्वस्थ राख्छ भनिन्छ । यसमा अपरिहार्य मानिएको छ, शारीरिक व्यायाम पनि । स्वस्थ्यका लागि व्यायाम निकै उपयोगी छ भन्ने जान्दाजान्दै पनि धेरैजसो मान्छे व्यायाम गर्न जाँगर देखाउँदैनन् ।

कतिपय भन्छन्, ‘रोग लागेको छैन, तगडा नै छु । किन व्यायाम गर्ने ?’

कोही भन्छन्, ‘हृष्टपुष्ट छु । मलाई व्यायामको खाँचो छैन ।’

कोही भन्छन्, ‘बुढो भइसकेको छैन, अहिले नै किन व्यायाम गर्नुपर्‍यो र ?’

कोही भन्छन्, ‘म दिनभर काम नै गरिरहेको हुन्छु । मेरो यसै नि शरीर निष्क्रिय छैन । मैले व्यायाम गर्नुपर्छ र ?’

योगेन्द्रप्रसाद खतिवडा

चौथो प्रश्न धेरैको मनमा अल्झिएको छ । उनीहरुलाई लाग्छ, ‘म त दिनभर शारीरिक काम गर्ने मान्छे । केही न केही गरिरहेको हुन्छ । मलाई व्यायामको जरुरत पर्दैन ।’

के यो सही हो त ? शारीरिक श्रम गर्नेले व्यायाम गर्नु पर्दैन ? व्यायाम र श्रम एकै हो ?

निष्क्रिय बस्नुभन्दा शारीरिक गतिविधि वा सक्रिय जीवन उत्तम हो । तर यो पर्याप्त होइन । त्यसैले शारीरिक श्रम गर्नेहरुका लागि पनि व्यायाम उत्तिकै खाँचो पर्छ । किनभने व्यायामले शरीरको समुचित क्रिया गराउँछ ।

जस्तो कामको प्रकृति अनुसार हामी एकैनासको गतिविधि गरिरहेका हुन्छौं । यस्तो अवस्थामा कुनै एउटा अंग राम्ररी सञ्चालन भएको छ भने अर्को भाग निष्क्रिय हुन सक्छ । यसैगरी कहिले हामी शरीरको आवश्यकताभन्दा थोरै गतिविधि गरिरहेका हुन्छौं भने कुनैबेला धेरै ।

व्यायाममा यस्तो असन्तुलन हुँदैन । व्यायामको लागि निर्धारित गतिविधि हुन्छ र निर्धारित समय हुन्छ । व्यायामको विकास यसरी गरिएको हुन्छ कि जसले शरीरको समग्र अंगहरुलाई सही ढंगले र सही अवधिसम्म गतिशील बनाइराख्छ ।

श्रमले शरीरको कतिपय अंगमा नोक्सानी पनि पुर्‍याउन सक्छ । तर व्यायाम तथा योगले शरीरलाई तन्दुरुस्त, ऊर्जावान् र शान्त तुल्याउँछ ।

खेती किसानी गर्नेले व्यायाम गर्नुपर्छ ?

शारीरिक रुपले सबैभन्दा सक्रिय हुन्छ, खेती किसानी गर्नेहरु । उनीहरु तन्दुरुस्त र बलिया पनि हुन्छन् । यद्यपि खेती किसानीको काम गरिरहँदा पनि शरीरको समग्र व्यायाम भने नभएको हुनसक्छ ।

खनजोत गर्ने, घाँस दाउरा गर्ने वा एकैखाले काम गर्दा शरीरको एकातर्फ मात्र भार हुन्छ । जसले शरीरको एउटा भागमा असर गर्न सक्छ । शरीरको सन्तुलन मिल्दैन र मक्किने, खिइने जस्ता समस्या पनि देखापर्न सक्छ । यस्ता समस्याबाट बच्नका लागि योग व्यायाम एकदमै जरुरी हुन्छ ।

योग व्यायामले समग्र फाइदा

सही ढंगले, सही समयमा योग-व्यायाम गर्दा शारीरिक, मानसिक र आत्मिक फाइदा पुग्छ । यस्ता योग व्यायामले शरीरका अंगहरुलाई लचिलो राख्न, सक्रिय राख्न मद्दत गर्छ । भित्री अंगहरुको कार्य सम्पादन सहज बनाउँछ । शरीरभित्रको विकार हटाउँछ । शरीर र मनलाई जोड्छ । यसले शरीरलाई फूर्तिलो र निरोगी त राख्छ नै मनलाई पनि चंगा र हलुका बनाउँछ ।

खाली पेट, खुला वातावरण

व्यायाम गर्नका लागि विहानको समय सर्वोत्तम हो । दिसा-पिसाब गरिसकेपछि कुनै भोजन नगरी योग व्यायाम गर्नुपर्छ । व्यायाम गर्न सहज र खुला वतावरण भए राम्रो हो । योग व्यायाम सरल ढंगले र सहज रुपले गर्नुपर्छ । व्यायाम सुरु गरेपछि कम्तीमा ३० मिनेट बढीमा ४५ मिनेट वा एक घण्टासम्म गर्नुपर्छ ।

दैनिक गर्नुपर्ने आसन

समय र स्थानको उपलब्धता र आफूले कसरी प्राथमिकतामा राखिएको छ भन्ने हिसाबले हामीले योग व्यायाम गर्ने हो । सकेसम्म एउटा प्याकेज नै मिलाएर डेढ घण्टाको व्यायाम, साधन र प्रणायाम गर्दा सम्पूर्ण शरीरको लागि राम्रो हुन्छ ।

सूक्ष्म व्यायाम, मन्त्र अभ्यास, विभिन्न आसन ४५ मिनेटको, २० मिनेट जति प्राणायाम सिलसिलाबद्ध तरिकाले गर्दा धेरै राम्रो हुन्छ । ३० वटा आसन गर्ने गरिन्छ । तर सम्भवतः हामीले  दैनिक गर्दा लाभ मिल्ने सूर्य नमस्कार, ताडासन, धनुरासन, चन्द्र नमस्कार, उष्ट्रासन, चक्रासन, सर्वाङ्गासन, शावासन भने अन्तिममा आराम गराउने भएकाले अनिवार्य गर्नैपर्छ । यी आसनपछि प्राणायाम गर्दा उपयुक्त हुन्छ । समय कम छ भने सबै आसन थोरै थोरै समय दिएर सकाउन सकिन्छ । प्राणायामको लागि १५ मिनेट समय दिंदा ठीक हुन्छ ।

योगपछि के गर्नुपर्छ, के गर्नुहुँदैन ?

योग गरेपछि हल्का खानेकुरा खानुपर्छ । मदिरा सेवन गर्नु हुँदैन । फलफूल र हरियो सागपात खान सकिन्छ । खानेकुरा जति योगमा डुबिन्छ, त्यति विस्तारै शरीरले माग्दै जान्छ । व्यायाम सकेसम्म खाली पेट माग गर्नुपर्छ । योग ध्यानको क्रिया सकेपछि नुहाउन सकिन्छ । दिउँसो र बेलुका गर्ने हो भने गर्नुअघि ३-४ घण्टा खानेकुरा नखाएको राम्रो हो । समग्रमा भन्नुपर्दा योग गर्दा यसको विधि, लाभ, सावधानी र यसको लय थाहा हुनुपर्छ ।

(योग प्रशिक्षक खतिवडासँग मनिषा थापाले गरेको कुराकानीमा आधारित)

योग व्यायाम
लेखक
योगेन्द्रप्रसाद खतिवडा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय