+
+
WC Series
Oman
113/9 (20)
VS
Nepal won by 38 runs
Won Nepal
151/9 (20)
Shares

फलाटें र भुम्लुटारको लालपुर्जा समस्या सधैं चुनावी एजेण्डा, समाधान कहिल्यै भएन

कपिल कोइराला कपिल कोइराला
२०७९ कात्तिक २९ गते १३:३७

२९ कात्तिक, काभ्रे । काभ्रेको भुम्लु गाउँपालिका–७ र ८ का वासिन्दाले चुनावमा भोट माग्न नेता गाउँ आएपछि फेरि पुरानै समस्या सुनाए । २०३२ सालमा गाउँमा आएको नापी टोलीले जग्गा नापजाँच नगरिदिएका कारण यहाँको भुम्लुटार, फलाँटे र बन्देउका एक हजार भन्दा बढी घरपरिवारले भोग चलन गरेको जग्गाको लालपूर्जा पाउन सकेका छैनन् ।

हरेक चुनावमा उनीहरुले नेतालाई लालपूर्जा पाउने व्यवस्था गरिदिन आग्रह गर्छन्, नेताले पनि लालपूर्जा दिलाइदिने वाचा गरेर भोट माग्छन् । चुनाव जितेर जानेहरुले समस्या समाधानमा चासो नदिँदा ४७ वर्षदेखि समस्या ज्यूँका त्यूँ रहेको स्थानीय वासिन्दाले बताएका छन् ।

२०७७ सालमा जिल्लाको नापी र मालपोत कार्यालयमा वडा नं ७ का ९३२ जना र वडा नं ८ का कार्यालयमा ३१७ जनाले लालपूर्जा प्राप्तिका लागि निवेदन दिएका छन् ।

२०३२ सालमा जग्गा नापी गर्ने सरकारी टोली आएका बेला साविकको पीपलटार र भुम्लुटार गाविसका नेतृत्वबीच टारको खेतीयोग्य जमिन कता पट्टी राख्ने भन्ने विषयमा विवाद भएको थियो ।

विवाद भएपछि जग्गा नापी टोली नापजाँच नै नगरी फर्केपछि स्थानीय वासिन्दाले आफ्नै भोगचलनको जग्गाको पनि लालपूर्जा पाउन नसकेका हुन् । त्यसपछि यो ठाउँमा नापी टोली आएको छैन ।

भुम्लुटार र फलाँटेको सीमा विवाद सुल्झाइदिन तथा लालपुर्जा दिलाउन हरेक पटक त्यहाँका स्थानीयले राजनैतिक दलका प्रतिनिधिलाई अनुरोध गर्छन् । भुम्लुटारका वासिन्दा सन्त तामाङले अघिल्लो निर्वाचनमा विजयी भएपछि संसद गोकुल बास्कोटाले लालपुर्जा विवाद सदाका लागि अन्त्य गर्छु, कुनै चिन्ता लिनुपर्दैन भनेर भाषण गरेको बिर्सेका छैनन् ।
‘बास्कोटा मन्त्री भएपछि म बालकोट भेट्न पुगेको थिए । लालपुर्जाको कुरा गरेँ । लालपुर्जा बारीमा मल घोप्ट्याएको होर भन्नेबित्तिकै दिन मिल्ने भन्दै जवाफ फर्काए’ उनले भने ।

सन्त तामाङको जस्तै स्थानीयको एउटै स्वर छ, ‘हामी लालपुर्जा बिहीन भएर कतिञ्जेल बस्ने ?’ यस क्षेत्रका पूर्वसांसद तथा हालका एमाले उम्मेदवार बास्कोटाले भने लालपुर्जा वितरणमा सहयोग पुर्‍याउन कर्मचारी नै पठाएको बताए । कोरोना महामारी तथा प्राविधिक समस्याको कारण लालपूर्जाको कामलाई तीव्रता दिन नसकिएको उनको भनाइ छ ।

काभ्रे–२ बाट नेपाली कांग्रेसका उम्मदेवार शिवप्रसाद हुमागाईले आफूले जितेपछि पहिलो प्राथमिकतामा राखेर यी दुई वडाको लालपूर्जा समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । यसअघि २०५६ सालमा जिल्लाकै ढुंखर्कमा यस्तै समस्या देखिएको र आफूले समाधान गरेको उनले जिकिर गरे ।

‘फलाँटे र भुम्लुटारका सबैलाई मेरो आग्रह छ, म लालपूर्जा समस्या समाधानमा गम्भीरतापूर्वक लाग्छु । कुनै शंका गर्नुपर्दैन, तपाईहरुको यो समस्या समाधान गर्न सकिन भने अर्को पटक मत माग्नै आउँदिन’, हुमागाईँले भने ।

लालपुर्जा नहुँदा यहाँका वासिन्दाले भूकम्पमा भत्किएको घरसमेत पुनर्निर्माण गर्नसमेत समस्या परेको थियो ।

गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेल र उपाध्यक्ष जितेन्द्रमान तामाङले लालपूर्जाको समस्या समाधान गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीसँग भेटसमेत गरेका थिए । लालपुर्जा वितरण गर्ने विषयमा मन्त्रीसँग सकारात्मक कुरा भएको अध्यक्ष भुजेलले जानकारी दिए ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?