+
+

धरानमा प्रचण्ड : मुक्‍सामहाङ्गलाई मन्त्री बनाउने आश्वासन, हर्क साम्पाङको प्रशंसा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३० गते १४:४९

३० कात्तिक, धरान । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुनसरी क्षेत्र नम्बर १ का आफ्ना उम्मेदवार मुक्‍सामहाङ्ग सुब्बालाई चुनाव जिताएर पठाए मन्त्री बनाउने आश्वासन दिएका छन् ।

चुनावी सभामा उनले धरानको विकासमा राष्ट्रिय नेताको अभाव महशुस भएको बताउँदै सुब्बालाई जिताएमा मन्त्री बनाउने र धरानको विकास हुने बताए ।

यो क्षेत्रमा सत्ता गठबन्धनबाट सुब्बा उम्मेदवार छन् । नेकपा एमालेले भने जनता समाजवादी पार्टीका उम्मेदवार अशोक राईलाई समर्थन गरेको छ । एमालेकै नेता मनोजकुमार मेन्याङबो भने स्वतन्त्र भएर उठेका छन् ।

केही दिनअघि धरानमै आएर एमाले अध्यक्ष केपी शर्मा ओलीले राईको पक्षमा भोट मागेका थिए । धरानका एमाले कार्यकर्ताहरुले राष्ट्रिय नेताका रुपमा एमाले जसपा समीकरणबाट राई उम्मेदवार भएको र उनले जिते एमालेले मन्त्री बनाउने भन्दै भोट मागिरहेका छन् ।

जसलाई बुझेर प्रचण्डले पनि आफ्ना उम्मेदवार मुक्‍सामहाङ्ग सुब्बालाई मन्त्री बनाउने आश्वासन दिएका हुन् ।

कांग्रेसको भोट फकाउँदै प्रचण्डले लोकतन्त्र स्थापना र शान्ति सम्झौतामा गिरिजाप्रसाद कोइरालासँग सहकार्य गरेको स्मरण गरे । कोइरालादेखिको कांग्रेससँगको गठबन्धनको निरन्तरता अझै कम्तिमा पनि १५ वर्षसम्म चल्ने ग्यारेण्टी गरे ।

प्रचण्डले खानेपानी समस्या समाधानका लागि धरानका मेयर हर्क साम्पाङले गरिरहेके प्रयासको प्रशंसा गरे । उनले धरानको सुकुम्बासी समस्या हल गर्ने, धरानका भूपू सैनिकलाई सम्मान जनक पेन्सनको व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । धरान खेलकुदको सहर भएकाले रङ्गशाला निर्माणमा सहयोग गर्नेसमेत आश्वासन प्रचण्डले दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?