+
+
उम्मेदवार प्रोफाइल :

सोमप्रसाद पाण्डेय : पहिला काँध थाप्ने चेलासँग अहिले सिंगौरी

स्थानीय चुनावमा एमालेले पाएको भोट मात्र जोगाउन सक्दा पनि उनी विजय नजिक पुग्ने हुनाले सत्ता गठबन्धनका उम्मेदवार पाण्डेयले आफ्ना राजनीतिक चेलालाई हराउन निकै मिहिनेत गर्नुपर्ने देखिन्छ ।

कमल अधिकारी कमल अधिकारी
२०७९ कात्तिक ३० गते १५:५१

नेकपा एमाले नेता सोमप्रसाद पाण्डे २०५१ सालयता पाँचवटा चुनाव लडेर चार वटामा विजयी भए । २०५१, २०५६, २०६४, २०७० र २०७४ सालका निर्वाचनमा पाण्डेको चुनावी अभियानका कमाण्डर थिए, ठाकुर गैरे ।

२०६४ को पहिलो संविधानसभाबाहेक अरू सबै निर्वाचनमा पाण्डेलाई विजयी बनाउन महत्वपूर्ण भूमिका खेलेका तिनै गैरे यसपालिको प्रतिनिधिसभा निर्वाचनमा पाल्पा–२ बाट उठेर पाण्डेयका लागि प्रमुख चुनौती बनेका छन् । एमालेमा आफ्ना नेता पाण्डेय नेकपा (एकीकृत समाजवादी)मा गएपछिको राजनीतिक अवस्था गैरेको लागि अवसर र चुनौती दुवै बनेको छ ।

पाल्पाको मदनपोखरामा जन्मिएका ६६ वर्षीय पाण्डेय कानुनमा स्नातक हुन् । २०३० सालमै नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका उनी शिक्षण पेशामा रहेका बेला बहुदलको पक्षमा सक्रिय हुँदा २०३६ सालमा ३२ दिन जेल परे ।

२०४० सालमा नेकपा (माले)को गाउँ कमिटी उपसचिव बनेका पाण्डेय इलाका सदस्यहुँदै २०५१ सालपछि लगातार १७ वर्ष जिल्ला कमिटी सदस्य रहे । त्यसपछि पाँच वर्ष राष्ट्रिय प्रतिनिधि परिषद्, केन्द्रीय विभागहरू हुँदै नेकपा (एमाले)को केन्द्रीय सदस्य र पाल्पा इन्चार्जको जिम्मेवारीमा पुगे ।

केही समय वकालत गरेका पाण्डेय नेपाल बार एशोसिएसन पाल्पाको अध्यक्ष पनि भए । २०५१ सालको मध्यावधि निर्वाचनमा पाल्पा–२ बाट भारी मतले प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनी २०५६, २०७० र २०७४ को निर्वाचनमा पनि विजयी भए ।

पाण्डेयले २०६४ सालको दोस्रो संविधानसभा निर्वाचन भने हारे । २०७० सालको दोस्रो संविधानसभा निर्वाचन जितेका उनी २०७२ मा उद्योगमन्त्री बने ।

एमाले विभाजनपछि नेकपा (एकीकृत समाजवादी)मा आबद्ध भए । पार्टीको पाल्पा इन्चार्ज र लुम्बिनी प्रदेश अध्यक्ष रहेका पाण्डेय यो पटक पाल्पालीको समृद्धिका लागि काम गर्ने प्रतिबद्धता जनाउँदै मत मागिरहेका छन् ।

चुनावी अंकगणित

गत स्थानीय चुनावमा वडाअध्यक्षका उम्मेदवारहरूले पाल्पा–२ मा प्राप्त गरेको दलगत मतमा नेकपा (एमाले) अघि छ । एमाले एक्लैले ३० हजार ५६६, नेपाली कांग्रेसले २९ हजार ३९, नेकपा (माओवादी केन्द्र)ले ४ हजार ३१३, मंगोल नेशनल अर्गनाइजेसनले १ हजार १५१ मत पाएको छ ।

उम्मेदवार पाण्डेको दल एकीकृत समाजवादीले भने जम्मा ४३३ मत पाएको छ ।  पाण्डेसँगै एमालेका ठाकुर गैरेसहित १३ जना पाल्पा–२ को चुनावी मैदानमा छन् । स्थानीय चुनावको परिणाम ठाकुरका लागि बढी अनुकूल छ ।

स्थानीय चुनावमा एमालेले पाएको भोट मात्र जोगाउन सक्दा पनि उनी विजय नजिक पुग्ने हुनाले सत्ता गठबन्धनका उम्मेदवार पाण्डेयले आफ्ना राजनीतिक चेलालाई हराउन निकै मिहिनेत गर्नुपर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?