+
+
उम्मेदवार प्रोफाइल :

श्यामकुमार घिमिरे : एमाले मतको भर, पूर्व एमालेकै डर

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १ गते ८:५०

६९ वर्षीय श्यामकुमार घिमिरेलाई नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले काठमाडौं–७ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । २०३६ सालमा अनेरास्ववियुको सदस्यता लिएर राजनीतिमा आएका उनी शिक्षक संगठनमा सक्रिय रहे । केही समय किसान र मजदुर संगठनमा पनि काम गरे ।

राजनीतिक आन्दोलनका क्रममा केही समय जेल परेका घिमिरे २०४३ सालको पंचायती निर्वाचनमा जनपक्षीय उम्मेदवार बनेका थिए । २०७४ सम्म काठमाडौं–७ को चुनाव प्रचारप्रसारमा सक्रिय रहँदै आएका उनी यसपटक आफैं उम्मेदवार बनेका छन् ।

एमाले वागमती प्रदेश कमिटी सचिवालय सदस्य रहेका घिमिरे एमाले पंक्तिभित्रै धेरै चिनिन सकेका छैनन् । गएको स्थानीय चुनावमा उनी तारकेश्वर नगरपालिकाको मेयरमा उठ्न इच्छुक थिए, तर टिकट पाएनन् । यो पटक भने प्रतिनिधिसभा सदस्यकै टिकट पाए ।

घिमिरेको टिकट प्रसंग रोचक छ । जनता समाजवादी पार्टी (जसपा)सँग चुनावी तालमेल गरेर यो क्षेत्र राजेन्द्र श्रेष्ठलाई छोड्ने मनसाय एमालेले बनाएको थियो । त्यसैले काठमाडौंका बाँकी ९ क्षेत्रको टिकट टुंग्याउँदा पनि यो क्षेत्र खाली राखेको थियो । तर भागबण्डामा जसपाले यो क्षेत्र नलिएपछि एमालेले घिमिरेलाई उम्मेदवार बनायो ।

चुनावी अंकगणित

घिमिरेले नेपाल समाजवादी पार्टी (नेसपा)की मानुषी यमी भट्टराई, जनता समाजवादी पार्टी (जसपा)का राजेन्द्रप्रसाद श्रेष्ठ, एमालेका विद्रोही रामवीर मानन्धरसहित स्वतन्त्र उम्मेदवारहरूसँग प्रतिस्पर्धा गर्दैछन् ।

गत स्थानीय चुनावमा यो क्षेत्रमा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा नेपाली कांग्रेस अगाडि छ । कांग्रेसले १४ हजार १६७, एमालेले १२ हजार २०२ र एकीकृत समाजवादीले ३ हजार ८३९ मत पाएको छ ।

त्यस्तै, राप्रपाले २ हजार २७, माओवादी केन्द्रले ५७६ र जसपाले १६२ मत पाएको छ । स्वतन्त्र उम्मेदवारहरूले पाएको भोट संख्या २ हजार २०६ छ ।

स्थानीय चुनावको यो अंकगणित एमाले उम्मेदवार घिमिरेका लागि त्यति अनुकूल देखिंदैन । लामो समय एमालेमा काम गरेका जसपाका उम्मेदवार श्रेष्ठ पूर्व पार्टीको मत तान्ने चलखेलमा छन् नै । एमालेबाटै बागी बनेका रामवीर मानन्धर पनि घिमिरेका लागि चुनौती बनेका छन् ।

स्थानीय चुनावको अंकगणित त कमजोर छँदैछ, सत्ता गठबन्धनकी उम्मेदवार मानुषीको छवि र उमेर घिमिरेका लागि थप प्रतिकूलता हुन् । यी सब प्रतिकूलताका बावजुद उनी पार्टीको बलियो संगठनको बलमा जित निकाल्ने प्रयासमा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?