+
+
काठमाडौं–९ :

कृष्णगोपाल र कल्पनासँग मिलनको टक्कर

रामकुमार डिसी रामकुमार डिसी
२०७९ मंसिर १ गते १६:५४

१ मंसिर, काठमाडौं । काठमाडौं–९ का उम्मेदवार नेकपा एमालेका कृृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी कल्पना धमला र  साझा पार्टीका उम्मेदवार मिलन पाण्डेलाई दिनहरु निकै छोटो लागिरहेको छ । किनकी निर्वाचन आयोगले तोकेको प्रचार गर्ने समय बिहीबार राति सकिँदैछ ।

धमलालाई नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादीसहित सत्तारुढ गठबन्धन दलको समर्थन छ भने श्रेष्ठसँग आफ्नै पार्टीको मजबुत संगठन छ । उनीहरु आफ्नो पार्टीप्रति प्रतिवद्ध मतदातामा भर पर्दा पाण्डेले ठूला दलसँग असन्तुष्ट र स्वतन्त्र मतदातामा आफ्नो विजयको आधार देखेका छन् ।

त्रिपक्षीय प्रतिस्पर्धा

३० वैशाखमा भएको स्थानीय तह चुनावमा वडाध्यक्षका उम्मेदवारले पाएको मत हेर्दा यो क्षेत्रमा नेपाली कांग्रेस ठूलो पार्टी हो । उसको मत १९ हजार ९१६, नेकपा एमालेको १९ हजार २८२, माओवादी केन्द्रको ६९५ र एकीकृत समाजवादीको ४६५ मत छ ।

यो आकडाका आधारमा माओवादी केन्द्रकी उम्मेदवार धमलाले जितका लागि कांग्रेसको भर पर्नुपर्ने देखिन्छ । उनी सत्ता गठबन्धनको सबै मत आफूलाई आउने दावी गर्छिन् । संविधान रक्षाका लागि गठबन्धन बनेको दावी गर्दै ‘मत ट्रान्सफर गर्न नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, जनमोर्चा र नेपाल समाजवादी सबै प्रतिवद्ध छन् ।’

एमालेका उम्मेदवार श्रेष्ठ २०७४ सालमा पनि निर्वाचित सांसद हुन् । उनी अघिल्लो पटक आफूले गरेका अधिकांश वाचा पूरा गरेको र बाँकी काम पुरा गर्न पनि मतदाताले धन्यवादस्वरुप फेरि आफूलाई नै जिताउने दाबी गर्छन् ।

‘यो क्षेत्रमा अहिले बाटोघाटोको समस्या केही बाँकी नै छ, जनताको खानेपानीको समस्या पूर्णरुपमा समाधान गर्न सकिएको छैन’, उनको भनाइ छ, ‘कतिपय ठाउँमा नयाँ बाटो खोलिएको छ, त्यहाँ ढल र खानेपानीको व्यवस्था गर्नुपर्ने अबस्था छ । यस्ता अधुरा, अपूरा योजना पूरा गर्न पनि मलाई फेरि पाँच वर्षको कार्यकाल दिनुहुन्छ भन्ने मलाई लाग्छ ।’

पाण्डे भने २०७४ सालमा विवेकशील साझा पार्टीबाट उठेर ४ हजार ९४६ मत ल्याई तेस्रो स्थानमा रहेका थिए । सहरी क्षेत्रमा दलमा प्रतिवद्ध मतदता कम हुने भएकाले ठूला दलसँग असन्तुष्ट र नयाँ उम्मेदवार खोज्ने मतदाताको मत आफूले पाउने पाण्डेको दावी छ । उनी आफ्नो मुख्य प्रतिस्पर्धी एमालेका कृष्णगोपाललाई ठान्छन् । चुनावी भाषणमा पनि श्रेष्ठमाथि नै बढी टिप्पणी गर्छन् ।

‘कृष्णगोपाल अंकल जो यहाँ फेरि उठ्नुभएको छ, उहाँ पहिलो पटक उठ्दा म २ वर्षको थिएँ’, मतदातासँग पाण्डे भनिरहेका हुन्छन्, ‘अहिले म ३३ वर्षको भएँ । तर, समस्या जहाँको तहीँ छन् । यसअघिको जनप्रतिनिधि उहाँ नै हुनुहुन्छ, अब बदल्ने बेला आयो ।’

कसका मुद्दा के ?

श्रेष्ठले मुलुक राष्ट्रियताका आधारमा दुई ध्रुवमा बाँडिएकाले राष्ट्रियताको पक्षधर एमालेलाई मत दिनुपर्ने बताएका छन् । ‘मुलुकले हराएको नक्सा मात्रै प्राप्त गर्न सकेको छ, नक्सामा प्राप्त गरेको भूभागलाई व्यवहारमै प्राप्त गर्न नेकपा एमाले नेतृत्वको सरकारको अपिरिहार्यता छ’ उनले भनेका छन् ।

श्रेष्ठले त्रिपुरेश्वरदेखि रविभवन–कलंकी–ढुंगेअड्डा–नैकाप हुँदै नागढुंगासम्मको सडक विस्तारलाई मुख्य विषय बनाएका छन् । अघिल्लो कार्यकालमा पनि यो सडकको विषयमा भएको विवाद समाधान गर्न कोसिस गरेको तर त्यसले पूर्णता नपाएको भन्दै फेरि अबको कार्यकालमा त्यसलाई अघि बढाउने उनको प्रतिवद्धता छ ।

माओवादी केन्द्रकी उम्मेदवार धमलाले संविधान जोगाउन पनि आफूलाई मत दिनुपर्ने दाबी गरेकी छन् । ‘संविधानको रक्षा, राजनीतिक स्थायित्व, विकास र समृद्धि मेरा राजनीतिक एजेन्डा हुन् । मैले काठमाडौं–९ लाई देशभरकै विकासको मोडल देखाउने गरी केही योजना निर्माण गरेकी छु ।’

धमलाले यस क्षेत्रका साँस्कृतिक सम्पदाहरुको संरक्षण गर्ने र नेवार समुदायको पहिचान कायम हुने गरी ऐतिहासिक साँस्कृतिक सहर बनाउने बताएकी छिन् ।

पाण्डेले भने आफूले जितेपछि महत्वपूर्ण विधेयक स्थानीयमाझ ल्याएर छलफल गर्ने र स्थानीय मुद्दालाई सक्रियतापूर्वक सदनमा उठाउने बताएका छन् । पानीको समस्या समाधान गर्ने भन्दै उनले समस्या समाधान गर्न नसके ‘गाग्रो ठटाउने र मन्त्रालय घेर्ने’ आन्दोलन गर्ने पाण्डे बताउँछन् ।

‘जितेपछि महत्वपूर्ण विधेयकलाई स्थानीयमाझ ल्याएर छलफल चलाउने छु’, उनको भनाइ छ, ‘त्यहाँ उठेका र नागरिकले राख्नुभएका सुझावलाई संसदमा प्रस्तुत गर्नेछु । संसदमा मेरो सक्रिय उपस्थिति रहनेछ । प्रत्येक महिना स्थानीय, प्रादेशिक जनप्रतिनिधिसहित क्षेत्रमा एउटा ‘नागरिक सभा’ सञ्चालन गर्नेछु ।’

युवा र स्वतन्त्रको उम्मेदवार पनि मै हुँ : कल्पना धमला 

उम्मेदवार, नेकपा माओवादी केन्द्र 

यसपटक म चुनाव जित्छु, पुराना जनप्रतिनिधिले गरेको छलछाम, ढाँटको बारेमा मतदाताले प्रश्न उठाएका छन् । संविधानको रक्षा, राजनीतिक स्थायित्व, विकास र समृद्धि मेरा राजनीतिक एजेन्डा हुन् । मैले काठमाडौं–९ लाई विकासको मोडल बनाउने गरी योजना बनाएको छु ।

काठमाडौं–९ मा मल्लकालीन सभ्यता सुरु भएको नेपालको पचली भैरव, टेकु घाट जस्ता प्रसिद्ध स्थानहरु पर्छन् । थुप्रै मठ मन्दिरहरु छन्, यी ऐतिहासिक, साँस्कृतिक सम्पदाहरुको संरक्षण, सम्वद्र्धन गर्न र यस क्षेत्रमा बाहुल्य रहेको नेवार समुदायको पहिचान कायम हुने गरी ऐतिहासिक, साँस्कृतिक सहर बनाउने योजना म सँग छ । ट्रमा सेवासहितको सुविधासम्पन्न अस्पताल निर्माण, युवालाई रोजगारी र उद्यमशीलतासँग जोड्ने पनि मेरो योजना छ ।

चन्द्रागिरि र नागार्जुन जंगलको ठूलो भूभागलाई संरक्षण गरेर कसरी मानव हितमा उपयोग गर्ने भन्ने विषयमा काम गर्नेछु । जंगली भूभागमा आधुनिक ढंगका पर्यटकीयस्थल निर्माण गर्ने र त्यहाँ जाने पर्यटकलाई त्यहाँको स्थानीय तामाङ संस्कृति देखाउनका निम्ति ‘होम–स्टे’को रुपमा पनि अगाडि बढाउनेछु ।

मेरो प्रतिद्वन्द्वीका रुपमा एमालेका कृष्णगोपाल श्रेष्ठ हुनुहुन्छ । अरु जो उम्मेदवारले युवा, सुशासन, विकास, समृद्धिको कुरा गर्नुभएको छ । म पनि युवा हुँ, म विकास र समृद्धिको पक्षमा भिजन, दृष्टिकोण, इच्छाशक्ति भएको मान्छे हुँ ।

एउटा स्वतन्त्र व्यक्तिले संसदमा नीति निर्माण गर्न सक्दैन । सरकार निर्माण गर्न पनि बहुमत चाहिन्छ । विधेयक पास गर्न, कानून बनाउन पनि बहुमत चाहिन्छ । त्यसकारण मेरो क्षेत्रमा रहेका युवा र स्वतन्त्र व्यक्तिहरुको पनि उम्मेदवार म नै हुँ ।

यो वाम लोकतान्त्रिक गठबन्धन संविधानको रक्षा गर्नका लागि बनेको हो । त्यसकारण मत ट्रान्सफर गर्नका लागि नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, जनमोर्चा, नेपाल समाजवादी पार्टी सबै प्रतिवद्ध छ ।

अपुरा योजना पूरा गर्न मैले नै जित्नुपर्छ : कृष्णगोपाल श्रेष्ठ
उम्मेदवार, नेकपा एमाले

नेकपा एमालेको पक्षमा जनताहरुको अपार, माया, विश्वास र आकर्षण देखिन्छ । मंसिर ४ पछि एमालेको एकमना सरकार बनोस् भन्ने जनताको चाहना देखिन्छ ।
मुलुकले अहिलेसम्म हराएको नक्सा मात्रै प्राप्त गर्न सकेको छ । नक्सामा प्राप्त गरेको भूभागलाई व्यवहारमै प्राप्त गर्नका लागि नेकपा एमाले नेतृत्वको सरकार अपिरिहार्य छ ।

अघिल्लो पाँच वर्षमा मैले स्थानीय विकास र जनताको समस्या समाधानको लागि अन्य विचारका मानिसको समेत साथ सहयोग लिएर अगाडि बढेँ । गएको निर्वाचनमा हामीले पाँच वर्षको ‘म्यान्डेट’ पाएको भए पनि खासगरि हामीले तीन वर्ष राम्ररी काम गर्न सक्यौं । दुई वर्ष कोभिड–१९ ले गर्दा मुलुक ठप्पै थियो । त्यस्तो प्रतिकुलताका बेलामा पनि जनताका बीचमा अनवरत रुपमा खटेको उदाहरण छ ।

हिजोको काठमााडौं–९ र आजको काठमाडौं–९ मा नयाँ परिवर्तन मतदाताले महसुस गरेका छन् । हामीले यो पाँच वर्षमा गरेको काम हेरेर नै मतदाताले न्याय दिन्छन् भन्नेमा मलाई विश्वास छ ।

यो क्षेत्रमा बाटोघाटोको समस्या केही बाँकी नै छ । जनताको खानेपानीको समस्या पूर्णरुपमा समाधान गर्न सकिएको छैन । ठाउँ–ठाउँमा योजनावद्ध विकासको जरुरत छ । कतिपय ठाउँमा नयाँ बाटो खोलिएको छ, त्यहाँ ढल र खानेपानीको व्यवस्था गर्नुपर्नेछ । यस्ता अधुरा, अपुरा योजना पूरा गर्न पनि मलाई फेरि पाँच वर्षको समय दिनुहुन्छ भन्ने लाग्छ ।

दलको विकल्प दल नै हुन्छ । दलको विकल्प कोही व्यक्ति वा स्वतन्त्र हुन सक्दैन । मेरो निर्वाचन क्षेत्रमा स्वभाविक रुपमा दलीय प्रतिस्पर्धा हुन्छ ।

मंसिर ४ सम्म स्वच्छ प्रतिस्पर्धामा जानुपर्छ, त्यसपछि जनताले एउटा निर्णय गर्ने नै छन् । म मेरा सबै प्रतिस्पर्धीलाई सम्मान गर्छु । यो निर्वाचनमा पनि यो क्षेत्रका जनताले हार्दिकतापूर्वक माया गर्छन् भन्ने विश्वास लिएको छु ।

(चुनाव प्रचारका क्रममा श्रेष्ठले राखेको धारणा)

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?