+
+
अन्तर्वार्ता | रञ्जु दर्शना :

‘मेरो उम्मेदवारी दलहरुको अराजकताविरुद्ध विद्रोह हो’

‘मानसिक स्वास्थ्य नीति बनाउने मेरो प्रमुख प्राथमिकता हो’

गौरव पोखरेल गौरव पोखरेल
२०७९ मंसिर १ गते २२:०८

१ मंसिर, काठमाडौं । २०७४ मा भएको स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिँदा २१ वर्षकी रञ्जु दर्शना न्यौपाने धेरैको नजरमा परिन् ।

विवेकशील नेपाल पार्टीका तर्फबाट काठमाडौं महानगरमा उम्मेदवारी दिँदा उनले २३ हजार ४२९ मत ल्याएर तेस्रो स्थानमा रहिन् ।

यो पाँच वर्षको अवधिमा उनी आबद्ध पार्टीले रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीसँग दुईपटक एकता गर्‍यो । तर, दुवैपटक आन्तरिक मतभेद चर्कियो । मिश्रले बाटो परिवर्तन भन्दै दस्तावेज ल्याएपछि उनले सुरुमा विरोध जनाइन् । पछि आफैं राजीनामा दिएर पार्टी राजनीतिबाट निष्क्रिय बनिन् ।

यिनै दर्शना अहिले काठमाडौं क्षेत्र नं. ५ बाट सेलरोटी चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवार बनेकी छन् । अरु दलहरुझैँ उनले झट्ट सुन्दा आकर्षक लाग्ने एजेण्डाहरु अघि सारेकी छैनन् । धेरैले वेवास्ता गरेको मानसिक स्वास्थ्य सम्बन्धी विषयलाई प्रमुख प्राथमिकता बनाएकी छन् ।

‘यो नेपाली समाजमा एकदमै धेरै समस्या भएको विषय हो । तर, यसबारे नीति, निर्माणको तहमा काम भएको छैन’, दर्शनाले भनिन्, ‘त्यसैले मैले निर्वाचित भइसकेपछि मानसिक स्वास्थ्य सम्बन्धी नीति बनाउन काम गर्नेलाई प्रमुख प्राथमिकता बनाएको छु ।’

युवालाई उद्यमशील बनाउन ‘स्टार्ट अप’ नीति बनाउनेदेखि यौनिक तथा लैङ्गिक अल्पसंख्यकको अधिकारका लागि काम गर्नेसम्मका विषय उनले आफ्नो प्राथमिकता सूचीमा राखेकी छन् । भन्छिन्, ‘मलाई एक सांसद्को सीमितताबारे ज्ञान छ, त्यसैले मैले गर्नसक्ने एजेण्डा मात्र अघि सारेको हुँ ।’

प्रस्तुत छ, दर्शनासँग निर्वाचनको सन्दर्भमा गरिएको कुराकानीको सम्पादित अंश :

सबै मतदाता माझ पुग्न सम्भव भयो कि भएन ?

प्रायजसो घरमा कम्तीमा पनि मेरा पर्चासम्म पुगेको छ । मैले योबीचमा करिब १७ देखि २० हजार बढी मतदातासँग भेटघाट गरेको छु ।

कस्तो प्रतिक्रिया पाउनुभयो ?

मैले एकदमै सकरात्मक प्रतिक्रिया पाएँ । महिला उम्मेदवारका रुपमा पनि तपाईं सशक्तरुपमा आउनुभएको, पहिल्यैदेखि राजनीतिमा आउनुभएको भनेर खुशी व्यक्त गर्नुभएको छ । अर्को म आफूले उठाएको एजेण्डाको विषयमा पनि उहाँहरुले मन पराएको पाएँ । मानसिक स्वास्थ्यका विषयमा कसैले नबोलिरहेको अवस्थामा मैले अलि रिलिफ भएको पाएँ ।

काठमाडौं महानगरमा प्रतिस्पर्धा गर्दा राम्रै चर्चा पाउनुभएको थियो । पछि तपाईंको पूर्वपार्टी विवेकशील साझामा विवाद देखिएपछि मौन रहनुभयो । अहिले तपाईंले स्वतन्त्ररुपमा उम्मेदवार बन्नुभएको छ । किन ?

मेरो उम्मेदवारी निर्धक्क भएर विना कुनै डर, धम्की र प्रलोभनविना काम गर्नका लागि हो । मेरो उम्मेदवारी रञ्जु दर्शनाको मात्रै उम्मेदवारी मात्र होइन । मेरो उम्मेदवारी लोकतान्त्रिक बहुदलीय व्यवस्थामा दलहरूको अराजकता, राज्यको हरेक संस्थामा भएको दलीयकरण गरेको विरुद्ध एक गैरदलिय आम नागरिकको विद्रोह हो । सांसद भएर गर्न सकिने हरेक विषयमा कसैको डर, धम्की, प्रलोभनमा नपरी कानुनमा जे लेखेको छ त्यसलाई सशक्त ढंगले पालना गर्दै काम गर्न कै लागि मेरो उम्मेदवारी हो ।

काठमाडौं ५ नै चाहिँ किन छान्नुभएको हो ?

म टिचिङ अस्पतालमा जन्मिएको हुँ । मेरो हुर्काई बढाई महाराजगञ्जमा भयो । मैले ५ कक्षा सम्म टोखा रोडमा पर्ने निर्मल बाटिका स्कुलमा पढेँ र पानीपोखरी स्थित भानुभक्त मेमोरियल स्कुलबाट एसएलसी पास गरेँ । त्यसपछि प्लस टु चक्रपथमा रहेको हेराल्ड कलेजबाट पास गरेँ र ब्याचलर डिग्री बालुवाटारमा पहिले रहेको नेशनल कलेजबाट गरेँ, जुन अहिले धुम्बाराहिमा सरेको छ ।

म यस क्षेत्र र भूगोलसँग परिचित छु र यो क्षेत्र पनि रन्जुसँग परिचित छ । मैले पहिलो पटक मतदान गरेको कान्ति साँस्कृतिक केन्द्रको परिसरबाट हो अर्थात् म पनि यहीँको मतदाता हो ।

काठमाडौं क्षेत्र नम्बर ५ म जन्मेको, हुर्केको, पढाई लेखाई गरेको र मतदाता पनि भएको क्षेत्र हो । तर यति मात्र भएर मैले काठमाडौँ ५ रोजेको होइन । काठमाडौं क्षेत्र नम्बर ५ भनेको राजनीतिक इतिहास बोकेको क्षेत्र पनि हो ।

पछिल्ला दुई निर्वाचनबाट एमालेका वरिष्ठ उपाध्यक्ष र पूर्व उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री समेत हुनु भएको ईश्वर पोखरेल निर्वाचित हुनुभएको थियो । र, यही काठमाडौँ ५ बाट पहिलो पटक स्वर्गीय मदन भण्डारी निर्वाचित हुनुभएको थियो । नेपाली कांग्रेसका बौद्धिक नेता तथा पूर्वकानुन मन्त्री नरहरी आचार्यलाई समेत यस क्षेत्रले माया गरेको थियो ।

यो क्षेत्रको इतिहास हेर्दा यहाँ काम गर्न खोज्ने, अध्ययनशील व्यक्तिलाई जिताउने मनसाय मतदाताको रहेछ । त्यसैले मैले काठमाडौँ ५ रोजेँ ।

तपाईंका चुनावी एजेण्डा र प्राथमिकताहरु के–के हुन् ?

म लड्न लागेको चुनाव व्यवस्थापिकाको लागि हो । यस विषयमा आम मतदाताले पनि बुझ्ने के जरुरी छ भने सांसद भइसकेपछि उसको मुख्य भूमिका कानुन बनाउने, समय अनुसार नीति नियम थप्ने वा परिवर्तन गर्ने हो ।

यसबाहेक आफू जुन संसदीय समितिको सदस्य हो, त्यस अन्तरगत पर्ने क्षेत्रहरूबारे अध्ययन गर्ने र त्यसबाट आएका विषय अनुसार नीति निर्माण गर्ने काम सांसदको हो । सरकारले ल्याउने कार्यक्रम, पेश गर्ने बजेटमा आफ्नोतर्फबाट स्पष्ट भनाई र आफ्नो अध्ययनबाट स्पष्ट भिजन दिने हो ।

देशको वर्तमान स्थिति हेर्दा त हरेक विषय नै मेरो चुनावी एजेण्डा हुनुपर्ने हो । तर मलाई एक व्यक्तिको सीमितताबारे ज्ञान छ त्यसैले मेरा मुख्य पाँचवटा विषयलाई मुख्य एजेण्डा बनाएको छ । पहिलो विषय मैले मानसिक स्वास्थ्यलाई बनाएको छु । यो नेपाली समाजमा एकदमै धेरै समस्या भएको कुरा हो । तर, यसबारे नीति, निर्माणको तहमा काम भएको छैन । म निर्वाचित भइसकेपछि मानसिक स्वास्थ्य सम्बन्धी नीति बनाउन काम गर्नेछु ।

मानसिक स्वास्थ्यलाई आधारभूत स्वास्थ्य, जनस्वास्थ्य अन्तर्गतको प्राथमिक क्षेत्रमा राख्ने र समय सान्दर्भिक मानसिक स्वास्थ्यका कानुनहरू बनाउने काम गर्नेछ । सुत्केरी महिलाहरूमा हुने पोष्टपार्टम डिप्रेसन, ऐन्जाइटी लगायत विभिन्न मानसिक स्वास्थ्य समस्याका लागि अस्पातलमा एक विभाग अनिवार्य बनाउनुपर्ने नीति लागु गर्नेछु । मानसिक स्वास्थ्य सम्बन्धी सेवाको सहज पहुँचको लागि हरेक सार्वजनिक, नीजि शैक्षिक संस्था र स्थानीय तहमा अनिवार्य काउन्सेलिङ् डेस्क राख्नुपर्ने कार्यक्रम बनाउने ।

आर्थिक विनियोजन विधेयकमा यस सम्बन्धी कार्यक्रम राख्न अध्ययन प्रतिवेदन बुझाउनेछु । सार्वजनिक प्रशासनिक सेवाको सुधार पनि मेरो प्राथमिकताको विषय हो । हरेक १५ वर्षमा नागरिकले पाउने सरकारी सेवाको प्रक्रियाहरू विश्लेषण गरी अनुत्पादक प्रक्रियाहरू हटाउने नीति बनाउनेछु । लगनशील, मेहनती कर्मचारीलाई स्याबासी दिने बृहत सिस्टमबारे नीति बनाउनेछु ।

सरकारी तथा गैरसरकारी निकायहरूको विभिन्न तहमा हुने बेथितिबिरुद्ध बाह्य जानकारी दिएर कारबाहीको दायरामा ल्याउन मद्दत गर्ने जोकोहीलाई सुरक्षा दिन र प्रोत्साहन गर्न आवश्यक नीति पनि ल्याउने मेरो योजना छ ।

युवाहरूलाई उद्यम, व्यवसायमा प्रोत्साहन गर्न र लगानीकर्ता, व्यवसायीलाई सहजीकरण गर्न स्टार्ट अप नीति बनाउनेछु । यौनिक तथा लैङ्गिक अल्पसंख्यक क्वेर अधिकारका लागि पनि काम गर्नेछु । समलैंगिक विवाहलाई कानुनी मान्यता दिन पनि बहस र पैरवी गर्नेछु ।

तपाईंको प्रतिस्पर्धा एमाले वरिष्ठ उपाध्यक्ष एवं पूर्वरक्षामन्त्री ईश्वर पोखरेल र कांग्रेस नेता प्रदीप पौडेलसँग हुँदैछ, मुख्यरुपमा कसलाई चुनौति देख्नुभएको छ ?

मैले कसैलाई पनि देखेको छैन । मेरो ऐजेन्डाहरू अध्ययनको आधारमा छ, जसलाई डाटाले ब्याकअप गर्छ । मसँग कसरी आफ्नो ऐजेन्डामा लेखेका कामहरु गर्ने भन्ने खाका छ, उत्तर छ ।

सबै एजेन्डामा लेखिएको कामको कारण र असरका हरेक तत्वसँगको विश्लेषण पहिल्यै गरेको छु । खासमा चुनावी एजेण्डा बनाउँदा यसरी अध्ययन गर्ने चलन नै थिएन । धेरै उम्मेद्वारहरू हावा गफ गर्ने, एकअर्काको कुरा काट्नेमा व्यस्त हुनुहुन्छ । म सामान्य परिवारको व्यक्ति निष्ठावान भएर काम गर्ने भनेर आएकी छु । सबैले रोजेको र खोजेको मैँ जस्तो उम्मेदवार नै हो । गफ हाँक्ने र वैराज्ञता दिने नेता होइन ।

स्थापित भइसकेका दलहरुको अगाडि तपाईंलाई नै मतदाताले के कारण भोट दिन्छन् जस्तो लाग्छ ?

यो खासमा दलहरुले सिर्जना गरेको अवस्थाकै परिणाम हो । दलहरुले राम्रो काम नगरेका कारण मैले पनि स्वतन्त्र रुपमा उम्मेदवारी दिएको हुँ । मलाई तपाईहरूले एजेण्डा र मेरो प्रतिबद्धता हेरेर भोट दिने हो ।

स्थापित दलले यो गरे वा गरेनन् भनेर मैले भोट माग्दिन । म सांसद भएँ भने मेरा एजेण्डामा उल्लेखित कुराहरू पूरा गर्छु । त्यसैले मलाई भोट दिनुस् । कमसेकम संसदको बैठकमा आपतकालिन अवस्था बाहेक सबैमा पूर्ण रूपले हाजिर हुन्छु । त्यसैले अनुपस्थित हुने होइन । उपस्थित हुनेलाई मत दिनुस् भन्छु ।

यसपालि चुनावमा स्वतन्त्रहरु पनि विभिन्न समूहमा देखिए । स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका केहीले राष्ट्रिय स्वतन्त्र पार्टीबाट मनोनयन दर्ता गराए । केहीले लौरो अभियान छाने । तपाईं चाहिँ कतै लाग्नुभएन । प्रस्तावै नआएको हो कि के हो ?

उहाँहरुले मलाई बोलाउनुपनि भएको थिएँ । बैठक पनि बोलाउनुभएको थियो । तर, यो निर्वाचनमा म गैरदलीय स्वतन्त्र उम्मेदवार हुँ । जो दलको चुनाव चिह्न पनि लिँदैन । दलको गठबन्धन वा समूहमा पनि जोडिँदैन ।

स्वतन्त्र रुपमा निर्वाचन आयोगले प्रदान गर्ने चुनाव चिह्न प्रयोग गरेर म प्रस्तुत भएको हो । ०७४ सालको निर्वाचनमा रञ्जु जसरी उपस्थित भएको छु । अहिले पनि त्यसै गरी उपस्थित भएको छु । त्यसबेला भन्दा धेरै विश्वास र माया पाउँछु भन्ने लाग्छ ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि सुरक्षा, अपराध तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?