+
+
युएईसँगको क्रिकेट शृंखला :

नामिबिया भ्रमणअघि नेपालको सार्थक तयारी

नमिता दाहाल नमिता दाहाल
२०७९ मंसिर २ गते २०:१८

२ मंसिर, काठमाडौं । एकदिवशीय मान्यतालाई कायम राख्न निर्णायक मानिने आईसीसी विश्वकप त्रिकेट लिग टू अन्तर्गत नेपालले दुई सातापछि नामिबियामा स्कटल्याण्डसमेत सहभागी त्रिकोणात्मक शृंखला खेल्दैछ ।

त्यसअघि घरेलु मैदानमा पहिलोपल्ट एकदिवशीय शृंखला जित्ने क्रममा नेपालले युएईलाई पराजित गरेको छ । शुक्रबार भएको निर्णायक खेलमा ६ विकेटको जितसहित नेपाली टिमले आफ्नो आत्मविश्वास कायम राखेको छ ।

अर्को वर्ष भारतमा हुने आईसीसी एकदिवशीय विश्वकप छनोटको प्रारम्भिक प्रक्रियासमेत रहेको आईसीसी क्रिकेट विश्वकप लिग टू मा नेपालको वर्तमान अवस्था राम्रो छैन । सात टोली सम्मिलित लिगमा नेपाल २० खेलबाट १७ अंकसहित छैटौं स्थानमा छ ।

नेपालले अब १६ खेल खेल्न बाँकी छ । विश्वकपको ग्लोबल क्वालिफायरमा प्रवेश पाउने सम्भावना कमजोर बने पनि एकदिवशीय मान्यतालाई जोगाइराख्न नेपाललाई लिग टू का बाँकी खेलमा अधिकतम जित आवश्यक छ ।

यस्तोस्थितिमा युएईसँगको शृंखला जिताएका नेपाली प्रशिक्षक मनोज प्रभाकरले यो विजय नामिबिया भ्रमणअघि नेपालका लागि आदर्श तयारी भएको बताएका छन् । शृंखला जितेपछि प्रशिक्षक प्रभाकरले एकदिवशीय शैलीमा रुपान्तरण हुन खेलाडीलाई आह्वानसमेत गरेका छन् ।

‘मैले उनीहरुलाई भन्दै आएको छु कि तिमीहरु ठूलो शट र रनका लागि प्रयास गर्नुभन्दा विकेट टिकाएर खेल्नेतिर लाग । विकेटको अवस्थालाई हेरेर खेल्ने शैली बनाउन सकियो भने हामीले जहाँ पनि राम्रो क्रिकेट खेल्न सक्छौं,’ पत्रकारहरुसँग कुरा गर्दै प्रभाकरले भने ।

कप्तान रोहित पनि यो जितले नामिबिया भ्रमणमा धेरै सहयोग हुने विश्वासमा छन् ।  भन्छन्, ‘टिम राम्रो स्थितीमा छ । हामीले सिरिजको पहिलो खेल राम्रो गर्न नसके पनि दुई खेल राम्रो खेल्यौं, जसका कारण हामीलाई नामिबिया टुरका लागि निकै सहयोग हुने आशा गरेका छौं ।’

हालै टी–२० विश्वकप खेलेर फर्किएको युएई टिमसँगको तीन एकदिवशीय अन्तर्राष्ट्रिय खेलको शृंखलामा नेपालले पहिलो खेल हारेर पुनरागमन जित निकालेको हो । टिमको नेतृत्व परिवर्तनसँगै आत्मविश्वास कायम राख्नका लागि नेपाललाई यो शृंखलामा जित आवश्यक थियो ।

पहिलो खेलमा ८४ रनको हारबाट माथि उठेर दोस्रो र तेस्रो एकदिवशीयमा नेपाली बलरहरुले अपेक्षाअनुसारको प्रदर्शन गर्न सके । तेस्रो तथा निर्णायक खेलमा नेपालले शानदार ब्याटिङको नमूमा प्रस्तुत गर्‍यो । सामान्य योगफल पछ्याउँदा दुई खेलाडी अर्धशतक बनाए भने शतकीय साझेदारी गर्न सके ।

‘यो एउटा सिकाइको चरण हो र उनीहरु तीव्र गतिमा सिक्दैछन् । हाम्रो टिम निकै युवा छ र भविष्य राम्रो छ,’ नामिबिया जानुअघि सुधार गर्नुपर्ने पक्षबारे प्रशिक्षक भन्छन्, ‘मेरो विचारमा अझै अपरिपक्वता बाँकी छ । जब उनीहरुले केहि गल्ती गर्छन् म सधैं भन्ने गर्छु कि कमजोरीबाट सिक्ने हो त्यसलाई दोहोर्‍याइरहनु हुँदैन ।’

ओपनिङमा अर्जुन र आशिफ

पछिल्लो दुई वर्षदेखि नेपालको ओपनिङ जोडीका रुपमा आसिफ शेख र कुशल भुर्तेलले जिम्मेवारी पाउँदै आएका थिए । गत भदौमा केन्या भ्रमणका क्रममा कुशल टिममा नहुँदा प्रशिक्षक प्रभाकरले आशिफ र अर्जुन साउदलाई अवसर दिए ।

केन्यासँगको तीन एकदिवशीय शृंखलामा यो जोडीको प्रदर्शनबाट सन्तुष्ट बनेका प्रभाकरले युएईसँगको तीनै खेलमा अर्जुन र आसिफलाई नै अवसर दिए ।

पहिलो खेलमा यो जोडीले २८ रनको सुरुवाती साझेदारी गर्दा आसिफले १२ र अर्जुनले एकदिवशीय अन्तर्राष्ट्रियको डेब्यू खेलमा ५१ रनको अर्धशतकीय पारी खेले । दोस्रो खेलमा दुवैले रन बनाउन सकेनन् ।

तेस्रो खेलमा यी दुईले २४ रनको साझेदारी गरे । अर्जुन ९ रनमा आउट भए पनि आसिफले अविजित ८८ रनसहित नेपाललाई जित दिलाए । यी दुवै विकेटकिपर हुन् । शृंखलामा अघिकांश समय अर्जुनले विकेटकिपिङ गरेका थिए ।

प्रशिक्षक प्रभाकरले युएईविरुद्ध तीनै खेलमा ओपनिङ गरेका अर्जुन साउद र आशिफ शेखको जोडीलाई नेपालमा भएका अहिलेसम्मकै उत्कृष्ट भनेका छन् ।

‘उनीहरुले धेरै राम्रो खेलिरहेका छन् । उनीहरुले केन्यामा राम्रो खेले र यहाँ युएईसँग जसरी खेले मेरो विचारमा आजको दिनसम्म नेपाली टिमको सर्वोत्कृष्ट ओपनिङ जोडी यही हो,’ एकदिवशीयमा स्थायी ओपनरतर्फ संकेत गर्दै उनले भने, ‘उनीहरुले धेरैभन्दा धेरै समय पिचमा बिताउनुपर्नेछ ।’

शृंखला जिते पनि प्रशिक्षक प्रभाकर तुलनात्मक रुपमा ब्याटिङमा सन्तुष्ट देखिएनन् । नेपाली ब्याटरहरु आफ्नो विकेट बचाउन प्रयास नगर्ने समस्या समाधान हुन नसकेकोमा उनको असन्तुष्टि थियो ।

‘उनीहरुले अझै सिक्न बाँकी छ । जसरी रनआउट भइरहेका छन् र जसरी विकेट फालिरहेका छन्…,’ उनले थपे, ‘सुरुको २ विकेट गएपछि दवाव बढ्न थाल्छ । त्यतिबेला उनीहरुले कसरी दवावको सामाना गर्ने भनेर सोच्नुपर्छ । आशा छ उनीहरुले कमजोरी कम गर्दै सिक्नेछन् ।’

शुक्रबारको तेस्रो खेलमा आशिफ र ज्ञानेन्द्रको प्रदर्शनको भने उनले प्रसंशा गरे । भने, ‘म राम्रो सुरुवात लागि प्रयास गरिरहेको छु । एउटा आधार तयार पार्ने योजना छ । राम्रो सुरुवात भयो भने पछिका ब्याटरहरुलाई दवाव कम हुन्छ ।’

आशिफ र ज्ञानेन्द्र दुवैले एकदिवशीय अन्तर्राष्ट्रियमा आफ्नो पाँचौं अर्धशतक बनाएका हुन् । पूर्वकप्तान ज्ञानेन्द्रको लय पनि नेपालका लागि सकारात्मक संकेत हो । २२ एकदिवशीय अन्तर्राष्ट्रिय इनिङ्समा ५७० रन बनाएका ज्ञानेन्द्रले शुक्रबार तेस्रो नम्बरमा आएर ६४ रन बनाउँदै नेपालको जित आधार तय गरेका थिए ।

नयाँ बलरको प्रयोग

युएईसँगको शृंखला खेल्नुअघि नेपाल क्रिकेट टिम एउटा ठूलो दुर्घटनाबाट गुज्रिएको थियो । टिमका प्रमुख बलर तथा कप्तान सन्दीप लामिछाने फौजदारी अभियोग लागेपछि टिमबाट बाहिरिन बाध्य भएका थिए ।

सन्दीपको अनुपस्थिति युएईसँगको खेलमा पनि खड्किएको थियो । उनको अनुपस्थितिमा नेपालले एकजना स्ट्राइक बलरको अभाव महशुस गरेको कप्तान रोहितले यसअघि नै स्वीकारिसकेका छन् ।

नेपाल टिममा ओपनरको भूमिकामा आफूलाई स्थापित गरिसकेका कुशल भुर्तेलको नयाँ रुप यसपल्टको शृंखलामा देखियो । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो विकेटसमेत लिए ।

यसअघि २०२१ मा अमेरिकाविरुद्ध ओमानमा १ ओभर बलिङ गरेका उनले गत चैतमा पपुवा न्युगिनीसँग कीर्तिपुरमै भएको शृंखलामा पनि एक ओभर बलिङ गरेका थिए ।

युएईसँगको शृंखलामा भने उनी नियमित बलरमै भूमिकामा देखिए । पहिलो एकदिवशीयमा १ ओभर बलिङ गरेका उनले विकेट लिएनन् । दोस्रो र तेस्रोमा भने ७–७ ओभर बलिङ गरेर क्रमसः १ र २ विकेट लिए । उनले एकदिवशीय क्रिकेटको ५ इनिङ्समा १७ ओभर बलिङ गरी ५.२३ को इकोनोमीका ३ विकेट लिएका छन् । घरेलु क्रिकेटमा भने कुशलले आक्कल झुक्कल बलिङ गरिरहेका छन् ।

प्रशिक्षक प्रभाकरले बलिङमा पनि नयाँ प्रतिभा पहिचान गरिसकेको उनले बताए । कुशल भुर्तेलको उदाहरण दिँदै उनले भने, ‘उनले यति राम्रो बलिङ गर्न सक्छन् भनेर धेरैले सोचेका थिएनन् । मेरो अनुभवले उनीहरुलाई अझै राम्रो प्रतिस्पर्धा गर्न र आफ्नो प्रतिभा बाहिर ल्याउन सहयोग गर्ने ।’ प्रशिक्षक प्रभाकरणले भविष्यमा नेपालभरका प्रतिभा पहिचानका लागि आफू भ्रमणमा निस्कनेसमेत बताए ।

बलिङमा प्रयोग भए पनि ओपनिङ पोजिसनबाट बाहिरिएपछि कुशलको ब्याटिङ कमजोर देखिएको छ । दुई इनिङ्समाा अवसर पाएका उनले क्रमश ६ र ३५ रन बनाए ।

प्रशिक्षक प्रभाकरले नेपाली टिममा अलराउण्ड पोजिसनबाट खेल्ने खेलाडीले अवसर पाउने सम्भावना अधिक रहेको प्रष्ट पारेका छन् ।
कुशललाई ओपनिङबाट झारेर फिनिसरको भूमिकामा तयार गर्न लाग्नुभएको हो ? भन्ने प्रश्नमा उनले जुनसुकै पोजिसनमा फिट हुने खेलाडी नै नेपाल क्रिकेटको भविष्यका रुपमा अर्थ्याए ।

‘ओपनर वा कुनै जिम्मेवारीले यहाँ काम गर्दैन । मुख्य कुरा तपाईंले दबावको सामना कसरी गर्नुहुन्छ भन्ने हो । ओपनर भनेको कुनै ‘ठप्पा’ होइन,’ प्रभाकरले भने, ‘यदि तपाईँ ब्याटिङ वा बलिङमात्र गर्नुहुन्छ भने टिमबाट जुनसुकै समयमा बाहिरिन सक्नुहुन्छ । अलराउण्डर हुनुहुन्छ भने जुनसुकै समयमा अवसर पाउनुहुन्छ । कसैले ब्याटिङ गरिरहेछ भने बलिङमा पनि उत्तिकै आत्मविश्वासी हुनुपर्छ । बलरको हकमा पनि त्यही हो ।’

‘रोहितले सिक्न बाँकी छ’

प्रशिक्षक प्रभाकरले रोहित कप्तानका रुपमा अझै परिपक्व बन्न आवश्यक रहेको बताए । फिल्ड प्लेसमेन्ट र कप्तानीमा रोहितले छिट्टै सिक्नुपर्ने प्रशिक्षक प्रभाकरको टिप्पणी छ ।

‘अहिलेसम्म त ठीकै छ । त्यो नतिजाले पनि देखाएको छ । तर, उसले छिट्टो सिक्नुपर्नेछ । किनभने चुनौती धेरै छ र हामीसँग कम समय छ,’ उनले थपे, ‘हामीले जे सोचिरहेका छौं र जुन लक्ष्य राखेका छौं त्यसका लागि अहिलेसम्म सामुहिक प्रयास गरिरहेका छौं ।’

राष्ट्रिय टिम प्रशिक्षणका लागि उपयुक्त प्रशिक्षणस्थल नपाएकोमा प्रशिक्षकको नेपाल क्रिकेट संघ (क्यान)सँग गुनासो पनि छ । ‘हामीले सानो मैदानमा अभ्यास गरिरहेका छौं, जुन पर्याप्त छैन । निकट भविष्यमा वैदेशिक प्रशिक्षणको व्यवस्था आशा छ,’ उनले पत्रकार सम्मेलनमा भने ।

सन्दीप लामिछानेलाई फौजदारी अभियोग लागेपछि यही शृंखलादेखि रोहितले नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान जिम्मेवारी पाएका हुन् ।

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?