
५ मंसिर, काठमाडौं । काठमाडौं-८ को तीन वटा वडाको मतगणनाको सुरुवाती परिणाम हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टी र हाम्रो नेपाली पार्टीबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।
सोमबार बिहान १० बजेदेखि डल्लुस्थित गीता माता विद्यालयमा भइरहेको गणनामा स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ र हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमी अघि–पछि देखिएका छन् । यो क्षेत्रमा अहिले काठमाडौं महानगरपालिकाको वडा नं. १३ र १९ को मतगणना जारी छ ।
श्रेष्ठ विवेकशील साझा पार्टीबाट निर्वाचन बागमती प्रदेशसभाका पूर्वसदस्य हन् । सायमी सडक विस्तार अभियानविरुद्ध आन्दोलन गरेर चर्चामा आएका अभियन्ता हुन् ।
साँझ साढे ५ बजेसम्मको विवरण लौरो चुनाव चिह्नका सायमीले १८ सय ५२ मत प्राप्त गरेका छन् भने घण्टी चिह्न बाहक विराजभक्तले १६ सय ७३ मत ल्याएका छन् ।
उनीहरुलाई पछ्याउँदै गरेका नेकपा एमालेका उम्मेदवार शिवसुन्दर राजवैद्यको ८५७ मत छ भने चौथो स्थानमा रहेका सत्ता गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका उम्मेदवार जीवनराम श्रेष्ठले ६७० मत ल्याएका छन् । श्रेष्ठ वर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री हुन् ।
अपराह्न साढे ३ मा निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार हाम्रो नेपाल पार्टीका सायमीले १३ सय ३७ र स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले एक हजार ९१ मत प्राप्त गरेका थिए । तेस्रोमा नेकपा एमाले र चौथोमा एकीकृत समाजवादी थियो ।
कार्यालयले योभन्दा अगाडि दुईपटक सार्वजनिक गरेको मतपरिणाममा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्तले अग्रता लिएका थिए । मध्याह्न १२ः३३ मा सार्वजनिक परिणाम अनुसार स्वतन्त्र पार्टीका उनको ६२१ मत थियो भने सायमीको ६०३ मत थियो ।
बिहान ११ः४९ मा सार्वजनिक मतपरिणाममा विराजभक्तको ६०७ मत थियो भने सायमीको ५९१ थियो । नेकपा एमालेको ३०५ र एकीकृत समाजवादीको २१३ मत थियो ।
वडा नं. १३ हाम्रो नेपाल पार्टीका सायमीको घर भएको क्षेत्र हो । कालीमाटी र बाफल पर्ने यो वडामा सायमीले लामो समयदेखि व्यवसाय गरिरहेका थिए । उनले सडक विस्तार अभियान पनि कालीमाटीबाटै सुरु गरेका थिए ।
स्थानीय तह निर्वाचनमा पनि काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिएका सायमीले यो वडाबाट उल्लेख्य मत प्राप्त गरेका थिए । विगतमा चाहिँ वडा नं. १३ लाई कम्युनिष्टको पकड भएको क्षेत्र भनिन्छ । गएको स्थानीय तह निर्वाचनमा वडामा एमालेका उम्मेदवार ध्रुवनारायण मानन्धर निर्वाचित भएका थिए ।
वडा नं. १९ र २४ दुवैमा स्थानीय तह निर्वाचनमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए । मतगणना हुन बाँकी वडा नं. १५ मा एकीकृत समाजवादी, २० मा कांग्रेस र २३ मा नेकपा एमालेले वडाध्यक्ष जितेको थियो ।
नागर्जुन नगरपालिका ४ कांग्रेस र ५ राप्रपाका उम्मेदवार वडाध्यक्षमा विजयी भएका थिए । तर, दलहरुका प्रतिनिधिहरुले यसपालि घण्टी र लौरोमा अप्रत्याशितरुपमा भोट देखिएको बताउँदै यसपालि विगतका संकेतहरुले त्यति धेरै सफल नहुने जस्तो देखिएको बताउँछन् ।
प्रतिक्रिया 4