+
+

माओवादीका बागीलाई मतदाताको अनुमोदन

रामकुमार डिसी रामकुमार डिसी
२०७९ मंसिर ७ गते २०:५२

७ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका सुरुल पुनमगर रुकुम पूर्वबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।

नेकपा एमालेको समर्थन पाएका उनले माओवादी केन्द्रका आधिकारिक उम्मेदवार तेजबहादुर वलीलाई ५३३ मत अन्तरले हराए । प्रदेश सभा १ बाट पुनमगरले ४ हजार ४६५ मत पाउँदा वलीले ३ हजार ९३२ मत पाए । प्रदेश सभा २ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका धनबहादुर केसी विजयी भए ।

काठमाडौंबाट प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव घोषणा भएपछि रुकुम पूर्वमा पनि माओवादी नेताहरु छलफलमा जुटे । छलफलमा सुरुल लगायतका स्थानीय नेताहरुले भूगोल, क्षेत्र र समुदाय समेतलाई ख्याल गरेर उम्मेदवार बनाउन नेतृत्वलाई सुझाए । त्यतिबेलासम्म सुरुलले आफ्नो दाबेदारी प्रस्तुत गरेका थिएनन् ।

यसअघिका प्रदेश सांसद रहिसकेका वली र अरु केही नेताले प्रदेश सभा क्षेत्र १ का लागि दाबी गरेका थिए । टिकट पनि वलीले नै पाए । त्यसप्रति असन्तुष्ट सुरुलले बागी उम्मेदवारी दिने निर्णय गरे ।

‘त्यो क्षेत्र, भूगोलको साथीहरुलाई टिकट नदिएर उहाँ (तेजबहादुर वली) नै दोहोरिएर आउनुभयो, त्यसपछि मैले बागी उम्मेदवारी दिएको थिएँ,’ चुनाव जितेपछि टेलिफोन सम्पर्कमा सुरुलले अनलाइनखबरसित भने ।

‘पार्टीभित्र हामीले त्यही क्षेत्र, भूगोल र समुदायको उम्मेदवार हुनुपर्छ भनेर आवाज उठाउँदै गर्दा हाम्रो नेतृत्वले जातीयता र क्षेत्रीयतावादीको आरोप लगायो’, सुरुल भन्छन्, ‘उनीहरुले पटक–पटक उठाउँदा नजातीय हुने, अधिकारका लागि निरन्तर लडेका साथीहरुले त्यो आवाज उठाउँदा जातीयताको आरोप लगाउने रवैया देखियो ।’

जिल्लाको तेस्रो शक्ति रहेको एमालेले आफ्ना उम्मेदवार तेजेन्द्र बुढामगरको उम्मेदवारी निष्क्रिय बनाएर सुरुललाई समर्थन जनायो । अनि उनले माओवादीभित्रकै असन्तुष्ट मतदाता र एमालेको समेत साथमा जित निकाले ।

माओवादीका एक जिल्ला नेताका अनुसार यसपटक तेजबहादुर वली नदोहोरिउन् र रुकुम पूर्वकै नेता उम्मेदवार बनुन् भन्ने मत स्थानीय माओवादी नेता कार्यकर्ताको थियो । तर, त्यसो नभई वलीलाई नै दोहोर्‍याएपछि माओवादीभित्रै असन्तुष्टि थियो, जसको लाभ सुरुलले उठाए ।

अर्कोतिर सुरुल आफैं माओवादी युद्धको एक जना कमाण्डर भएको र युद्धका बेला निकै दुःख पाएकाले पनि माओवादी मतदाताको सदभाव उनीतिर गएको देखिन्छ ।

जितको आधार

उनले आफ्नो जितमा दुई आधारलाई कारक मानेका छन् । उनका अनुसार पहिलो आधार पार्टीभित्र वर्षौंदेखि दुःख पाएकालाई माओवादीले न्याय गरेन भन्ने बुझाइ हो । ‘मैले पार्टीभित्रका ३० वर्षसम्म काम गरे,’ आफ्नो जितका कारण बताउँदै उनले भने, ‘पार्टीभित्र म लगायत हिजो जनमुक्ति सेनाका रुपमा लडेका थुप्र्रै साथीहरु हुनुहुन्छ । त्यस्ता मान्छेलाई माओवादीले न्याय गरेन, उनीहरुलाई हेर्नुपर्छ भन्ने यहाँका जनताको भावना हो ।’

दोस्रो आधार पटक–पटक एउटा मात्रै नेताले लाभ लिने प्रवृत्तिविरुद्ध जनता उभिएको पुनको भनाइ छ । ‘पार्टीभित्र जो टाठाबाठा हुँदै आए, उनीहरुले पटक–पटक आफूले मात्रै लाभ लिए,’ उनी भन्छन्, ‘यो प्रवृत्तिप्रति यहाँका जनसमुदाय सहमत हुन सकेनन् ।’

सुरुल प्रदेशसभा ‘१’ क्षेत्रको पुथाउत्तरगंगा क्षेत्रका हुन् भने वली प्रदेशसभा ‘२’ का । २ क्षेत्रमा यसपटक गठबन्धनबाट नेपाली कांग्रेसले टिकट पाएको थियो । त्यहाँ नेपाली कांग्रेसका धनबहादुर केसी उम्मेदवार रहेका थिए । उनले भने विजय हासिल गरेका छन् ।

सुरुल माओवादी युद्धमा सहभागी भए । तत्कालीन माओवादीको बिग्रेड सहायक कमाण्डर समेत रहेका उनी रुकुमको महत र सोलुखुम्बु सदरमुकामको आक्रमणमा घाइते भए । उनका साथीहरुले मर्यो भनेर छाडेर हिंडे । उनका नाममा श्रद्धाञ्जली सभा गरेर शहीदको सूचीमा नाम चढाए । तर, उनी बाँचे । पार्टीको सम्पर्कमा गएपछि आफैंले शहीदको सूचीमा लेखिइसकेको आफ्नो नाम कटाए ।

‘साथीहरुले जंगलमा छाडेर गइसकेपछि त्यहाँ पानी पाइने कुरा भएन,’ उनी सम्झन्छन्, ‘अन्तिम विकल्पका रुपमा बाँच्नका लागि आफ्नै पिसाबसमेत पिएँ ।’

माओवादी शान्ति प्रक्रियामा आएपछि उनी लडाकु शिविरमा गएर बसे । सेना समायोजनको क्रममा भने उनले स्वेच्छिक अवकास रोजे । त्यसपछि पार्टीकै गतिविधिमा जोडिए ।

माओवादीकै लागि रगत, पसिना बगाए पनि उनले आफ्नै नेताहरुबाट अन्यायको महसुस गरे । त्यसविरुद्ध विद्रोह गरे । र, एमालेको समेत साथ लिएर जिते ।

अबको उनको राजनीतिक बाटो कस्तो रहला त ? यो जिज्ञासामा उनले कुनै पार्टीमा नलाग्ने बताए । ‘म कुन पार्टीमा जाने भन्नेबारे अहिले सोचेको छैन,’ उनले भने, ‘कुनै पार्टीको बन्धनमा रहनुभन्दा पनि जनताको सेवामा लाग्छु । जनताले मत दिएर विजयी बनाए, जनताकै बन्धनमा रहेर काम गर्छु ।’

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?