+
+

देउवाले महेशलाई भनेका थिए, ‘पहिले दुर्लभलाई हराउनु’

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते १३:२७

काठमाडौं । एमाले अध्यक्ष केपी ओली भक्तपुर क्षेत्र नम्बर २ का मतदाता हुन् । यसपल्ट उनले भोट दिएका उम्मेदवार महेश बस्नेतले चुनाव हारे ।

तिनै बस्नेतलाई २०७८ को भदौमा भक्तपुरको सूर्यविनायकमा आयोजित कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले भनेका थिए, ‘यहाँ महेश बस्नेतजीले मलाई चुनाव हराउँछु भन्छन् । पहिले दुर्लभ थापालाई हराएर देखाउनुस् ।’

देउवाले उक्त अभिव्यक्ति दिनुको अर्थ त्यसको केही दिनअघि बस्नेतले आफ्नो निर्वाचन क्षेत्रमा लड्न आउनु भनी दिएको अभिव्यक्तिप्रति लक्षित थियो । सट्टामा देउवाले आफ्नो चुनौती तिनै दुर्लभ थापातिर पन्छाइदिएका थिए । बस्नेत भक्तपुर-२ मा तिनै दुर्लभसँग हारेका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीका ‘खास’ व्यक्तिका रुपमा बस्नेत चिनिन्छन् ।

भक्तपुर-२ का युवापुस्ताका उम्मेदवारले एकले अर्कालाई चुनावी सभामा खुइल्याउनसम्म खुइल्याएका थिए । युथ फोर्सको राजनीतिबाट प्रभाव विस्तार गरेका बस्नेत र दुई पटक भक्तपुरमा कांग्रेस सभापति बनेका दुर्लभ प्रतिनिधिसभाको प्रतिस्पर्धामा आमनेसामाने भएका थिए । बस्नेत पूर्वमन्त्री समेत भइसकेका व्यक्ति हुन् ।

दुर्लभका लागि भने यो संसदीय प्रतिस्पर्धा पहिलो हो । पहिलोपटक चुनावी अनुभव सँगाल्दै गर्दा दुर्लभले पूर्वनिर्वाचितलाई यसपटक हराइदिए । केन्द्रको प्रतिस्पर्धा गर्नुअघि बस्नेत एकपटक गाविस अध्यक्ष पनि बनेका थिए । यी दुवै उम्मेदवार सूर्यविनायकका हुन् । दुवै जना पार्टीको भ्रातृसंस्थाको राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका हुन् । दुर्लभ नेविसंघ हुँदै पार्टी भित्रको राजनीतिमा छिरेका हुन् ।

दुर्लभको जितमा सबैभन्दा महत्वपूर्ण पाटो गठबन्धनभित्र देखिएको इमान्दारी भएको भक्तपुरका कांग्रेसका नेताहरु बताउँछन् । एकीकृत समाजवादीको मत तान्नका लागि प्रदेशतर्फ २ का उम्मेदवारको साथ रह्यो । एकीकृत समाजवादीले भक्तपुर २ (२) मा राजेन्द्रमान श्रेष्ठलाई उम्मेदवार बनाएको थियो ।

स्थानीय तहको मत हेर्दा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चाको मत यस क्षेत्रमा दलको मत दुई हजार बढी थियो । ती मत सबै गठबन्धनका उम्मेदवार दुर्लभको पक्षमा खसे ।

स्थानीय तहको मतको आधारमा कांग्रेस यो क्षेत्रमा पहिलो दल बनेको थियो । कांग्रेसले २५ हजार ७६४ प्राप्त गरी पहिलो दल हुँदा एमालेले २४ हजार २८६ मत ल्याएको थियो । कांग्रेसलाई गत स्थानीय तहको मत र गठबन्धनको आड भरोसा थियो भने एमालेलाई २०७४ को जितको आड थियो । बस्नेतले २०७४ सालमा ३६ हजार ४१२ मत ल्याएर निर्वाचित भएका थिए । कांग्रेसका उम्मेदवार दमननाथ ढुङ्गानाले १८ हजार ६८७ मत ल्याएर फराकिलो अन्तरले हारेका थिए । बस्नेतले तत्कालीन समयमा पाएको फराकिलो अन्तरले यसपटक उनलाई साथ दिएन ।

निर्वाचित र पराजित दुवैमा एउटा समानता छ । एमाले अध्यक्ष ओलीको कट्टर समर्थक बस्नेत हुन् भने कांग्रेस सभापति देउवाको कट्टर पक्षधर दुर्लभ हुन् । संस्थापन पक्षका दुर्लभले दुईपटक जिल्लामा सभापति जितेका छन् । १४ औं महाधिवेशनका क्रममा दोस्रोपटक सभापतिमा निर्वाचित हुँदा दुर्लभले ५५५ मत पाएका थिए । जिल्ला सभापतिमा पराजित अष्टकुमार कँवेले ४४२ मत ल्याएका थिए ।

बिहीबार बिहान सकिएको मत गणनामा थापाले एमालेका महेश बस्नेतलाई ८२३ मतान्तरले हराए ।

सत्ता गठबन्धनका साझा उम्मेदवार थापाले २३ हजार ५०० मत पाए भने निकटतम प्रतिद्वन्द्वी बस्नेतले २२ हजार ६७७ मत पाए । नेमकिपाकी अनुराधा थापा मगरले ६ हजार ९५४, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ३ हजार ८२० र राप्रपाका मोहन केसीले २ हजार ४८६ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?