+
+

अधुरै रह्यो कीर्तिमानी जित निकाल्ने प्रचण्ड सपना

दिपेश शाही दिपेश शाही
२०७९ मंसिर ८ गते २१:३०

८ मंसिर, काठमाडौं । चुनावैपिच्छे निर्वाचन क्षेत्र फेर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको शैलीलाई समर्थकले गतिशीलता भन्छन् भने विरोधीले चुनाव जित्ने चालबाजी ।

तर लामो तयारी गरेको चितवन-३ छाडेर नजिकैको गोरखा-२ बाट चुनाव लड्ने प्रचण्डको यसपटकको चाहना भने भिन्न थियो । रोल्पा, काठमाडौं, सिरहा र चितवनबाट चुनाव लडिसकेका प्रचण्ड यसपटक कीर्तिमानी जित निकाल्ने चाहनामा थिए ।

बिहीबार सार्वजनिक मत परिणामअनुसार, प्रचण्डले क्षेत्र परिवर्तन गरेर चुनाव जितेको बाहेक गोरखाबाट त्यस्तो कुनै रेकर्ड बनेन ।

गोरखा-२ मा १ लाख ५ हजार २४० मतदातामध्ये ५४ हजार ३१ मत खसेको थियो । त्यसमा प्रचण्ड २६ हजार १ सय ९ मतसहित विजयी बनेका छन् । यो तथ्यांकअनुसार, प्रचण्डले १३ हजार ४७० मतको अन्तरले राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का उम्मेदवार कवीन्द्र बुर्लाकोटी पराजित गरे ।

प्रचण्डले जितको सुनिश्चितता र अनुकुलताका कारण रोजेको गोरखाबाट ठूलो मतान्तरले सहयात्री बाबुरामको रेकर्ड ब्रेक गर्ने लक्ष्य भेट्टाउन त सकेनन् नै, दुईपटक प्रधानमन्त्री भइसकेको व्यक्ति, देशको ठूला राजनीतिक दलको प्रमुख र आफ्नो क्षेत्रबाट चुनाव लड्न आएको ठूलो नेताप्रतिको गौरव महसुस गराएर मतदातालाई आकर्षित समेत गर्न सकेनन् ।

२०६४ सालमा यही क्षेत्रबाट डा. बाबुराम भट्टराईले खसेको मतको ८० प्रतिशत हासिल गरेर कीर्तिमान बनाएका थिए ।

अहिले त प्रचण्डले भन्दा घण्टी चिह्नबाट चुनाव लडेका रास्वपाका उम्मेदवार बुर्लाकोटीले प्राप्त गरेको मत कहाँ हो कहाँ उल्लेखनीय देखिन्छ । बुर्लाकोटीले १२ हजार ६ सय ३९ मत प्राप्त गरेका छन् । चुनावअघि निकै चर्चा कमाएका नेकपा एमालेका उम्मेदवार अब्दुस मियाँले पनि पार्टीको कमजोर संगठन भएको क्षेत्रबाट ७ हजार ३ सय ९५ मत प्राप्त गरेका छन् ।

स्थानीय चुनावमा गोरखा-२ का वडाअध्यक्षहरूले पाएको मतले पनि प्रचण्डलाई रेकर्ड बनाउने सपना देखाएको थियो । उक्त चुनावमा माओवादी केन्द्रका वडाअध्यक्षहरूले मात्रै २२ हजार २५० ल्याएका थिए । कांग्रेसका उम्मेदवारहरूले २१ हजार १३६ मत र जनता समाजवादी पार्टी (जसपा)ले ७ हजार ५०४ मत पाएका थिए ।

जसपाको मत बाबुरामको व्यक्तिगत प्रभावमा जाने हुनाले यो सबै मत प्रचण्डको पक्षमा थियो । यदि प्रचण्डले आकर्षण गरेको भए, उनले अहिले पाएको भन्दा राम्रो मत बटुल्न सक्थे ।

बरु, एमालेका वडाध्यक्षहरूले स्थानीय तहमा प्राप्त मत प्रतिनिधिसभाका उम्मेदवार मियाँले धेरै घट्न दिएनन् । यो क्षेत्रमा एमालेका वडाध्यक्षहरुले ७ हजार ९२६ मत प्राप्त गरेका थिए ।

अनुकुलता खोज्दै रोजेको गोरखा

आजको प्रचण्ड बन्नुभन्दा अघि करिब ४६ वर्ष पहिले उनले गोरखालाई कर्मथलो बनाएका थिए । कृषिमा स्नातक गरेपछि गोरखाको आरुघाटस्थित भीमोदय माविमा शिक्षक बन्न पुगेका प्रचण्ड विज्ञान, गणित र अंग्रेजीका शिक्षक थिए ।

शिक्षणसँगै राजनीतिक अभियानका लागि स्थानीयलाई कम्पोष्ट मल बनाउन र चर्पी प्रयोग गर्न सिकाइ हिंड्ने प्रचण्डलाई आफू मुलुकको दुई पटक प्रधानमन्त्री बनिसकेपछि चुनाव जित्नैका लागि पुनः यही भूगोलमा फर्कनुपर्छ भन्ने सायदै लागेको थियो होला । तर, जीवनमा पराजयसँग भागेपछि नसोचेकै ठाउँमा पुगिन्छ । उनी पनि यही सेरोफेरोमा यसपटक गोरखा पुगे ।

कसैले नसोधे पनि पटकपटक ‘चितवनबाट चुनाव लड्छु’ भनेर घोषणा गरिहिँड्ने प्रचण्ड गोरखा पुग्नुका पछाडि एउटा त्रासले काम गरेको थियो । छोरी भरतपुर महानगरमा दोस्रोपटक मेयर हुँदा र संगठनको हैसियत ठीकठाक हुँदाहुँदै पनि चुनाव जित्न सकिन्छ भन्ने आत्मविश्वास नहुनु ।

त्यो आत्मविश्वास गुमेको पनि कोही ‘भेट्रान’ राजनीतिज्ञका कारण होइन, टेलिभिजनमा कार्यक्रम चलाएर नयाँ दल खोलेको पाँच महिना पुगेका रवि लामिछानेका कारण थियो ।

उनलाई सहजीकरण गर्न आइपुगेका थिए, उनका पुराना सहयात्री बाबुराम भट्टराई । आफू निरन्तर चुनाव जित्दै आए पनि यसपटक बाबुरामले आफू अब चुनाव नलड्ने र देशको आवश्यकता भएकाले प्रचण्ड आफ्नो क्षेत्रबाट चुनाव लड्ने भनेर घोषणा गरे ।

त्यसपछि प्रफुल्ल भएका प्रचण्ड गोरखा पुगेर ‘रिल्याक्स’ गर्ने तयारीमा लागे । ‘गोरखा आउन पाएकोमा एकदमै खुसी छु, गौरवान्वित छु,’ १३ कात्तिकमा आफ्नो नयाँ निर्वाचन क्षेत्र अजिरकोटको भच्चेकमा आयोजित चुनावी कार्यक्रममा प्रचण्डले भनेका थिए, ‘अहिलेसम्मका निर्वाचनमध्ये मेरो लागि सबैभन्दा सहज यही हो, यहाँ आउँदा एक ढंगले ‘रिल्याक्स’मा छु ।’

उनका लागि उतारचढावपूर्ण सम्बन्धमा रहने बाबुरामको सदासयता, पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजीको गृहजिल्ला र उनको साथ अनि भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीले ११ मध्ये ९ वटाको प्रमुख जितेको चुनावी परिणामले उत्साहित बनाएको थियो ।

यससँगै सत्ता गठबन्धनमा आफ्नो पार्टीपछिको बलियो दल कांग्रेससँगको सहकार्यले रेकर्ड बनाउने सपना देख्नु कुनै नौलो कुरा थिएन । तर त्यही पनि साकार हुन सकेन ।

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?