+
+

राप्रपासँग तालमेल गरेको भए जित्नसक्थे शंकर पोखरेल

आभास बुढाथोकी आभास बुढाथोकी
२०७९ मंसिर ८ गते २२:५१

८ मंसिर, दाङ । सत्तारूढ गठबन्धन एकताबद्ध हुँदा नेकपा एमालेका महासचिव शंकर पोखरेलले झिनो अन्तरले पराजित हुनु परेको छ । नेकपा माओवादी केन्द्रकी रेखा शर्मासँग १९६ मतले पराजित हुँदा शंकरले २६ हजार ६८१ मत ल्याए ।

२१ वर्षपछि दाङ–२ बाट जितेर संघीय संसद छिर्ने शंकरको चाहना तोडेर आफ्नै इतिहास बनाउन रेखाले भने २६ हजार ८७७ मत ल्याइन् । रेखाको जितमा पपुलर मतभन्दा बढी गठबन्धनको इमान्दारिता देखिन्छ । किनकि गत स्थानीय चुनावमा गठबन्धनले पाएको नतिजा कायम रहँदा रेखाले जित्ने संभावना बढी थियो ।

वडाध्यक्षका उम्मेदवारहरुले पाएको मतले एमाले पहिलो शक्ति थियो । तर सत्ता गठबन्धनमा रहेका दलहरुले ल्याएको मत जोड्दा ३६ हजार ७८० हुन्थ्यो । जुन एमालेले पाएको ३३ हजार ५९३ भन्दा बढी थियो ।

यद्यपि एमाले एक्लैले चुनाव जित्ने चुनौती दिइरहेका शंकरमा गठबन्धनकै मत तानेर जित्ने आत्मविश्वास थियो । राजधानी दाङ लगेको, माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा प्रतिस्पर्धाबाट अलग भएको र आफैं पनि एमाले महासचिव भएकाले उनको त्यो आत्मविश्वास स्वभाविक नै थियो ।

अर्कातिर स्थानीय चुनावमा घोराही उपमहानगर पालिकाको नेतृत्व एमालेले जितेकाले शंकरमा थप आत्मबल बढेको हुनसक्छ । त्यसैले उनी चुनावी अभियानमा क्रममा पनि नेपाली कांग्रेसका कार्यकर्तासँग भेटघाट बढाए । तर मतगणनाको शुरूबाटै पछाडि परेका शंकरले नतिजा आफ्नो पक्षमा पार्न सकेनन् ।

गठबन्धनभित्र इमानदारिता भएकैले एमाले महासचिव शंकरलाई हराउन सकेको गठबन्धनका नेताहरुले बताएका छन् । ‘स्थानीय चुनावको नतिजाबाट हामीले पाठ सिकेका थियौं, त्यसैले एकताबद्ध भयौं’, कांग्रेसका एक नेता भन्छन् ।

तालमेल भए शंकरले जित्थे !

सत्ता गठबन्धनका दलहरू मिलेकाले शंकरलाई हराउन सफल हुँदा एमालेले केही जिल्लामा तालमेल भएको राप्रपाको समेत मत पाउन सकेन । अध्यक्ष केपी शर्मा ओलीको जिल्ला झापा, उपाध्यक्ष विष्णुप्रसाद पौडेलको जिल्ला रुपन्देही र बाँकेमा राप्रपासँग तालमेल गरेको एमाले दाङमा एक्लै लडेको थियो ।

यदि राप्रपासँग तालमेल हुँदा शंकरले जित्ने संभावना रहने चुनावी नतिजाले पनि देखिन्छ । शंकरले १९६ मतले पराजित हुँदा राप्रपाका उम्मेदवार भोलानाथ योगीले २ हजार २७३ मत ल्याए । यो मतले राप्रपाको जमानत समेत जोगिँदैन ।

राप्रपाका नेताहरु पनि एमालेले प्रस्ताव गर्दा आफूहरुबाट अस्वीकार हुने अवस्था नरहेको बताउँछन् । तर एमालेबाट त्यस्तो कुनै प्रस्ताव नआएको राप्रपाका जिल्ला अध्यक्ष क्षेत्रबहादुर बस्नेत बताउँछन् । ‘चुनावी तालमेलबारे उहाँहरुले (एमाले) चासो देखाउनु भएन । हामीले पनि खोज्दै गएनौं’ बस्नेत भन्छन् ।

राप्रपासँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पपुलर मत काटेकाले पनि शंकरको नतिजा प्रभावित हुन पुग्यो । घण्टी चिह्न भएको रास्वपाबाट उम्मेदवारी दिएका ईञ्जिनियर विशाल अधिकारीले १५ हजार ८८५ मत ल्याएका छन् । बिना संगठनले अधिकारीले पाएको यो मत गैरदलीय र स्वतन्त्र रहेको अनुमान लगाउन सकिन्छ ।

एमाले नेताहरुले चुनाव अगाडि कांग्रेसको चिन्ह रुख नभएकाले घण्टीले काट्ने मतले शंकरलाई लाभ हुने विश्लेषण गरेका थिए । तर घण्टीले गठबन्धनको भन्दा धेरै मत एमालेको काट्यो ।

जस्तो– दाङ–२ को ‘ख’ क्षेत्रबाट घण्टीले धेरै मत पायो । यो क्षेत्रमा कांग्रेस भन्दा एमालेको राम्रो मत छ । तर माओवादीको प्रभाव रहेको बंगलाचुली गाउँपालिकाबाट घण्टीले तुलनात्मक कम मत ल्यायो । जसको लाभ रेखालाई भयो ।

दाङले दिएको चोट

एमाले महासचिव पोखरेललाई यो निर्वाचन जित्नैपर्ने दबाव थियो । किनकि प्रतिकुल अवस्थामा पनि जितेर उनी पार्टी प्रमुख र मुलुककै नेतृत्वको उत्ताधिकारी रहेको सन्देश दिन चाहन्थे । तर पार्टीभित्र सधैं संरक्षण पाएर बढुवा हुने गरेका पोखरेलले जनताबाट अनुमोदित हुन सक्दैनन् भन्ने आरोप समेत चिर्न सकेनन् ।

पोखरेलले आफ्नो राजनीतिक करिअरमा यहाँबाट दुई पटक मात्र चुनाव जितेका छन् । २०५१ मा प्रतिनिधिसभा सदस्य जितेका पोखरेलले २०७४ मा प्रदेशसभा सदस्य जितेका थिए । त्यसबाहेक अरु चुनाव जित्न सकेका छैनन् ।

पोखरेल ०५६ मा दाङ–२ बाट कांग्रेसका कृष्णकुमार घिमिरेसँग पराजित भएका थिए । ०६४ मा उनी चुनाव नै लडेनन् । मुलुकले मिश्रित निर्वाचन प्रणाली अनाएको लाभ उठाउँदै समानुपातिकतर्फ बसेर सभासद भए । त्यही कार्यकालमा उनी सञ्चार मन्त्री भए ।

०७० मा उनी फेरि यही क्षेत्रबाट पराजित भए । कांग्रेसका बुद्धिराम भण्डारीले पोखरेललाई हराएका थिए । ०७४ मा भने माओवादी केन्द्रसँग एमालेको तालमेल हुँदा पोखरेल प्रदेशसभा सदस्य जिते । पोखरेललाई मुख्यमन्त्री बनाउनकै निम्ति लुम्बिनी प्रदेश एमालेको भागमा पारिएको थियो ।

तर तत्कालीन नेकपाको एकता नजोगिदा पोखरेलले पूरा कार्यकाल मुख्यमन्त्री चलाउन पाएनन् । उल्टै पद जोगिनका निम्ति प्रदेशसभा सदस्य ‘अपहरण गरेको देखि प्रदेश प्रमुखलाई आफ्नै कार्यकक्षमा ल्याएर शपथ’ लिनेसम्म गरेको आरोप लाग्यो । तर पुनस्थार्पित एमालेमा उनले महासचिव बन्ने अवसर पाए । पार्टी महासचिवको हैसियतमा उम्मेदवार बनेका चुनाव जित्दै संसदीय र राजनीतिक मोर्चामा प्रभाव बढाउने पोखरेलको चाहना पूरा हुन सकेन ।

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?