+
+

नयाँ शक्तिहरूको उदयले स्थायित्वमा चुनौती थपियो : शंकर पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ९ गते १५:५१

९ मंसिर, दाङ । दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित नेकपा एमालेका महासचिव शंकर पोखरेलले चुनावबाट नयाँ शक्तिको उदयले मुलुकको स्थायित्वमा चुनौती थपेको बताएका छन् ।

शुक्रबार नेकपा एमाले दाङले गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले असन्तुष्टि र आक्रोशका रूपमा प्रकट भएको यो जनमतले राजनीतिक स्थायित्व थप संकटमा परेको बताएका हुन् ।

‘नयाँ शक्तिहरूको उदय असन्तुष्टि र आक्रोशका रूपमा प्रकट भएको छ। त्यसले मुलुकको राजनीतिलाई स्थायित्वतर्फ लैजाने कुरामा नयाँ प्रकारको चुनौती पैदा भएको छ,’ उनले भने, ‘हामीले विकास र समृद्धिका लागि धेरै राजनीतिक दलहरू होइन बलिया राजनीतिक शक्तिको आवश्यकता पर्छ भनेका थियौँ ।’

यद्यपि, नेपालका प्रमुख दलहरू नेकपा एमाले र नेपाली कांग्रेस हुन् भन्ने कुराको सच्याइलाई परिणामले उजागर गरेको छ ।’ उनले त्यसका लागि नयाँ शिराबाट प्रयास गर्नुपर्ने अवस्था र आवश्यकता देखिएको बताए । उनले नेकपा एमालेले मुलुकलाई स्थायित्वतर्फ लैजान गरेको प्रयास जनादेशका दृष्टिकोणले असफल भएको बताए ।

उनले नयाँ शक्तिहरू उदयलाई संकटका रूपमा चित्रित गर्दै राजनीतिक दलहरूले यसबाट मुलुकलाई बाहिर निकाल्न ध्यान दिनुपर्ने आवश्यक्ता औंल्याए ।

‘आज मुलुकले जुन प्रकारको संकट बेहोरिरहेको छ एउटा लामो कठिन संघर्षबाट सही बाटोमा अघि बढाउन सक्छौँ,’ उनले भने, ‘त्यस अर्थमा नेपालका राजनीतिक दलहरूलाई स्वभाविक रूपमा यो चुनौतीलाई जिम्मेवारीका रूपमा बोध गर्दै, मुलुकलाई स्थायित्वको दिशातर्फ लैजान पर्ने आवश्यकता ध्यान दिन अनुरोध गर्न चाहन्छु ।’

जनता निराश हुँदा विकल्पहरू आउने भन्दा पनि लोकतन्त्र संकट पर्न सक्ने कुरालाई सबै दलले बुझ्नुपर्ने बताए ।

सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मासँग पराजित भएका पोखरेलले आफू राजकीय जिम्मेवारीबाट बाहिर रहनु परेको परिस्थितिलाई एमाले महासचविको हिसाबले मुलुकको राजनीतिलाई सही दिशा प्रदान गर्ने एउटा अवसरका रूपमा लिएको बताए ।

उनले सरकार गठनका लागि एमालेले मात्रै नभएर सत्ता गठबन्धनले पनि ‘म्याण्डेट’ प्राप्त गर्न नसकेको बताए ।

‘सरकारी कसरी गठन गर्ने भन्ने प्रश्न यस्तो अवस्थमा राजनीतिक दलका सामू उत्पन्न भएको नयाँ परिस्थिति हो । सकेसम्म एजेन्डामा आधारित सरकार बनोस् भन्ने कुरामा हाम्रो जोड रहनेछ । स्वार्थमा होइन, नीति र एजेन्डामा आधारित सरकार बन्न सकोस् र अहिलेको समस्याबाट समाधान निकाल्न सकोस्,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?