+
+

मधेशमा प्रदेशसभाको ठूलो दल बन्दै एमाले

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०७९ मंसिर ९ गते १९:१५
बाराबाट प्रदेशसभामा निर्वाचित एमालेका त्रिलोकीप्रसाद चौधरी

९ मंसिर, जनकपुरधाम । नेकपा एमाले मधेश प्रदेशसभाको ठूलो दल बनेको छ । मधेशका आठ जिल्लाका ६४ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये हालसम्म ५९ क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । ५ वटा क्षेत्रको मतगणना जारी छ ।

परिणाम आएका ५९ क्षेत्रमध्ये १३ वटा क्षेत्र एमालेले जितेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले १०–१० सिट जितेका छन् । चौथोमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ७ सिट र पाँचौंमा रहेको जनमत पार्टीले ६ क्षेत्र जितेको छ ।

त्यस्तै ६ वटा क्षेत्र स्वतन्त्र उम्मेदवारले जितेका छन् भने ४ क्षेत्र नेकपा माओवादी केन्द्र र ३ सिट नेकपा एकीकृत समाजवादीले जितेको छ ।

२०७४ मा स्पष्ट बहुमतसहित सरकार बनाएका मधेश केन्द्रित दलले यसपटक बहुमत पुर्‍याउने सम्भावना कम छ । प्रत्यक्षमा जसपा, लोसपा र जनमत पार्टीले पाएको सिट संख्या २३ रहेको छ । यो प्रदेशमा एमाले, कांग्रेस वा जसपाले अन्य दल र स्वतन्त्र उम्मेदवारलाई समेटेर आफ्नो नेतृत्वमा सरकार बनाउन सक्ने सम्भावना प्रवल देखिन्छ ।

परिणाम आउन बाँकी ५ क्षेत्रमध्ये दुईवटामा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन् । १–१ क्षेत्रमा कांग्रेस र लोसपा उम्मेदवारले अग्रता लिइरहेको छ । एउटाको मतगणना सुरु हुँदैछ ।

मधेशमा प्रत्यक्ष ६४ र ४३ समानुपातिक सांसदसहित १०७ सिट रहेको छ । समानुपातिकको मतगणना जारी छ । मधेश प्रदेशसभामा समानुपातिकतर्फ कांग्रेस अगाडि छ भने एमाले दोस्रो स्थानमा छ । कांग्रेसले हालसम्म १ लाख ६ हजार १५, नेकपा एमालेले ८१ हजार ६४ मत पाएको छ ।

तेस्रो स्थानमा रहेको जसपाले ७० हजार ७२६, चौथोमा रहेको जनमत पार्टीले ५३ हजार १६, पाँचौंमा रहेको माओवादी केन्द्रले ३८ हजार ५४२, लोसपाले २७ हजार ६११, राप्रपाले २२ हजार १९ र नेकपा एकीकृत समाजवादीले १३ हजार ३१३ मत पाएका छन् ।

२०७४ को प्रदेशसभा निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम २९ सिटसहित पहिलो, राष्ट्रिय जनता पार्टी २५ सिटसहित दोस्रो र नेकपा एमाले २३ सिटसहित तेसो स्थानमा थियो ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?