+
+

संसारकै महंगो औषधि, जसको एक डोजको मूल्य नै ५० करोड रुपैयाँ

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ११ गते १६:५४

अमेरिकाको संघीय खाद्य तथा औषधि प्रशासन (एफडीए)ले विश्वको सबैभन्दा महंगो औषधिलाई स्वीकृति दिएको छ ।

यो औषधि यतिधेरै महंगो छ कि यसको एक खुराक मात्रलाई ३५ लाख अमेरिकी डलर वा झण्डै ५० करोड रुपैयाँ पर्छ । यो औषधि एउटा निकै दुर्लभ जेनेटिक रोग हेमोफिलिया बीको उपचारमा प्रयोग गरिन्छ । हेमोफिलिया यस्तो वंशाणुगत रोग हो जसका कारण मानिसको शरीरमा चोटपटक लाग्दा घाउबाट रगत बग्न रोकिंदैन ।

वैज्ञानिकहरुका अनुसार यो औषधिले जुन प्रकारबाट उपचार गरिन्छ, त्यसको आधारमा यसको मूल्य उपयुक्त छ । यो औषधिको विकासमा धेरै मेहेनत र खर्च भएको बताइन्छ । संसारकै सबैभन्दा महंगो यो औषधिको नाम हेमजेनिक्स हो ।

तथ्यांक अनुसार विश्वमा महिलाको तुलनामा पुरुषहरु हेमोफिलिया बीबाट पीडित छन् । अमेरिकामा पनि करिब आठ हजार पुरुष यो रोगसँग संघर्ष गरिरहेका छन् । यो रोगको उपचारमा युरोप र अमेरिकामा सरकारले प्रतिव्यक्ति करोडौं खर्च गर्नु परिरहेको छ ।  हेमजेनिक्स औषधिको एक डोज दिएपछि यो रोग निको हुन्छ । त्यसैले एक खुराक मात्रैको झण्डै आधा अर्ब पर्ने भए पनि हेमोफिलिया बीको उपचारमा विद्यमान पद्धतिभन्दा यो औषधिमा लाग्ने खर्च सस्तो पर्ने बताइन्छ ।

हेमजेनिक्स औषधि बिरामीमा सुइबाट दिनुपर्छ । यो एक भाइरसमा आधारित भेक्टर हो । यसले कलेजोका टार्गेट कोषिकामा विशेष रुपमा संरक्षित डीएनए पठाउँछ । त्यसपछि औषधिको माध्यमबाट पठाइएको जेनेटिक सूचनालाई कोषिकाहरुले प्रसार गर्दै त्यसलाई रगत जमाउने प्रोटिनसम्म पुर्‍याउँछन् । जसका कारण क्लटिङ प्रोटिनले राम्रोसँग काम गर्छ र काटेको ठाउँबाट समयमै रगत बग्नबाट रोकिन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?