
१२ मंसिर, काठमाडौं । अमेरिकी कलाकार अलेहान्द्रो पोली जुनियर ‘म्यान वन’ले नेपालमा सडक कला प्रदर्शनी गर्ने भएका छन् ।
कलाकार अलेहान्द्रो अल्पसङ्ख्यक र सामाजिक रूपमा बहिष्कृत समुदायहरूको आवाजको प्रवर्द्धन र सम्मानमा आयोजना गरिएको बाह्र दिने कार्यक्रममा सहभागी हुने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।
अमेरिकास्थित क्यालिफोर्निया राज्यको लस एन्जलसबाट आएका म्यान वनले नेपाली कला समूह आर्टुडियोसँगको सहकार्यमा काठमाडौँ र जनकपुरका स्थानीय कलाकारहरूसँग सहकार्य गरी नेपालको जीवन्त बहुसांस्कृतिक समाजलाई कलाको माध्यमबाट प्रदर्शन गर्न सडक कला परियोजना आयोजना गर्नेछन् ।
नेपाली म्युरल (भित्ते चित्र) चित्रकार, ग्राफिटी (भित्ते लेखन) कलाकार, लोक र परम्परागत कलाका कलाकार तथा सर्जकहरूको समूहले १२ मङ्सिरमा एक प्रत्यक्ष कला कार्यशालामा भाग लिनेछ । अर्को हप्ता, नेपाली कलाकारहरूले अल्पसङ्ख्यकको समावेशिताको परिकल्पना समेटिएको अन्तिम चरणको भित्ते चित्र डिजाइनमा म्यान वनसँग संयुक्त रूपमा काम गर्नेछन् । यस्तै २३ मङ्सिरमा एक वृहत आकारको पुर्ण भित्ते चित्र सार्वजनिक गरिने अमेरिकी दूतावासले जनाएको छ।
कलाको दूतका रूपमा नेपाल रहँदा म्यान वनले सामाजिक समावेशिता र समताका विषयहरूमा अन्तरक्रियात्मक कार्यक्रमहरूमा भाग लिनेछन् । साथै उनले उनको आफ्नै काम र “विरोध कला” (प्रोटेस्ट आर्ट) को रूपमा भित्ते चित्रको इतिहासका विषयमा पनि कुरा राख्नेछन्।
उनीसँग नेपाली कलाकारहरू बिशाल मानन्धर, ईशान राई, खेम बहादुर पाल्पाली, किरण महर्जन, कोमल पुर्वे, मनिषा शाह, सरिता मण्डल, सुचिन श्रेष्ठ, सुदीप बल्ला र त्सेटेन शेर्पा सहभागी हुनेछन् ।
उक्त समूहले १३ मङ्सिर बिहान पौने ११ बजे पाटन ढोका ललितपुरमा रहेको यलमाया केन्द्र काठमाडौँ विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, ललितकला र सिर्जना कलेजका विद्यार्थीहरूसँग ‘सामाजिक परिवर्तनका लागि ग्राफिटी कला’ विषयमा अन्तरक्रिया गर्नेछ ।
यस्तै १४ख मङ्सिर अपराह्न पौने १ बजे राष्ट्रिय सङ्ग्रहालय छाउनीमा कलाकार, सरोकारवाला र मिडियासँग भित्तेचित्र : “विरोध कला” र सामाजिक-सांस्कृतिक अभ्यास विषयमा अन्तरक्रिया गर्नेछ । त्यसमा नेपाल र अमेरिकाका केही उदाहरणहरू समेत प्रस्तुत गरिनेछन् । त्यसपछि २३ मङ्सिर अपराह्न पौने ३ बजे भित्ते चित्र सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।
प्रतिक्रिया 4