+
+

विश्वकपः खेलअघि इरानलाई चिढ्याउँदै अमेरिकी फुटबल महासंघ

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १३ गते १५:३०

१३ मंसिर, काठमाडौं । मंगलबार राती फिफा विश्वकपको समूह बी मा रहेका अमेरिका र इरानबीच प्रतिस्पर्धा हुँदैछ । यो खेलअघि इरान र अमेरिकाबीच लामो समयदेखि जारी शीतयुद्धको असरसमेत देखिएको छ ।

अमेरिकी फुटबल महासंघले इरानलाई चिढ्याउँदै आफ्नो सामाजिक सन्जालमा गरेको ग्राफिक पोष्टमा इरानको झण्डामा इस्लामिक गणराज्यको प्रतीक चिह्न हटाइदिएको थियो । इरानमा भइरहेको विरोधमा प्रदर्शनकारीको साथमा रहेको सन्देश दिन आफूले यो कदम उठाएको उसको भनाई छ ।

इरान सरकारले आफ्नो राष्ट्रिय झण्डामा भगवानको नाम हटाएको आरोपसहित आक्रोश व्यक्त गरिसकेको छ ।

अमेरिकी फुटबलले आइतबार विहान एक बक्तव्य जारी गर्दै इरानमा मानवअधिकारका लागि लडिरहेका महिलाको समर्थनका लागि सामाजिक सन्जालमा आधिकारिक झण्डा प्रयोग नगर्ने निर्णय भएको जनाएको थियो । अमेरिकी पुरुष फुटबल टिमको आधिकारिक ट्वीटर ह्याण्डलमा पोष्ट गरिएको समूह चरणका टिमहरुको ग्राफिक ब्यानरमा इरानको राष्ट्रिय झण्डामा केवल हरियो, रातो र सेतो रंगको प्रयोग गरिएको थियो । उनीहरुले आफ्नो फेसबुक र इन्स्टाग्राम एकाउण्डमा पनि त्यही ब्यानर पोष्ट गरेका थिए ।

तर, आइतबार दिउँसो नै सामान्य झण्डासहितको व्यानर ‘रिप्लेस’ गरियो । महासंघले भन्यो, ‘हामी २४ घण्टाका लागि आफ्नो ग्राफिकका साथ इरानका महिलाहरुका लागि समर्थन दिन चाहन्थ्यौं ।’

अमेरिकी राष्ट्रिय टोलीका डिफेण्डर वाल्कर जिम्मरम्यानले टिमका सबै खेलाडीहरु सो पोष्टबारे जानकार रहेको बताए । ‘हामीलाई पोष्टको बारेमा केहि थाहा छैन तर, हामी सधैं महिला अधिकारका पक्षमा छौं,’ जिम्मरम्यानले भने, ‘हामी मंगलबारको खेलका लागि केन्द्रित छौं ।’

द गार्जियनका अनुसार अमेरिकी फुटबल महासंघको यो हर्कतका विरुद्धमा इरान फुटबल महासंघले त्यसबारे फिफाको इथिक्स कमिटीमा उजुरी गरेको छ र अफिसियललाई प्रतिबन्ध लगाउन माग गरेको छ ।

‘फिफा नियमको धारा १३ अनुसार कुनै पनि व्यक्तिले कुनै देश, कुनै व्यक्ति या समूहको गरिमा, अखण्डतामा ठेस पुर्याएमा कम्तिमा १० खेलको प्रतिबन्ध वा एक निश्चित अवधि वा कुनै अन्य उचित अनुशासनको कारबाहीस्वरुप निलम्बन गर्न सक्नेछ,’ इरान फुटबल महासंघका एक कानूनी सल्लाहकारले इरानको तस्निम समाचार एजेन्सीसँग भने ।

हालै २२ वर्षीया महसा अमिनीको मृत्युपछि इरानमा विरोध प्रदर्शन र राजनीतिक मुद्दा चरम विन्दूमा पुगेको छ । मानवअधिकारकर्मीका अनुसार इरानमा भएको विरोध प्रदर्शनपछि सरकार धरपकडमा कम्तिमा ४५० जनाको मृत्यु भइसकेको छ भने १८ हजारभन्दा बढीलाई गिरफ्तार गरिएको छ ।

इरानका फुटबल खेलाडीले देशमा भइरहेको प्रदर्शनको समर्थन गर्दै विश्वकपको यसअघिका दुई खेलमा राष्ट्रिय गान गाउन अस्वीकार गरेका थिए ।

फक्स स्पोर्टसबाट अनुदित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?