
१३ मंसिर, काठमाडौं । आगामी डिसेम्बर ४ देखि १७ (मंसिर ५ देखि १९ सम्म) भारतमा आयोजना हुने नेत्रहीन टी-२० विश्वकप क्रिकेटमा नेपालले पहिलो खेल भारतसँग खेल्ने भएको छ ।
क्रिकेट एसोसिएसन फर ब्लाइन्ड इन इन्डियाले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले डिसेम्बर ६ मा पहिलो खेल खेल्नेछ । उक्त खेल हरियानास्थित फरियावादमा हुनेछ ।
नेत्रहीन टी-२० विश्वकपमा नेपाल र भारतसँगै अष्ट्रेलिया, दक्षिण अफ्रिका, पाकिस्तान, श्रीलंका र बंगलादेश गरी कूल ७ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।
उद्घाटन खेलअघि डिसेम्बर ५ मा दिल्लीको गुरगाउँमा विश्वकपको उद्घाटन हुनेछ भने फाइनल डिसेम्बर १७ मा बेंगलोरमा हुनेछ ।
सिंगल राउण्ड रोविनको आधारमा हुने प्रतियोगितामा शीर्ष चार टोली सेमिफाइनल प्रवेश गर्नेछन् । जहाँ लिगको शीर्ष स्थानमा रहने टिम र चौथो हुने टिमबीच पहिलो सेमिफाइनल हुनेछ भने दोस्रो र तेस्रो हुने टिमबीच दोस्रो सेमिफाइनल खेल हुनेछ ।
नेपाल नेत्रहीन क्रिकेट संघले यसअघि विश्वकपमा लागि खिमानन्द गैरेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिसकेको छ ।
नेत्रहीन टी-२० विश्वकपमा सहभागि हुन १५ खेलाडीसहित २० सदस्यीय नेपाली टोली आउने आइतबार भारत प्रस्थान गर्नेछ ।
नेपालले यसअघि भएको २०१२ र २०१७ मा नेत्रहीन टी-२० विश्वकप खेलिसकेको छ भने २०१८ मा नेत्रहीन एकदिवसीय विश्वकप समेत खेलेको थियो ।
तेस्रो पटक हुन लागेको नेत्रहीन टी-२० विश्वकपको ब्राण्ड एम्बासडरमा भारतीय क्रिकेट टिमका पुर्व अलराउण्डर युवराज सिंह छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4