+
+

अर्थतन्त्रमा बहुआयामिक समस्या छ, मौद्रिक नीति समीक्षाले सम्बोधन गर्न सकेन : महासंघ

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १३ गते १८:१०

१३ मंसिर, काठमाठडौं । नेपाल उद्योग वाणिज्य महासंघले अर्थतन्त्रमा बहुआयामिक असरका कारण अर्थतन्त्र गम्भीर संकटमा रहेको बताएको छ । मंगलबार महासंघले आयोजना गरेको पत्रकार सम्मेलन अध्यक्ष शेखर गोल्छाले राजस्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्थामा सरकार पुगेको बताए । मूल्यवृद्धि ६ वर्षयताकै उच्च हुनु, निजी क्षेत्र संकुचित हुँदै जानु र बहुप्रतिक्षित चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाले पनि विद्यमान समस्या सम्बोधन नसक्दा अर्थतन्त्रमा गम्भीर संकटमा जाने अवस्था आएको चेतावनी दिए ।

‘मुद्रास्फिति ८.५ प्रतिशत पुगेको छ । केन्द्रीय बैंकको तथ्यांकभन्दा वास्तविक मूल्यवृद्धि बढी हुने गरेको छ । वास्तविक मूल्यवृद्धि दोहोरो अंकमा हुनुपर्छ । यसले सर्वसाधारणको क्रयशक्ति घटाउदै लगेको छ,’ अध्यक्ष गोल्छाले भने, ‘बाह्य क्षेत्र सन्तुलन मिलाउनका लागि ब्याजदर बढाउनुका साथै अप्रत्यक्ष एवं प्रत्यक्ष आयात नियन्त्रण गरिएको छ । आयात रोकिंदा अटोमोबाइल बाहेक अन्य सामान भन्सार छलेर आइरहेकै छ । ब्याजदर बढाउदा पनि निक्षेप संकलन बढेको छैन् ।’

एक वर्षयता साधारण बचतको ब्याजदर झण्डै दोब्बर बढेको र मुद्दतिको ब्याजदर करिब ५० प्रतिशत वृद्धि हुँदापनि निक्षेप संकलन भने ८ प्रतिशत हाराहारीमात्रै वृद्धि भएको अध्यक्ष गोल्छाले बताए । निक्षेपको ब्याजका कारण अन्य उपलब्धि नभई कर्जाको मात्रै ब्याज बढ्दा उद्यमी व्यवसायी प्रभावित छन् । बजारलाई नियन्त्रण गर्न सुरु भएको करिब एक वर्षको अवधिमा बहुआयामिक जोखिम बढेको हुँदा सरकार एवं केन्द्रीय बैंकले अर्थतन्त्र जोगाउन गम्भीर नभए दुर्घटना हुने चेतावनी अध्यक्ष गोल्छाले दिए ।

‘महासंघको सर्वेक्षण अनुसार निर्माण क्षेत्र अन्तर्गत सिमेन्ट, फलामे छड लगायतका उद्योगहरु औसत ३० प्रतिशत क्षमतामा चलिरहेका छन् । दैनिक उपभोग्य सामानहरुको बिक्री १८ प्रतिशत घटेको छ । विद्युतीय उपकरणको कारोबार ५५ प्रतिशत संकुचन भएको छ,’ उनले भने, ‘स्वभाविक रुपमा अटोमोबाइल आयात प्रतिवन्ध हुँदा सबैभन्दा बढी असर परेको छ । करिब ७५ प्रतिशतले कारोबार घटेको छ । सेवा क्षेत्रमा बीमा सबैभन्दा बढि प्रभावित भएको छ । अन्य उद्यम व्यवसायमा परेको नकारात्मक असर यहाँ पनि परेको हो । करिब ३० प्रतिशतले बीमा व्यवसायमा संकुचन आएको छ ।’

पर्यटन सिजनमा ठूला होटलहरुको कारोबारमा सुधार देखिएपनि देशभरि कै औसत अकुपेन्सी ३० देखि ४० प्रतिशत मात्रै रहेको महासंघले जनाएको छ । रेष्टुरेन्टमा ग्राहक संख्या करिब २० प्रतिशत हाराहारी घटेको र गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको चार महिनाको तथ्यांक हेर्दा घर जग्गा कारोबार ४८ प्रतिशत र पूँजी बजारमा करिब ४० प्रतिशतको गिरावट आएको महासंघले जनाएको छ ।

बजार संकुचित हुँदा चालु आर्थिक वर्षको तीन महिनामा राजस्व १९ प्रतिशतले घटेको, संकलित राजस्व भन्दा चालु खर्च नै १७ अर्ब बढी भएको छ । वर्षको अन्त्यसम्म यसैगरी खर्च बढिरहने तर राजस्व संकलन नहुने हो भने आन्तरिक वा बाह्य ऋण लिएर सरकारी कर्मचारीलाई तलब खुवाउनुपर्ने अवस्था आउने चेतावनी महासंघले दिएको छ । अहिले नै अर्थतन्त्र सुधारको लागि सरकार र राष्ट्र बैंक तयार नहुने हो भने अर्थतन्त्रमा गम्भीर संकट आउने महासंघ अध्यक्ष गोल्छाले चेतावनी दिए ।

अर्थतन्त्रलाई बहुआयमिक संकटबाट जोगाउन तरलता प्रवाह बढाइ ब्याजदर घटाउनुपर्नेमा महासंघको जोड छ । त्यसको लागि कम्पनीमा एक वर्ष पुनर्कर्जा नीकरण गर्नुपर्ने, अनिवार्य नगद अनुपातलाई एक प्रतिशतले घटाउनुपर्ने, रकमलाई निश्चित समयसम्म शत प्रतिशत निक्षेपमा गणना गर्नुपर्ने, सरकारी ढुकुटीमा रहेको रकम प्रवाह गरी तरलता ढाउनुपर्ने जस्ता माग महासंघले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?