 
																						१४ मंसिर, काठमाडौं । बाजुरा र स्याङ्जा २ मा मतदान भएको १० दिनपछि मात्र निर्वाचन आयोगले मतगणना सुरु गर्ने निर्णय गर्यो । केही मतदान केन्द्रमा फर्जी मत खसालेको, बुथ कब्जा गरेको उजुरी परेपछि छानबिन गरेर निश्कर्ष दिन आयोगले ढिलाइ गरेको हो । आयोगका पदाधिकारीबीच यी ठाउँमा पुन मतदान गर्ने वा मतगणना गर्ने भन्नेमा विवाद हुँदा निर्णय दिन ढिलाइ भएको हो ।
एक निर्वाचन आयुक्तका अनुसार, अन्यत्रभन्दा स्याङ्जाको चापाकोटमा कांग्रेसमाथि बुथ कब्जाको आरोप अलि जटिल प्रकृतिको थियो । तर त्यहाँ गएको स्थलगत टोलीले बुथ कब्जा गरेर मतदान भएको कुनै प्रमाण पेश गर्न सकेन ।
यो मतदान केन्द्रमा मृत्यु भइसकेका र विदेशमा रहेका मतदाताको नामबाट पनि मत खसालिएको आरोप थियो । ‘त्यसलाई पुष्टि हुने आधार खोज्न धेरै मेहनत पर्यो’ ती आयुक्तले भने, ‘त्यो आरोप कुनै हालतले पुष्टि हुन नसक्ने भएपछि हामीले मतगणना अघि बढाउनुपर्ने निष्कर्षका साथ निर्देशन दिएका हौं ।’
४ गते मतदान सम्पन्न भइसकेपछि देशका धेरै निर्वाचन क्षेत्रमा तत्काल मतगणना सुरु भयो । तर बाजुरा र स्याङ्जा २ का साथै दोलखामा पुनः मतदानका विषयमा विवाद भयो । नेकपा एमाले र कांग्रेस दुबै पक्षले धाँधली भएको आरोप लगाउँदै निर्वाचन आयोगमा निवेदन दिए ।
बाजुराको बुढीनन्दा नगरपापलिका बाहेक अन्य केन्द्र र स्याङ्जा २ का निर्वाचन अधिकृत तथा मतदान अधिकृतहरुले मतदानका क्रममा कुनै विवाद नभएको प्रतिवेदन दिएका थिए । बुढीनन्दा नगरपालिका-५ को एक मतदान केन्द्रमा भने ४ मंसिरमा मतदानका क्रममा विवाद भएर गोली चलेपछि बीचैमा मतदान रोकिएको थियो । त्यहाँ पुनः मतदानसमेत भइसकेको छ ।
तीबाहेक पनि बाजुराका अन्य १६ मतदान केन्द्रमा बुथ कब्जा भएको भन्दै एमालेले पुन मतदानको माग गरेको थियो । कांग्रेसले पनि केही मतदान केन्द्रमा पुन मतदानको माग गरेको थियो । तर ती ठाउँमा भने आयोगले पुनः मतदान नहुने निर्णय गर्यो ।
‘दलहरुले एक अर्कामाथि बुथ क्याप्चर गरेको आरोप लगाएका छन्, तर मतदान अधिकृतमात्रै होइन, निर्वाचन अधिकृतले समेत त्यस्तो प्रमाण र जानकारी नपाएको बताएपछि हामीले के आधारमा फेरी मतदान गराउने ?’ अर्का निर्वाचन आयुक्तले भने, ‘बाजुराको हकमा पनि मतगणना नै अघि बढाउने भनी निर्णय भएको हो ।’
आयोगका सबै पदाधिकारीहरुबीच मतगणना नै गराउने भए किन एक सातासम्म निर्णयविहीनताको स्थितिमा राखेको भनी प्रश्न समेत उठेको छ । तर उजुरी परेपछि आयोगबाट पठाएको स्थलगत टोलीले त्यहाँको बस्तुस्थितिबारे बुझेको र त्यसको सबै विवरण संकलन गरेर आयोगमा प्रतिवेदन पेश गरेको आयोग स्रोतको भनाइ छ । बाजुरा र स्याङ्जा २ को हकमा भने टोलीले कुनै सुझाव नदिई ‘आयोगले उपयुक्त सम्झेको निर्णय गर्नुपर्ने’ भनी राय लेखेको एक आयुक्तले बताए ।
स्थलगत अध्ययनका लागि टोली पठाउने निर्णयमै फरक मत राखेका आयोगका पदाधिकारीहरुबीच फेरि मतदान नगराउने विषयमा भने सहमति भयो । सबैतिर शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको र निर्वाचनको अन्तिमतिर एकाध विषयमा फरक मत राख्दा राम्रो सन्देश नजाने भनी निष्कर्ष निस्किएपछि सबै पदाधिकारीले एकमतमा निर्णय गरेका हुन् ।
ती आयुक्तले भने, ‘मंगलबार अपरान्ह नै निर्णय गरेको भए पनि हुन्थ्यो, तर निकै राति भएकाले आज सौहाद्र्धरुपमा छलफल गरी निर्णय गरेर निर्देशन पठाइएको हो ।’
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बाजुरा र स्याङ्जा–२ को हकमा सम्बन्धित निर्वाचन अधिकृतहरुलाई मतगणना अघि बढाउन निर्देशन दिने निर्णय भएको बताए । ‘मतगणना अघि बढाउनु भन्ने निर्देशन दिने निर्णय भएको हो’ उनले भने, ‘यसको अरु आधार र कारण थाहा भएन ।’
दोलखामा भने निर्वाचन अधिकृतले नै मतदानका क्रममा हुलदंगा र हुलहुज्जत भएको भनी प्रतिवेदन दिएका थिए । स्थलगत अध्ययनबाट समेत त्यसको पुष्टि भएकाले १० केन्द्रमा पुनः मतदानको निर्णय भएको ती आयुक्तले बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4