+
+

झुटो निमन्त्रणाको भरमा नेपाल आएका भारतीय खेलाडीलाई कसले गर्‍यो ठगी ?

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०७९ मंसिर १५ गते २०:२६
एक ह्वाट्सएप ग्रुपमा पठाइएको झुटो प्रतियोगिताको निमन्त्रणा पत्र र मेडल ।

१५ मंसिर, काठमाडौं । सामाजिक सञ्जालमा भेटेको झुटो निमन्त्रणाको भर परेर नेपालमा प्रतियोगिता खेल्न आएका भारतीय खेलाडी ठगिएका छन् ।

आफ्नै खर्चमा भारतका विभिन्न चार राज्यका एथ्लेटिक्स र मार्शल आर्टका २० खेलाडी र ७ अफिसियलको टोली काठमाडौं आएर गैरीधाराको एक होटलमा बसेर ठगिएको थाहा पाएपछि फर्किएको छ ।

२८ औं दक्षिण एसियाली खेलकुदका लागि भनी पठाएको निमन्त्रणाको आधिकारिकता जाँच नगरी नेपाल आउँदा खेलाडी र अफिसियल दुबैले दुःख पाएका छन् । तर यो कार्यमा कसको संलग्नता भन्ने अझै खुलेको छैन ।

के हो घटना ?

पञ्जाबका मार्सल आर्ट खेलाडी निरज शर्माले पञ्जाब तेक्वान्दो ह्याट्स एप ग्रुपमा एउटा सूचना देखे । सूचनामा नेपालमा नोभेम्बर २७ देखि २९ तारिखसम्म २८ औं दक्षिण एसियाली खेलकुदअन्तर्गत तेक्वान्दो, कराँते, एथलेटिक्स, बक्सिङ, कवड्डी, जुडो, उसु, किक बक्सिङ, क्रिकेट, फुटबल, ब्याडमिन्टन र कुस्ती प्रतियोगिता आयोजना हुने उल्लेख थियो ।

नेपालमा नोभेम्बर २७ देखि २९ तारिखसम्म २८औं दक्षिण एसियाली खेलकुदअन्तर्गत तेक्वान्दो, कराँते, एथलेटिक्स, बक्सिङ, कवड्डी, जुडो, उसु, किक बक्सिङ, क्रिकेट, फुटबल, ब्याडमिन्टन र कुस्ती प्रतियोगिता आयोजना हुने आमन्त्रण पत्रमा उल्लेख थियो ।

कर्मा नेपाल नामक संस्थाको जिल्ला स्पोर्टस कमिटी काठमाडौंले आयोजना गर्ने भनिएको उक्त प्रतियोगितालाई नेपाल ओलम्पिक कमिटी र नेपाल स्पोर्टस फेडेरेसनले मान्यता दिएको पत्रमा उल्लेख छ । आमन्त्रण पत्रमा नेपाल ओलम्पिक कमिटीको लोगोसमेत प्रयोग गरिएको छ ।

डिजिटल रुपमा डिजाइन गरिएको यो निमन्त्रणा पत्रमा आयोजक संस्थाको अध्यक्ष विष्णु थापा र महासचिव फुर्वा दोर्जी उल्लेख छ । संस्थाको सम्पर्क ठेगाना र नम्बर उल्लेख छैन । सम्पर्क गर्ने माध्यमको रुपमा भारत हरियाणा सोनिपतका करमजित नाम गरेका बक्सिङ प्रशिक्षकलाई तोकिएको भन्दै उनको फोन नम्बर पनि दिइएको थियो ।

आश्चर्यजनक कुरा के छ भने २८औं दक्षिण एसियाली खेलकुद २०२२ को नाममा पठाइएको निमन्त्रणामा अमेरिका, युएई, मलेसिया र थाइल्याण्डको राष्ट्रिय झण्डासमेत प्रयोग गरिएको छ तर आयोजक भनिएको नेपालकै झण्डा समावेश छैन ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि निमन्त्रणा पाएपछि उत्साहित निरज शर्माले सहभागिताको योजना बनाए । पेनाक सिलातका पञ्जाब राज्यका टेक्निकल डाइरेक्टर समेत रहेका शर्माले पञ्जाब फातेगढ जिल्लाको खाना भन्ने स्थानमा मिक्स्ड मार्सल आर्ट स्कुल अफ मल्टिपल गेम्स नामक एकेडेमी सञ्चालन गर्छन् । आफ्नो एकेडेमीमा प्रशिक्षणरत कुस्ती खेलका खेलाडीलाई उनले नेपाल पठाउने निर्णय गरे ।

‘निमन्त्रणा पत्र देखेपछि मैले करमजितलाई सम्पर्क गरेँ । कुस्तीमा खेलाडीको कोटा बाँकी रहेको भनेपछि उनैले भनेको तौल समूहका खेलाडीलाई समावेश गरेर नेपाल ल्याएको हुँ,’ बिहीबार बसन्तपुरमा भेटिएका निरजले सुनाए ।

करमजितले सोही प्रक्रियाबाट दिल्ली, उत्तरप्रदेश र हरियाणाबाट फरक फरक खेलका टिम निर्धारण गरे । आमन्त्रण पत्रमा प्रतियोगितामा नाम दर्ता, दिल्लीबाट काठमाडौं र काठमाडौंबाट दिल्लीसम्मको सम्पूर्ण खर्च हुने गरी १६ हजार भारतीय रुपैयाँ शुल्क तोकिएको थियो । निरजले करमजितले भनेको भारतीय बैंकको एकाउन्टमा आफ्ना पाँच खेलाडीको शुल्कबापत ८० हजार रुपैयाँ २९ अक्टोबरमै जम्मा गरे ।

निमन्त्रणा पत्र ।

उनका अनुसार अन्य टिमका खेलाडीले पनि यसैगरी शुल्क बुझाएका थिए । प्रतियोगिताका लागि आवश्यक शुल्क खेलाडी आफैंले जोहो गरेका थिए । ‘दिल्लीबाट आएका बक्सिङ खेलाडीहरु भन्दै थिए, साह्रै दुःख गरेर पैसा जम्मा पारेका थियौं,’ निरजले अनलाइनखबरलाई सुनाए ।

करमजितको योजनाअनुसार २६ नोभेम्बर (१० मंसिर)मा सबैतिरका खेलाडी दिल्लीमा जम्मा भए । त्यहाँबाट भारतीय टोली दक्षिण एसियाली खेलकुदका लागि यात्रु बसमार्फत गोरखपुर पुग्यो । गोरखपुरबाट अर्को बस रिजर्भ गरी नेपाल हिँडेको भारतीय टिम प्रतियोगिता सुरु हुने भनिएको एक दिन पछि अर्थात् २८ नोभेम्बर (१२ मंसिरको) विहान ११ बजे काठमाडौं आइपुग्यो ।

जसमा भारतका चार राज्यका २० खेलाडी र ७ अफिसियल थिए । उत्तर प्रदेशबाट एथ्लेटिक्स खेलका ३, दिल्लीबाट बक्सिङका ७, हरियाणाबाट कराँतेका ५ र पञ्जाबबाट कुस्तीका ५ खेलाडी नेपाल आएका हुन् ।

६० घण्टाको बस यात्राबाट थकित भारतीय टोली गैरीधारास्थित कैलाश होटलमा बसे । आयोजकसँग कुरा भएको भन्दै करमजितले निरजलाई भने, ‘भर्खरै आएको हुनाले तपाईंहरुको खेल भोलि हुन्छ । आजलाई आराम गर्नुहोस् ।’

प्रतियोगिता काठमाडौंको दशरथ रंगशालामा हुने भनिएको थियो । तर, दक्षिण एसियाली खेलकुदको चहलपहल नदेखिएपछि २८ नोभेम्बरको साँझदेखि नै उनीहरुले आयोजकमाथि शंका गर्न थाले । तर, आयोजक भन्दै करमजितले भेटाएका एक व्यक्तिले भोलिदेखि खेल हुनेमा निश्चिन्त हुन भनेका थिए । भारतबाट आएको टोलीले नेपालमा प्रतियोगितासँग सम्बन्धित नेपाली भेटेको त्यही एकजना हुन्, उनले आफू कराँतेको प्रशिक्षक भएको बताएका थिए, भारतीय टोलीलाई उनको नामसमेत थाहा छैन । ‘उनीसँग पनि आधा घण्टाका लागि मात्र भेट भएको हो धेरै कुराकानी करमजितले नै गरे,’ निरज भन्छन् ।

निरज शर्मा ।

भोलिपल्ट प्रतियोगिता खेल्नुपर्ने भएपछि खेलाडीहरु बिहानैदेखि तयारीमा लागे । आआफ्नो खेल पोशाक र सामग्रीसहित रंगशाला जान तयार खेलाडीहरुलाई एक छिन एकछिन भन्दै दिनभर कुराइयो । तर, होटलबाट बाहिर निकालिएन ।

२९ नोभेम्बर (१३ मंसिर) साँझ करमजितले नै आफूलाई प्रतियोगिताको आयोजनास्थल थाहा नभएको र आयोजकका कसैले सम्पर्क नगरेको बताएपछि मात्र भारतीय टिमले आफू ठगिएको पत्तो पायो । ‘प्रतियोगिता खेल्न नपाए पनि सहभागिताको प्रमाणपत्र र मेडल गोरखपुर पुगेपछि दिनेसमेत भनियो । त्यसपछि सबै खेलका प्रशिक्षकहरु झगडामा उत्रिए,’ निरज भन्छन् ।

२९ नोभेम्बर राति भारतीय टिम बसमार्फत स्वदेश फर्किए । निरजले केही दिन नेपालमै बस्ने निर्णय गरे । गोरखपुर पुगेपछि करमजित पनि सम्पर्कविहीन भए । अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने उत्साहले नेपाल आएका पीडित खेलाडीहरु आफैंले खर्च हालेर घर गए ।

ठगीमा संलग्न गिरोह पत्ता लगाउन टिमलाई घर पठाएर आफू नेपाल बसेको निरज बताउँछन् । ‘म नेपाल ओलम्पिक कमिटी र खेलकुद परिषदमा कुरा राख्नेछु । भारतमा पञ्जाब र हरियाणाका खेलकुद मन्त्रालयमा उजुरी गर्नेछु,’ निरजले थपे, ‘भविष्यमा हाम्रा बच्चाहरुले खेलकुदका नाममा ठगीको शिकार हुन नपरोस् ।’

ओलम्पिक कमिटी भन्छ : हाम्रो संग्लग्नता छैन

नेपाल ओलम्पिक कमिटीले हुदै नभएको प्रतियोगिताको निमन्त्रणामा आफ्नो लोगो प्रयोग भएकामा अनभिज्ञता प्रकट गरेको छ । कमिटीका कार्यकारी सचिव सुजललाल श्रेष्ठले ओलम्पिकका आधिकारिक २७ खेलबाहेक अन्यले ओलम्पिकको लोगो प्रयोग गर्ने अधिकार नभएको बताए ।

‘ओलम्पिक लोगो प्रयोगमा विश्व खेलकुद नै संवेदनशील हुनुपर्छ । हुदै नभएको प्रतियोगितामा सबै ठाउँमा ओलम्पिकको लोगो दुरुपयोग गर्नेलाई कारबाही हुनुपर्छ,’ श्रेष्ठले अनलाइनखबरसँग भने ।

कसको दोष ?

दक्षिण एसियाली खेलकुद हरेक दुई वर्षमा दक्षिण एसियाका ७ देशबीच पालैपालो आयोजना हुने ठूलो खेलकुद महोत्सव हो । यो खेलकुदको १३ औं संस्करण सन् २०१९ मा नेपालमा आयोजना भएको थियो । र, सन् २०२३ मा पाकिस्तानमा हुँदैछ ।

खेलकुदमा जानकारी राख्ने र खेलसँग सम्बन्धित सबैलाई यो तथ्य थाहा छ । यस्तो प्रतियोगिता सम्बन्धित देशले आयोजना गर्छ र ओलम्पिक कमिटीमार्फत सहभागिताका लागि आधिकारिक पत्राचार हुन्छ ।

निरजले दक्षिण एसियाली च्याम्पियनसिपको नाममा आफूले भारतमा कराँते प्रतियोगितासमेत खेलेको बताएका छन् । तर निमन्त्रणको आधिकारिकता नबुझी शुल्क तिरेर नाम दर्ता गर्न किन हतार गरेको भन्ने प्रश्नमा निरज भन्छन्, ‘हामीसँग समय थोरै थियो । सबै कुरा हतारमा भयो ।’

अन्तर्राष्ट्रिय प्रतियोगिताको लोभमा खेलाडीसँगै पैसा उठाएर लामो र कठिन यात्रामार्फत नेपाल ल्याउने तर, प्रतियोगिता खेल्न नपाउने गरी भएको शोषणमा प्रशिक्षकहरु निरिह देखिए । आफ्नो खेलाडीले खेल्ने प्रतियोगिताबारे सम्पूर्ण जानकारी नलिँदा प्रशिक्षक र खेलाडी दुबै पक्ष ठगिन पुगे ।

नेपालमा इण्डो नेपाल च्याम्पियनसिपका नाममा धेरै प्रतियोगिता हुने गरेका छन् । जुन पदक वितरणका लागि आयोजना हुन्छ र आआफ्नो देशमा अन्तर्राष्ट्रिय सफलताको दावी गरिन्छ । खेलकुदमा हुनुपर्ने स्वच्छ प्रतिस्पर्धाको भावनाविपरीत खेलाडीलाई खेलको नाममा ठगिने क्रम रोक्न आफूले पहल लिने निरजले बताएका छन् ।

चार वर्षअघि यही संस्थाले पाँचौं दक्षिण एसियाली खेलकुदको नाममा कञ्चनपुर जिल्लामा प्रतियोगिता आयोजना गरेको र वितरण गरेको प्रमाणपत्रसमेत फेला परेको छ । तेक्वान्दो खेलमा स्वर्ण जितेका भारतीय खेलाडीलाई दिइएको प्रमाणपत्रमा कञ्चनपुर जिल्ला कवड्डी संघका अध्यक्ष महेश चन्दको हस्ताक्षर छ । उनीसँग सम्पर्क गर्दा आफूले कुनै त्यस्तो प्रमाणपत्रमा हस्ताक्षर नगरेको बताए ।

‘त्यतिबेला एसियाली खेलकुदको तयारीका क्रममा भारतबाट मैत्रीपूर्ण खेल खेल्ने भन्दै टिम आएको थियो । उनीहरुसँग कवड्डी खेलाइएको हो । तेक्वान्दोको प्रमाणपत्रमा मेरो नाम र हस्ताक्षर कसरी आयो मलाई थाहा छैन,’ उनले अनलाइनखबरसँग भने ।

लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?