+
+
विमलेन्द्र निधिसँग अन्तर्वार्ता :

‘देउवाजीसँग बहुमत छ, हट्नुस् भन्न मिल्छ र ?’

सीके राउतजीसँग मेरो पहिलो पटक भेट भएको हो । नाम त सुनेकै थिएँ दश वर्षदेखि, भेट भएको थिएन । बडो सरल, सहज र सुल्झिएको मान्छे पाएँ मैले ।

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १६ गते २१:११
विमलेन्द्र निधि, नेता नेपाली कांग्रेस

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि, बिहीबार साँझ जनमत पार्टीका अध्यक्ष सीके राउतलाई लिएर बालुवाटार पुगे । पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटाए र सरकारमा सहभागी हुन जनमत पार्टी सहमत भएको बताए ।

बालुवाटार जानुअघि अनलाइनखबरसँग कुरा गर्दै कांग्रेस नेता निधिले गठबन्धनकै सरकार बन्ने दाबी गरे । जनमत पार्टी मात्र होइन, नागरिक उन्मुक्तिलगायत पार्टीको समर्थन जुटाउने उनले बताए । निधिले अगाडि भने, अहिलेसम्म कांग्रेसको नेतृत्वमा सरकार बनोस् भन्ने हाम्रो चाहना हो । ठूलो दल भएकाले हाम्रो स्वाभाविक दाबी हुन्छ ।’

प्रस्तुत छ, कांग्रेस पूर्व उपसभापति समेत रहेका कांग्रेस नेता निधिसँग अनलाइनखबरकर्मी राजकुमार श्रेष्ठरघुनाथ बजगाईंले गरेको कुराकानीको सम्पादित अंशः

पाँच पार्टीको गठबन्धन बनाएर चुनाव लड्दा पनि बहुमत पुर्‍याउनै सकस पर्ने नतिजा आयो, होइन ?

हो, बहुमतका लागि सकसपूर्ण परिणाम आयो । बहुमत पुग्ने–नपुग्ने, एकाध कम हुने अवस्था आएको छ । यो सत्यलाई स्वीकार गर्नुपर्छ ।

‘संविधानको रक्षा गर्‍यौं, अब स्थिरता र विकास दिन्छौं’ भनेर भोट मागेको थियो गठबन्धनले । बहुमत नपाउनु भनेको त जनताले तपाईंहरूको गठबन्धनलाई ‘रिजेक्ट’ गरे भन्न मिल्छ ?

मिल्दैन । हाम्रो देशको निर्वाचन र मतदाताको प्रवृत्तिलाई अध्ययन गर्ने हो भने यसमा फरक पाउन सकिन्छ । हामीले दिएका ‘न्यारेसन’ एजेण्डामा हो, तर सबै ठाउँका मतदातालाई घोषणापत्रको ‘न्यारेटिभ्स’ले छोएको हुँदैन, प्रभावित गरेको हुँदैन । बौद्धिकस्तरमा अलिकति सचेतना होला, तर आम मतदातालाई प्रभावित पार्ने विविध कारण हुन्छन् ।

म आफ्नै उदाहरण दिन्छु, जनताको अधिकारका लागि लडें । संविधान बनाउन भूमिका खेलें । क्षेत्रको विकास भन्नुहुन्छ भने बाटो, शिक्षा स्वास्थ्य सबै क्षेत्रमा काम गरेको थिएँ । तैपनि २०७४ मा म पराजित भएँ ।

त्यसैले नेपालको राजनीतिमा राजनीतिक अधिकार र विकासले मात्रै मतदाता आकर्षित हुन्छन् भन्ने अझै स्थापित हुन गाह्रो छ । अहिले हामी (गठबन्धन)ले पाएको मतका आधारमा ‘रिजेक्ट’ वा स्वीकार गरेको भन्न मिल्दैन ।

तर चुनावी परिणामको सन्देश त होला नि ?

जनताले दुई भोटले जिताएको होस् कि २० हजार भोटले, जित भनेको जित हो, हार भनेको हार । चुनावको ‘म्यान्डेट’ भनेको जनताले जुन पार्टीलाई जति संख्यामा जितायो, त्यही हो ।

समग्रमा भन्दा संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रिक प्रणालीको पक्षमा जनादेश छ । यो बाहेक अरू राजनीतिक विषयमा भन्दा जनताको निजी हितको विषयले धेरै सरोकार राख्दछ । त्यसको आधारमा मतदाताले निर्णय गर्दछ भन्ने मेरो अनुभव छ ।

भर्खर बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले दुई ठूला गठबन्धनसँग प्रतिस्पर्धा गरेर पनि प्रत्यक्षतर्फ ७ सिट जित्यो भने समानुपातिक भोट ११ लाख कटाइसक्यो । तपाईंहरूले प्रतिगामी भन्ने गरेको राप्रपाले पनि आफ्नो शक्ति निकै बढाएको छ; जनमत, नागरिक उन्मुक्ति जस्ता पार्टीहरू पनि आएका छन्, यसको कुनै सन्देश छैन ?

जनताले विविध विषय र मुद्दामा टेकेर मत दिएका छन् । केही हदसम्म ‘डेलिभरी’ हेरेका छन्, ‘पर्फमेन्स’ कस्तो रहेछ भन्ने हेरेका छन् । यो यसपालि मात्रै भएको होइन । २०४८ सालदेखि नै हेर्नुभयो भने हरेक चुनावमा केही न केही नयाँ भएको छ । जनताले अलिकति फरक ‘टेष्ट’ पनि खोज्छन् ।

‘टेष्ट’ नयाँ–नयाँ खोज्नु सधैं नकारात्मक हुन्छ भन्ने पनि हुँदैन । यसकारण मैले यसलाई स्वाभाविक रूपमा लिएको छु । आगामी दिनमा राजनीतिशास्त्रीहरूले यसको अझ राम्ररी विश्लेषण गर्नुहोला ।

अहिले चाहिं कांग्रेसको प्राथमिकता सरकार गठन हो ?

त्यसमा लुकाउनुपर्ने कुरै छैन !

सरकार बनाउँदा चाहिं अहिलेकै गठबन्धनलाई निरन्तरता दिने कि अरू दलहरूसँग पनि मिलेर बनाउने ?

यो गठबन्धन त कायम राख्ने हो । साथै नयाँ–नयाँ दलहरू जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राप्रपा, स्वतन्त्र पार्टी छन् । यसमध्ये कोही सरकारमा आउन सक्ने सम्भावना छ भने त्यसका लागि प्रयास गर्ने हो । किनकि संसदमा एउटा पार्टीको बहुमत छैन भने एकभन्दा बढी दल मिलेर बहुमत जुटाउने प्रयास गर्नु राजनीतिक कार्य हो ।

सीके राउतसँग भएको भेट पनि यही प्रयोजनका लागि हो ?

एकदम हो । सीके राउतजीसँग मेरो पहिलो पटक भेट भएको हो । नाम त सुनेकै थिएँ दश वर्षदेखि, भेट भएको थिएन । बडो सरल, सहज र सुल्झिएको मान्छे पाएँ मैले ।

यो बीचमा कहिल्यै भेट भएको थिएन ?

थिएन । अस्ति जनकपुरबाट आउँदा संयोगले एउटै प्लेनमा पर्‍यौं । प्लेन चढ्न पर्खिरहँदा भेट भयो । कुराकानी भयो । उहाँ सहज रूपमा मकहाँ आउन तयार हुनुभयो । जनकपुर बस्नुहुन्छ, जनकपुर नै बसेर राजनीति गर्नुहुन्छ ।

मसँग भेट गर्न सायद उहाँलाई रुचि नै रहेछ । अस्ति (बुधबार) पहिलो भेट भयो । उहाँको बारेमा अलिकति भ्रामक ‘इमेज’ थियो, मेरो त सबै एक घण्टाको भेटघाटमा ‘करेक्सन’ भयो ।

सरकार बनाउन सहयोग चाहिने भएपछि ‘करेक्सन’ भएको हो कि साँच्चै ?

होइन । म गृहमन्त्री हुँदा उहाँ पटक–पटक थुनिनुभएको थियो । उहाँ मधेश देशका लागि राजनीतिक रूपमा सक्रिय हुनहुन्थ्यो । गिरफ्तार भएपछि हाम्रा (सरकारी) वकिल, नेपाल प्रहरी सबैले भन्थे, के अभियोग लगाउने ? म भन्थें, नेपाललाई टुक्र्याउन चाहेको हो, देशद्रोह वा राज्यद्रोहको मुद्दा किन लाग्दैन ? तर अनुसन्धान गर्दै जाँदा, रेकर्डहरू हेर्दा मधेशलाई देश बनाउँछु भनेको छ ।

सबभन्दा महत्वपूर्ण कुरा हतियार उठाएको छैन, हतियार बन्द संगठन छैन । शान्तिपूर्ण गान्धीवादी तरिका भनेको छ । अस्ति देखें, घाँटीमा ओशोको माला छ । ओशोको भक्त हुनुहुँदोरहेछ । अहिले त मूल प्रवाहमा आइसक्नुभयो । पार्टी निर्माण गर्नुभयो । आफैंले भनिसक्नुभएको छ– पृथकतावादी आन्दोलनको मुद्दा छोडिसकें ।

मधेश जनजातिको अधिकार आदि इत्यादि त जसले पनि आफ्ना कुरा राख्न पाउँछ । हिजो भेट्दा पनि उहाँलाई प्रतिबद्ध भएको पाएँ । उहाँले म डेमोक्र्याट हुँ, कुनै सरकारको पालामा सम्झौता भएर म मूलप्रवाहमा आएँ भन्दैमा त्यही पार्टीसँग जोडिएको हुँदैन भनेर पनि भन्नुभयो । उहाँले जे भन्नुभयो, त्यसलाई त स्वीकार गर्नुपर्‍यो नि !

सरकारमा आउन ‘ग्रिन सिंग्नल’ पनि दिनुभयो ?

मैले उहाँलाई प्रस्ताव गरें, यो गठबन्धनमा सामेल हुनुहोस्, सरकारमा पनि सामेल हुनुहोस् । उहाँ सकारात्मक हुनुभएको छ । अरू छलफल हुँदै जान्छ, एकैचोटि त हुँदैन नि !

१४औं महाधिवेशनपछि त पार्टी केन्द्रीय सदस्य बाहेक अरू भूमिकामा हुनुहुन्न, सांसद भइसक्नुभएको छैन । पार्टी सभापतिसँग सल्लाह गरेर नै बहुमत जुटाउन सक्रिय हुनुभएको त होला नि ?

यस्तो प्रश्न नसोध्नुस् न, स्वविवेकले पनि यस्तो काम गरिएको हुन्छ । स्वतः त्यो आफ्नो कर्तव्य हो, तर शेयर गर्नुपर्छ । मैले अस्ति साँझ नै पार्टी सभापतिलाई सबै ‘ब्रिफिङ’ गरेको छु ।

केही दिनअघि पनि उहाँसँग भेट भएको थियो । मैले त्यतिबेला नै उहाँलाई संसदीय दलको नेतामा समर्थन गर्छु भनेको थिएँ । महाधिवेशनमा पार्टी सभापतिका लागि प्रतिस्पर्धा गर्दा पनि पहिलो चरणमा त आ–आफ्नो हिसाबले गइयो, दोस्रो चरणमा शेरबहादुरजीलाई नै भोट दिएँ । संसदीय दलको नेतामा पनि उहाँलाई समर्थन गर्नु मेरो राजनीतिक निर्णय हो ।

मैले पार्टीका अरू नेताहरूसँग पनि कुराकानी गर्नुहोस् भनें । नेता चुनिनका लागि त अरूसँग पनि कुराकानी गर्नुपर्‍यो । मैले उहाँलाई तपाईंका लागि सहयोग जुटाउने काममा लागौं भनेर सोध्दा उहाँले हुन्छ लाग्नुहोस् भन्नुभयो । बहुमत नभएपछि सरकार गठनका लागि अरू दलहरूसँग पनि कुराकानी गर्नुपर्छ । सीके राउतसँग कुरा गरौं कि नगरौं भनेर सोध्नै पर्दैन । हामी राजनीतिक मान्छेलाई यति कुरा गर्न सोध्नुपर्छ र ?

गठबन्धनमा कसको नेतृत्वमा सरकार भन्ने सहमति जुटाउनुपर्ला, कांग्रेसकै नेतृत्व हुँदा पनि कसको भन्ने प्रश्न होला नि ?

कांग्रेसमा जो संसदीय दलको नेता बन्छ, उसैको नेतृत्वमा सरकार बन्छ । यसमा मेरो स्पष्ट ‘रोडम्याप’ छ, दलको नेतामा शेरबहादुरजीलाई समर्थन जुटाउने, अनि सरकार बनाउने ।

महाधिवेशनमा शेरबहादुर होइन, म सभापति हुन्छु भनेर आफैं प्रतिस्पर्धामा उत्रिनुभएको थियो । अहिले संसदीय दलको नेतामा पनि नयाँ आउनुपर्छ भन्ने मत उत्तिकै छ । सांसद नै नभएको तपाईंहरूले चाहिं समर्थन गर्ने निर्णय लिइसक्नुभयो ?

परिवर्तन खोजेको हो, भएन । त्यो वास्तविकतालाई स्वीकार गर्नुपर्छ । खोजेको कुरा सधैं पाइन्छ भन्ने छैन !

उसो भए दलको नेतामा परिवर्तन नखोज्ने ?

दलको नेतामा होइन, सभापतिमा परिवर्तन खोजेको थिएँ । म आफैं उठें । सभापति देउवालाई परिवर्तन गर्न भनेर अरू धेरै उम्मेदवार उठ्नुभएको छ । देउवाको ठाउँमा अरूलाई ल्याउन म उम्मेदवार भएको थिइनँ । यसमा लाज मान्ने कुरै छैन, म आफू सभापति बन्न उठेको थिएँ, बनिनँ ।

सभापति बन्न जति मत चाहिन्थ्यो, कांग्रेसको महाधिवेशनमा मतदाताले मलाई त्यति दिएनन् । मलाई कार्यकर्ताले सभापतिमा स्वीकार गरेनन् । मतदाताले जसको भारी मत छ, उसैलाई सभापति मान है भने ।

जो दोस्रो बन्छ, उसलाई सहयोग गर्ने वचनमा तपाईं र प्रकाशमान सिंह टिक्नुभएन भन्ने आरोप छ नि !

अरूका विषयमा म बोल्दिनँ, मेरो चाहिं कुनै ‘कमिटमेन्ट’ थिएन । शेरबहादुरजी बाहेक जति पनि उम्मेदवार हुनुहुन्थ्यो, उहाँहरूलाई मैले अनुरोध गरें । म, प्रकाशमान, शशांक लगातार बैठक बसेको पनि हो ।

हामीले एक मात्र उम्मेदवार बन्ने कोशिश गरेको पनि हो, तर मेरो प्रयास असफल भयो । यसको मतलब हामी एकअर्कालाई सभापति मान्न तयार भएनौं । त्यसैले मैले दोस्रो चरणमा शेरबहादुरलाई समर्थन गरें ।

हिजो सभापति मानें, अब दलको नेता पनि उहाँ नै हुनुहोस् भन्न खोज्नुभएको हो ?

कांग्रेसमा संसदीय दलको नेता जो सांसद जितेर आएका छन्, उहाँहरूको मतले चुनिने हो । कुन साथी जितेर आउँदा कसलाई मैले भोट दिनुहुन्छ भन्ने पनि मलाई थाहा छ, समानुपातिकमा भएका साथीहरूको पनि नाम देखिरहेको छु । शेरबहादुरजी बहुमतमा हुनुहुन्छ । बहुमतमा भएको मान्छेलाई हट्नुस् भन्न मिल्छ ? यस्तो भन्न मिल्दै मिल्दैन ।

त्यसैले कांग्रेसको १४औं महाधिवेशनमा म सभापति बन्न खोजेको थिएँ, मतदाताले अस्वीकार गरे । यसलाई मैले बहादुरीका साथ स्वीकार गर्नुपर्‍यो, अनि आफ्नो भूमिका तय गर्नुपर्‍यो ।

देउवालाई नै नेता मान्ने कि अरू छनोट गर्ने विकल्प त हिजो पनि थियो, भोलि सांसद हुनुभयो भने पनि रहला नि त ?

मलाई अरू विकल्पमा रुचि थिएन/छैन । मलाई तपाईंले नरोज्ने, तपाईंलाई मैले किन रोज्ने ?

पार्टी स्थापना हुनुभन्दा पहिल्यै जन्मिसकेको पुस्ता कांग्रेसको नेतृत्वमा छ, २०६२/६३ को आन्दोलनबाट आएको पुस्ताले पनि नेतृत्व दाबी गरिसक्यो । बीचमा रहेको तपाईं र तपाईंहरूको पुस्ताले चाहिं पाए आफू नेतृत्वमा पुग्ने, नपाए पुरानै होस् भन्ने हो ?

राजनीतिमा नेतृत्व हस्तान्तरण मागेर न कहिल्यै भएको छ, न कहिल्यै हुन्छ । यो लोकतान्त्रिक पद्धति पनि होइन । जसले नेतृत्व गर्न चाहन्छ, उसको क्षमता, स्वीकार्यता हुनुपर्‍यो । नयाँ पुस्ताले पनि चाहना राख्नु राम्रो हो, त्यसका लागि स्वीकार्यता त बनाउन सक्नुपर्‍यो नि !

कांग्रेस महाधिवेशनमा युवा मतदाता त धेरै नै हुनुहुन्थ्यो । युवाहरूले सभापतिमा उठ्न किन हिम्मत गर्नुभएन ? हामीले गर्‍यौं । अरूले त गर्नुभएन, किन उपसभापति र महामन्त्रीमा मात्रै सीमित रहनुभयो ? किनभने यसको क्रमिक प्रक्रिया हुन्छ । त्यसमा पनि स्वीकार गराउन सक्नुपर्छ । दिनुपर्‍यो भनेर हुँदैन, लिन सक्नुपर्छ । त्यो पनि खोसेर होइन, सम्बन्धित संस्थाको विधि र प्रक्रियाबाट जितेर लिन सक्नुपर्छ ।

पटक–पटक सांसद, मन्त्री, प्रधानमन्त्री भएका नेताहरू विरुद्ध यो चुनावको बेलामा ‘नो नट अगेन’ अभियान नै चल्यो । मतदाताले पनि तपाईंहरूको छोराछोरी र नातिनातिना उमेरका सांसद चुनेर पठाइसके । तपाईंहरू चाहिं फेरि उही नेतालाई दोहोर्‍याउने ?

यो ‘नो नट अगेन’ भनेको इर्ष्यालु मानसिकताको उपज हो ।

सरकार चाहिं कांग्रेसकै नेतृत्वमा बनाउने हो ?

अहिलेसम्म कांग्रेसको नेतृत्वमा सरकार बनोस् भन्ने हाम्रो चाहना हो । सबभन्दा ठूलो दल कांग्रेस भएकाले हाम्रो स्वाभाविक दाबी हुन्छ । कांग्रेस बाहेकका दलका नेताले अडानका साथ हामीलाई तत्काल प्रधानमन्त्री चाहिन्छ भनेको सुनिएको छैन ।

यद्यपि यो छलफलको विषय हो । प्रधानमन्त्री को बन्ने भन्ने गठबन्धनमा रहेका दलहरूबीच सल्लाह हुन्छ । हामीलाई विश्वास छ, गठबन्धनका दलहरूले हामीलाई साथ दिनुहुन्छ ।

आलोपालो भन्ने शब्द खुब चर्चा हुने गरेको छ । यो पटक पनि आलोपालो नै गर्ने हो ?

पहिले शेरबहादुर र प्रचण्डजीले आलोपालो प्रधानमन्त्री हुने सम्झौता गर्दा म पनि थिएँ, मेरै घरमा भएको थियो, कार्यान्वयन पनि भयो । अहिले त्यस विषयमा कुनै छलफल भएको छैन ।

राष्ट्रपति, सभामुखलगायत पदको बाँडफाँटबारे छलफल गर्न कांग्रेस तयार छ ?

कांग्रेस मात्रै होइन, सबै तयार हुनुहुन्छ । माओवादी, एकीकृत समाजवादी, लोसपा सबै तयार हुनुहुन्छ ।

गठबन्धन भत्किने वा २०७० मा जस्तै कांग्रेस र एमालेको सरकार बन्ने सम्भावना चाहिं छैन ?

अहिले यस विषयमा मैले कुनै रुचि लिएको छैन । अहिलेको हाम्रो पहिलो प्राथमिकता गठबन्धनको निरन्तरता नै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?