+
+
अन्तर्वार्ता :

‘ओलीले संसद विघटन गर्दा चुनावमा गएको भए अहिले घन्टी बज्दैनथ्यो’

अमृत सुवेदी अमृत सुवेदी
२०७९ मंसिर १७ गते १८:११

बूढाखाडा नेताहरूको रजगज चलेको नेपाली कांग्रेसमा उदयशमशेर राणाले ३८ वर्षको उमेरमै पहिलो पटक २०६४ सालको संविधानसभा निर्वाचनमा आफ्नै निर्वाचन क्षेत्र ललितपुर–१ मा टिकट पाए । त्यसयता पनि निरन्तर टिकट पाउने भाग्यमानी नेतामा पर्छन्, उनी ।

२०६४ सालमा नेकपा (माओवादी)का वर्षमान पुनसँग थोरै मतले हारेका राणा २०७० को निर्वाचनमा नेकपा (एमाले)का मधुसूदन पौडेललाई हराएर दोस्रो संविधानसभामा पुगे ।

संविधानसभाबाट नयाँ संघीय संविधान जारी भएपछि २०७४ मा भएको पहिलो प्रतिनिधिसभा निर्वाचनमा राणा एमालेका नवराज सिलवालसँग पराजित भए । २०७९ मा लगातार चौथो पटक ललितपुर–१ को टिकट पाएका उनी तिनै सिलवाललाई पराजित गरेर फेरि प्रतिनिधिसभा सदस्य बनेका छन् ।

नेविसंघ र तरुण दलहुँदै नेपाली कांग्रेसको राजनीतिमा आएका राणा पार्टीको १४औं महाधिवेशनबाट केन्द्रीय सदस्य चुनिएका थिए । पार्टीभित्र शेरबहादुर देउवा समूहमा रहेका उनले दोस्रो संविधानसभामा सभासद रहँदा अर्थ समिति सदस्य र अर्थ राज्यमन्त्रीको भूमिमा पाए ।

सागरमशेर राणाका छोरा उदयशमशेर यसपटक पार्टी सभापति देउवा नै संसदीय दलको नेता हुने बताउँछन् । ‘अहिलेको परिस्थितिमा पुरानै अनुभवी घोडालाई अगाडि बढाउँदा राष्ट्रिय–अन्तर्राष्ट्रिय सहजता हुन्छ भन्ने आवाज पार्टीभित्र प्रबल रहेको’ उनको तर्क छ ।

केपी ओली नेतृत्वको सरकार संसद विघटन गरेर बाहिरिने बित्तिकै चुनावमा गएको भए कांग्रेसको बहुमत आउने बताउँदै राणा भन्छन्, ‘त्यो अवस्थामा घन्टी÷सन्टी कोही आउन सक्ने थिएनन् ।’

समसामयिक विषयमा राणासँग अनलाइनखबरले गरेको कुराकानीः

लगातार लडेका चार चुनावबाट दोस्रो जित हासिल गर्नुभयो, अघिल्लो चुनावको साटो फेर्नुभयो होइन त ?

राजनीति गर्ने मान्छेलाई चुनाव जित्नुजत्तिको सन्तुष्टि अर्को हुँदैन ।

चुनावी अभियानको क्रममा एमालेको पत्तासाफ हुन्छ भन्नुहुन्थ्यो, तर त्यस्तो भएको त देखिएन नि !

हामीले सोचेको भन्दा कम भोट आए पनि नेपाली कांग्रेस २३ बाट ५६ सिटमा पुगेको छ । संघीय संसद र धेरैजसो प्रदेशमा पनि दोस्रोबाट पहिलो पार्टी बन्ने अवस्थामा कांग्रेस पुगेको छ । एमाले पहिलोबाट दोस्रो पार्टी बन्न पुगेको छ । समग्रमा यो चुनाव कांग्रेसले जितेको भन्न सक्छौं ।

तर, सरकार गठनका लागि गठबन्धनलाई चाहिने बहुमत त पुगेन, अबको समीकरण कसरी बन्ला ?

कांग्रेसकै बहुमत आउनु अहिलेको राजनीतिक परिस्थितिमा सम्भव नहुने कुरा भएकाले गठबन्धन जरूरी भयो । चुनाव अगाडि गठबन्धन नगरेको भए अहिले गर्नैपथ्र्यो, पुगनपुग बहुमत आउँछ पनि होला ।

समानुपातिक र चारवटा प्रत्यक्ष सिटको नतिजा आउन बाँकी छ । बहुमत नपुगे २–४ सिट भएका साना पार्टी समेटेर पनि सरकार बनाउँछौं । पहिलो चरणको सरकार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकै नेतृत्वमा बन्छ ।

कांग्रेसका सभापति र माओवादीका अध्यक्षले आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने भित्री सहमति भएको भन्ने पनि छ नि !

एउटाले तीन वर्ष, अर्कोले दुई वर्ष चलाउने हल्ला पनि सुनिन्छ । कसैको पनि स्पष्ट बहुमत नभएको अवस्थामा यो हुनै नसक्ने, असम्भव कुरा होइन । आलोपालो भए पहिलो चरणको नेतृत्व देउवाले नै गर्नुहुन्छ ।

देउवा पटक–पटक प्रधानमन्त्री हुनुभयो, अब सरकारको नेतृत्व नयाँ पुस्ताले गर्नुपर्छ भन्ने आवाज कांग्रेसभित्रै उठिरहेको छ । तपाईं चाहिं देउवालाई नै अगाडि सार्दै हुनुहुन्छ, किन ?

नेतृत्वलाई सहजै चुनौती दिने लोकतान्त्रिक परिपाटी नेपाली कांग्रेसमा मात्र छ । अहिले शेरबहादुर देउवालाई सर्वसम्मत छोड्ने परिस्थिति पार्टीभित्र छैन, तर हामी व्यावहारिक पनि हुनुपर्छ । देउवाकै नेतृत्वमा चुनावमा जाँदा कांग्रेस दोस्रो पार्टीबाट पहिलो भयो । अब संसदीय दलको नेता उहाँ नै हो ।

देउवाको नेतृत्वमा चुनावमा गएर परिणाम पनि पहिलेको भन्दा राम्रो आएपछि स्वाभाविक हिसाबले संसदीय नेता र प्रधानमन्त्री उहाँ नै हो भन्ने मेरो तर्क हो । २०७४ मा कांग्रेस खुम्चिंदा उहाँलाई अब तपाईं छाड्नुस् भन्न सकिन्थ्यो, अहिले त कांग्रेस बढेको छ ।

दोस्रो कुरा, पार्टीको महाधिवेशन भएको एक वर्ष मात्र पुग्दैछ । सभापतिमा शेरबहादुर देउवा र अरू पदाधिकारी मात्र नभई मलगायत केन्द्रीय सदस्यहरू पनि चुनिएका छौं । कांग्रेस पार्टीका कार्यकर्ताले हामीलाई विश्वास गरेर चुनेका हुन् ।

फेरि, सबै पक्षलाई समेटेर लैजान सक्ने नेता पनि देउवा नै हो । सरकारमा अरूको भन्दा उहाँकै नेतृत्व स्थिर हुन्छ । मैले बुझेअनुसार कांग्रेस संसदीय दलले मात्र चाहेर पनि हुँदैन, गठबन्धनका दलहरूले पनि देउवाकै नेतृत्वमा सरकार गठन सहज हुन्छ भनिरहेका छन् ।

अघिल्लो निर्वाचनमा भन्दा अहिले कांग्रेस सुधारियो, त्यसैले देउवाबाहेक अरू संसदीय दलको नेता, प्रधानमन्त्री हुनै हुँदैन ?

१४औं महाधिवेशनको म्यान्डेट के हो भने शेरबहादुर देउवाले नेतृत्व र युवाले समर्थन गर्ने । देउवाले पनि युवालाई समेटेर लैजाने भन्ने हो ।

हामी धेरै जना नयाँ अनुहार पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म चुनिएका छौं । मैले पनि चौथो धेरै लोकप्रिय मत ल्याएर जितेको हुँ । कांग्रेस अब पहिले जस्तो छैन ।
पार्टीले अहिले गठबन्धन र सबै शक्तिकेन्द्रहरू मिलाउनुपर्नेछ । यो परिस्थितिमा पुरानै भए पनि अनुभवी घोडालाई अगाडि बढायो भने सहज हुन्छ भन्ने आवाज पार्टीभित्र बलियो छ ।

पार्टीमा विकल्प नै नहुने भन्ने होइन । बीपीको पनि विकल्प थियो । सुवर्णशमशेर, गणेशमान, किसुनजी, गिरिजाप्रसाद सबैको विकल्प थियो । देउवा पनि निर्विकल्प होइनन् । शेरबहादुर, गगन वा उदयशमशेर नभए पनि कांग्रेस पार्टी चल्छ, तर भएकामध्ये सबभन्दा बलियो ठहरिने विकल्प रोज्नुपर्छ । मेरो भनाइ यो हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले अनपेक्षित मत ल्यायो, राप्रपाले पनि शक्ति बढायो । अरु नयाँ पार्टी र अनुहार पनि संसदमा आएका छन् । ती सबैले स्थापित दलहरूलाई खुम्च्याए । यस्तो किन भयो ?

यो परिणामप्रति स्थापित दल र नेताहरू संवेदनशील हुनै पर्छ । नेपाली कांग्रेसलगायत स्थापित भनिएका पार्टीहरूले के बुझ्नुपर्छ भने घन्टी यसै बजेको छैन, जनताले बजाएका छन् । हलो आफैं चम्किएको छैन, त्यहाँ स्थापित भनिएका दलहरूप्रतिको वितृष्णाको मत छ ।

त्यसैले, मैले भन्नैपर्छ, राजनीतिमा किन शेरबहादुर भन्ने कुरा आउँछ । केपी ओलीले संसद विघटन गरेर जाने भनेको बेलामा मैले देउवालाई चुनावमै जानुपर्छ भन्दा उहाँ चुनावमै जाने मूडमा हुनुहुन्थ्यो । तर, माओवादी, समाजवादी, जसपालगायतका शीर्ष नेता, कांग्रेसकै पनि रामचन्द्र पौडेल र गगन थापाहरूले त्यो संविधान विपरीत हुन्छ भने ।

हाम्रो लोकतन्त्रमा जनतामा जानु असंवैधानिक कहिल्यै पनि हुँदैन । हामी त्यतिबेला चुनावमा गएको भए अहिले घन्टी पनि बज्दैनथ्यो र हलो पनि चम्किंदैनथ्यो ।

२०७४ मा जनताले विपक्षमा बस भनेर म्यान्डेट दिएकोमा हामी जबरजस्ती सरकारमा गयौं, त्यो गल्ती भएकै हो । त्यो बेला सरकारमा नगएर जनताकोमा गएको भए अहिले कांग्रेसले बहुमत पाउँथ्यो । सरकारमा गएकै कारण अहिले कांग्रेस, माओवादी, समाजवादीलगायत दलका असन्तुष्टि घन्टी र हलोमा देखिएको हो ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?