+
+

प्रदेश १ मा एमाले गठबन्धनलाई बहुमत

मुख्यमन्त्रीका लागि कार्कीको कसरत

हरि अधिकारी हरि अधिकारी
२०७९ मंसिर १८ गते १६:०३
एमाले नेता हिक्मत कार्की ।

१८ मंसिर, विराटनगर । प्रदेश १ मा नेकपा एमाले नेतृत्वको गठबन्धनको बहुमत पुग्ने देखिएको छ ।

९३ सदस्यीय प्रदेशसभामा ५६ जना प्रत्यक्ष निर्वाचित हुनेछन् भने ३७ जना समानुपातिक पद्धतिबाट निर्वाचित हुनेछन् । प्रदेशमा सरकार गठनका लागि ४७ जना सांसदको समर्थन आवश्यक पर्छ ।

समानुपातिकको मत गणना अन्तिमतिर पुग्दा एमाले, राप्रपा र जनता समाजवादी पार्टी (जसपा)को गठबन्धनको सिट संख्या ४७ सांसद पुगेको देखिएको छ ।

प्रदेशसभामा सबभन्दा ठूलो दल बनेको नेकपा एमालेले प्रत्यक्षतर्फ २५ सिट जितेको छ । समानुपातिकतर्फ ६ लाख ६५ हजार ४६० मत पाएको एमालेले १५ सिट पाउने देखिन्छ । अब सरकार बनाउन एमालेलाई थप ७ सांसद चाहिन्छ ।

प्रत्यक्षमा २ सिट जितेको राप्रपाले समानुपातिकतर्फ ४ सिट पाउने देखिन्छ । प्रत्यक्ष तर्फ सिट नजितेपनि जसपाले समानुपातिक मतका आधारमा एक सिट पाउने सम्भावना छ । अर्थात चुनावी गठबन्धन नटुटे प्रदेश १ मा एमाले गठबन्धनको सरकार बन्छ ।

बहुमत जुट्ने अवस्था आएपछि एमालेबाट मुख्यमन्त्रीका दाबेदार हिक्मतकुमार कार्कीले छलफल र भेटघाट तीव्र बनाएका छन् । एमालेबाट कार्की मुख्यमन्त्रीको एकल दाबेदार हुन ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र झापा– ५ को प्रदेशसभा २ बाट कार्कीले चुनाव जितेका थिए । ‘हाम्रो बहुमत पुग्छ’, उनले अनलाइनखबरसँग भने, ‘चुनावअघिको गठबन्धन टुट्दैन ।’

राप्रपा नेता दिनेश शाह पार्टीले सरकारमा सहभागी हुने वा नहुने विषयमा निर्णय गरिनसकेको बताउँछन् । ‘निर्वाचनको मत परिणाम सार्वजनिक भइसकेको छैन’, उनले भने,‘ सबै परिणाम सार्वजनिक भइसकेपछि पार्टीले निर्णय गर्छ ।’

कसको कति मत ?

प्रदेश १ मा समानुपातिक तर्फ १८ लाख ९९ हजार १४४ सदर भएको छ । जसमा एमालेले सबभन्दा धेरै ६ लाख ६५ हजार ४६० मत पाएको छ ।

नेपाली कांग्रेसले ५ लाख ६२ हजार ९५६, राप्रपाले १ लाख ९८ हजार ५११ मत पाएको छ । माओवादी केन्द्रले १ लाख ८१ हजार २४५, जनता समाजवादी पार्टीले ६१ हजार ७२३ र नेकपा एकीकृत समाजवादीले ५५ हजार ९५७ मत पाएको छ ।

आयोगले घोषणा नगरेपनि प्राप्त मतका आधारमा सेन्टर लक विधिबाट हिसाब गर्दा नेकपा एमालेले १५ सिट पाउनेछ । नेपाली कांग्रेसले १२,नेकपा माओवादी केन्द्रले ४, राप्रपाले ४, जनता जसपा र एकीकृत समाजवादीले समान १–१ सिट पाउनेछन् ।

समानुपातिक र प्रत्यक्षसहित प्रदेश १ मा एमालेको ४०, कांग्रेसको २९, माओवादी केन्द्रको १३, राप्रपाको ६, एकीकृत समाजवादी पार्टीको ४ र जसपाको १ सिट पुग्नेछ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?