+
+

‘डायलसिस सेवा अब समुदायमै पुर्‍याउनुपर्छ’

डायलसिस सेवालाई समुदायमै नपुर्‍याउने र घरमै गर्न मिल्ने ‘पीडी’ विधिलाई प्रोत्साहन नगर्ने हो भने मिर्गौला बिरामीले मात्रै होइन, परिवारले समेत चर्को पीडा भोगिरहनुपर्छ ।

डा. अनिल बराल, मिर्गौला रोग विशेषज्ञ डा. अनिल बराल, मिर्गौला रोग विशेषज्ञ
२०७९ मंसिर १९ गते २१:४८

मिर्गौलाले रगतको फोहोर छानेर बाहिर फाल्छ । शरीरलाई नचाहिने पानी छानेर पिसाब बनाउने काम पनि मिर्गौलाले गर्छ । मिर्गौला कमजोर भयो भने रगतमा भएको विषाक्त पदार्थ छान्न सक्दैन । शरीरमा बढी हुने पानी पिसाब बन्न पनि कठिन हुन्छ । यो अवस्थालाई मिर्गौला फेल भएको भनिन्छ ।

मिर्गौला दुई प्रकारले फेल हुन्छ– अकस्मात् र क्रमिक रूपमा । जस्तो– निमोनिया, छातीमा इन्फेक्सन, झाडापखालालगायत पेटका रोगबाट अकस्मात् मिर्गौला फेल हुनसक्छ । गाउँघरतिर अरिंगाल र अन्य कीटपतंगले टोक्दा पनि मिर्गौला फेल हुनसक्छ ।

यसरी आकस्मिक रूपमा मिर्गौला फेल भएका बिरामीलाई अवस्था हेरी दुईदेखि पाँच पटकसम्म डायलसिस गरे पुग्छ । मूल रोग ठिक भएपछि डायलसिस गरिराख्नु पर्दैन ।

अर्को, मिर्गौला क्रमशः खुम्चिंदै गएर, त्यसमा खतहरू बस्दै गएर दीर्घकालीन रूपमा फेल हुने अवस्था आउन सक्छ । मधुमेह भएको १०–१५ वर्षमा ७०–८० प्रतिशत व्यक्तिमा मिर्गौला फेल हुने समस्या देखिन्छ ।

अर्को, मिर्गौलाबाटै प्रोटिन बाहिरिने रोगहरूले पनि मिर्गौला फेल हुन्छ । कठोर श्रम गर्ने आप्रवासी युवा कामदारमा यो समस्या बढी देखिएको छ । पिसाबमा प्रोटिनको मात्रा बढ्दा पत्थरीका साथै रक्तचापको समस्या हुन थाल्छ । पत्थरीले रक्तनली अवरुद्ध गर्दा मिर्गौला सुन्निएर फेल हुने अवस्थामा पुग्छ ।

वंशाणुगत कारण वा विषादी संक्रमणले पनि मिर्गौला फेल हुन्छ । फेल भएको मिर्गौलालाई उपचारले निको बनाउन सक्दैन । ज्यानलाई नै खतरा हुने भएपछि विकल्प खोज्नुपर्छ । त्यतिबेला मिर्गौला प्रत्यारोपण वा नियमित डायलसिस गर्ने विकल्प बाँकी रहन्छ ।

सबै उमेर वा रोगका बिरामीका लागि सबभन्दा राम्रो विकल्प मिर्गौला प्रत्यारोपण हो, जुन सहज र सुलभ छैन । प्रत्यारोपण नभइञ्जेल डायलसिस गरेर बाँच्नुपर्छ । जिन्दगीभर आवश्यक पर्ने हुँदा डायलसिस जनस्वास्थ्यको दृष्टिकोणले ठूलो मुद्दा बनेको छ ।

एउटा बिरामी डायलसिसमा बस्दा मेसिन उसका लागि ‘बुक’ भएको हुन्छ । यो सेवा चाहिने नयाँ बिरामी आउँदा पुरानोलाई हटाएर उसलाई राख्न पाइँदैन । वीर अस्पतालमा २० वटा मेसिन छन् । एउटा मेसिनले एक बिरामीलाई चार घण्टाका दरले तीन सिफ्टमा डायलसिस गरिन्छ । आकस्मिक सेवाका बिरामीलाई राति पनि डायलसिस गरिन्छ ।

कहिलेकाहीं नयाँ बिरामीको डायलसिस गर्ने तयारी गरिरहेकै बेला नियमित डायलसिसका बिरामी गाह्रो भएर आइपुग्छन् । सबैलाई उहाँहरूले भनेझैं वा आफूले चाहेझैं गर्न सकिन्न अनि डायलसिसको अभावले ‘यस्तोसम्म भयो’ भन्ने हल्ला हुन्छ ।

मिर्गौलाले ज्यानलाई नधान्ने भएपछि आजीवन डायलसिस गर्नुपर्ने हुन्छ, त्यो पनि एक वा दुई सातामा । रगतमा पोटासियमको मात्रा बढ्न थालेपछि मुटु नै बन्द हुन्छ । मिर्गौलाले काम गर्न छाडेपछि पिसाब नभएर पानी फोक्सोमा जम्मा हुन थाल्छ । अनि अक्सिजन प्रवाह नभएर ज्यान जान सक्छ ।

त्यो अवस्थामा निमोनिया, संक्रमण र हृदयघातको सम्भावना पनि बढ्छ । यी सबै समस्यालाई डायलसिससँग लगेर जोड्ने गरिन्छ ।

२०–२२ वर्षदेखि डायलसिस

सरकारी अस्पतालले नथेग्ने भएकाले सरकारले निजी अस्पतालसँग साझेदारीमा डायलसिस सेवा दिइरहेकाले हामी ‘त्यो अस्पतालमा फलाना डाक्टरलाई भेट्नु है’ भनेर बिरामी पठाइरहेका हुन्छौं ।

कतिपय बिरामी ‘वीर अस्पतालमा बसेर हामीलाई निजी अस्पतालमा पठाउने ?’ भन्न थाल्नुहुन्छ । जबकि, निजी अस्पतालमा भर्ना हुन, रगत–पिसाब जाँच्न मात्र महँगो हुन्छ । त्यसका लागि हामीले वीरमै बोलाएका हुन्छौं ।

वीर अस्पतालमा २७ वर्षदेखि डायलसिस गरिरहनुभएको बिरामी पनि हुनुहुन्छ । मिर्गौला प्रत्यारोपण गर्न नसके पनि उहाँ मेसिनकै भरमा २५ वर्षदेखि बाँचिरहनुभएको छ । २०–२२ वर्षदेखि डायलसिस गरिरहेका बिरामी अरू पनि हुनुहुन्छ । यो त ठूलो उपलब्धि हो ।

वीर, टिचिङ, भक्तपुर जस्ता सरकारी अस्पतालमा मिर्गौला बिरामीहरूको ठूलो चाप छ । यस्ता ठाउँमा बिरामीले भन्ने वित्तिकै ठाउँ नपाउनु स्वाभाविकै हो ।

सेवा फैलियो, सहज भएन

अहिले डायलसिस नै नपाएर बिरामीको ज्यान गएको समाचार दुर्लभ छ । नेपालजस्तो गरिब देशले पनि धेरै ठाउँमा डायलसिस सेवा पुर्‍याएको छ । गोरखा, दाङ, सुर्खेत, सुनसरी, लमजुङ, पर्वत, म्याग्दी, बाग्लुङ, स्याङ्जा, नुवाकोटलगायत जिल्लामा डायलसिस सेवा सुरु भइसकेको छ ।

नेपाल सरकारसँग भएका चार जना मिर्गौला रोग विशेषज्ञमध्ये पोहोर एकजनाले अवकाश लिनुभयो । बाँकी तीन जना वीर अस्पताल र एक जना पोखरामा छौं । विभिन्न समिति, प्रतिष्ठान र विश्वविद्यालयमा विशेषज्ञ छन्, तर सरकारको प्रणालीभित्र थपिएका छैनन् । बिरामीको चाप भनिसाध्ये छैन ।

वीरमा अहिले ७–८ जना बिरामीलाई डायलसिसको ठाउँ चाहिएको छ । सास फेर्न नसक्ने, खान अरुचि हुने, पिसाब नहुने समस्या देखिएपछि आकस्मिक अवस्थामा बिरामीहरू आउँछन् ।

कतिपय बिरामीले डायलसिसको तयारी पनि गरेका हुँदैनन् । गाह्रो भएपछि इमर्जेन्सीमा आउनेहरूलाई फर्काउन मिल्दैन । सुविधासम्पन्न ठाउँमा जान्छु भन्नेहरूको कुरा अलग हो ।

मेसिनले मात्रै हुँदैन

सामान्यतः बिरामीलाई हप्तामा तीन दिन डायलसिस गर्नुपर्छ । नेपालीको शरीर अलि सानो छ, खानामा प्रोटिन पनि कम नै हुने भएकाले दुई पटक गरे पनि हुन्छ भन्न थालियो । त्यतिले पुगेन र बिरामीलाई गाह्रो भयो भने तीन पटक पनि गराइरहेका छौं ।

नेपालमा कति मिर्गौला रोगी छन् भन्ने आधिकारिक तथ्यांक छैन । कुल जनसंख्याको ९–१० प्रतिशतमा मिर्गौलाको कुनै न कुनै समस्या हुन्छ भन्ने गरिन्छ । त्यसमध्ये ३ प्रतिशतको मिर्गौला फेल भएको हुनसक्ने आकलन छ । त्यसमध्ये पनि १ प्रतिशतलाई तत्काल डायलसिस वा ट्रान्सप्लान्ट आवश्यक पर्छ ।

सरकारले मेसिन किनेर ठाउँठाउँमा पुर्‍याएको छ, तर डायलसिस भनेको तालिमप्राप्त स्वास्थ्यकर्मी पनि हो । डायलसिस मेसिन चलाउन छुट्टै प्राविधिक जनशक्ति चाहिन्छ । दुई–चार ठाउँमा मेसिन पुर्‍याएर एकाध नर्सलाई तालिम दिंदैमा समस्या सकिंदैन । डायलसिस सेवालाई समुदायस्तरमै पुर्‍याउन सरकारले नीतिगत व्यवस्था गर्नुपर्छ ।

अरू सबै सशुल्क

हाम्रो जस्तो मुलुकमा स्वास्थ्य सेवा सहज हुन निकै कठिन हुँदोरहेछ । तर पहिले जस्तो आकुल–व्याकुल हुनुपर्ने अवस्था छैन । वीरमा पाँच वटा मेसिन हुँदा मन्त्री, सभासदहरू दिनदिनै बिरामी लिएर आउनुहुन्थ्यो । एक जना सभासदलाई त मैले ‘तपाईंहरू संविधान बनाउनमा ध्यान केन्द्रित गर्नुहोस्, यता हामी सकेसम्म मिलाउँछौं’ भनेर पठाएको थिएँ ।

सुलभ, पायक र अनुभवी स्वास्थ्यकर्मी भएकाले धेरैको चाहना वीरमा आउने हुन्छ । धादिङ जिल्ला अस्पतालमा डायलसिस सेवा छ, तर त्यहाँका बिरामीहरू यहीं आउन रुचाउनुहुन्छ । नौबिसेकाहरूलाई जिल्ला अस्पतालमा यो सेवा हुनुको कुनै अर्थ भएन । हामी ‘यहाँ खाली छैन, धादिङ जानु न’ भन्छौं, उहाँहरू ‘त्यहाँ त हामीलाई झन् टाढा पर्छ’ भन्नुहुन्छ ।

महेन्द्रनगरबाट यहाँ बिरामी आउँछन् । त्यहाँबाट धनगढी आउजाउ गर्नुभन्दा काठमाडौंमा डेरा लिएर उपचार गराउन सहज मान्छन् । बिरामीको घरछेउमा डायलसिस सेन्टर नभएकोमा शंका छैन, तर त्योसँगै जोडिएर आउने सामाजिक–आर्थिक पाटो पनि सम्बोधन हुनुपर्ने रहेछ ।

सरकारले डायलसिस सेवा निःशुल्क दिएको हो, अरू होइन । रक्तचाप, मधुमेहलगायत अनेकथरी रोगको औषधिको छुट्टै खर्च हुन्छ । हामी अरूको तुलनामा मिर्गौला रोगबारे बढी हल्लाखल्ला सुनिरहेका हुन्छौं । किनभने, अलिकति स्रोत जुटाउन सके मेरो मान्छे बाँच्छ भन्ने आशा परिवारका सदस्यमा हुन्छ ।

सरकारले पनि मिर्गौला उपचारमा ठूलो लगानी गरेको छ, तर यसलाई अझै विस्तार गर्नुपर्ने आवश्यकता छ । डायलसिससँगै प्रत्यारोपणको सहजता सम्बन्धी व्यवस्था गर्नुपर्छ ।

समुदायस्तरमा लैजानै पर्छ

नियमित डायलसिस सेवा अस्पतालको साटो सामुदायिक स्वास्थ्य केन्द्रबाट उपलब्ध हुनुपर्ने हो । प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरूमै यो सेवा हुनुपर्ने हो । घरबाट गएर डायलसिस गरी घरमै आउन पाए पो सेवा सहज हुनेथियो ।

अहिले कतिपय बिरामीको परिवारले गाउँको घरखेत बेचेर डायलसिस गराउनुपर्ने अवस्था छ । अस्पताल जाँदा एकजना साथी हुनुपर्‍यो । परिवारका दुई जना उपचारमा जानुपरेपछि आय आर्जनको चक्र विथोलिन्छ । धेरैले काठमाडौंका सडकमा मकै, बदाम बेचेर परिवारका सदस्यको डायलसिस गराइरहेका छन् ।

अर्को विकल्प रोजौं

मिर्गौला बिरामीको रगत शुद्धीकरणका लागि यो गरिन्छ । डायलसिस दुई प्रकारको हुन्छ– हप्ताको दुई वा तीन पटक अस्पताल गएर गरिने हेमोडायलसिस र घरमै पेटभित्र पाइप हालेर गरिने पेरिटोनियल डायलसिस (पीडी) ।

बिरामी आफैं वा अरूको सहयोगले घरमै गरिने पीडी पनि अन्तर्राष्ट्रियस्तरमा सिफारिस भएको भरपर्दो विधि हो । यस्ता बिरामीले मुख बार्न पनि पर्दैन । पीडी गर्ने बिरामीहरूले नियमित रूपमा आफ्नो काम गर्न सक्नुहुन्छ । तर, यसमा बिरामीहरूको रुचि कम छ । जति पीडी हुनुपर्ने हो, त्यति भएको छैन ।

पेरिटोनियल डायलसिस गर्दा संक्रमणको जोखिम भने अलि बढी हुन्छ । यसमा सावधानी अपनाउनुपर्छ । सरकारले अनुदान पनि दिएको छ, तर महँगीका कारण त्यो रकममा स्वास्थ्य सामग्री पाइँदैन । सरकारले यो समस्या सम्बोधन गरिदिए बिरामीहरूलाई राहत हुनेछ ।

नेपालको कुल जनसंख्यामध्ये ३० लाखमा कुनै न कुनै किसिमको मिर्गौला रोग छ । ३० लाखको १ प्रतिशत बिरामी बाँच्न सक्दैनन् भन्ने अनुमान गरिन्छ । विश्वमा देखिएको ‘ट्रेण्ड’का आधारमा यो हिसाब निकालिएको हो, अध्ययनको निचोड होइन ।

मिर्गौलामा समस्या आउन नदिन प्रत्येक व्यक्तिले वार्षिक रूपमा पिसाब जाँच गर्नुपर्छ । आहार–विहारमा ध्यान दिनुपर्छ । उच्च रक्तचाप, मधुमेह भएका बिरामीले औषधि छुटाउन हुँदैन । बेलैमा समस्या पत्ता लगाएको अवस्थामा पाँच वर्षपछि डायलसिस चाहिने रहेछ भने त्यसलाई धकेलेर १५ वर्षपछि पुर्‍याउन सकिन्छ ।

(वीर अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा. बरालसँग अनलाइनखबरकर्मी कृष्ण ज्ञवाली र पुष्पराज चौलागाईँले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?