+
+
अवसरवादी दीपक मनाङे :

एमाले–कांग्रेसलाई झुक्याएर निर्विरोध, मन्त्री बन्न एकीकृत समाजवादी प्रवेश

विकास रोकामगर विकास रोकामगर
२०७९ मंसिर १९ गते २१:३७

१९ मंसिर, पोखरा । ३३० प्रदेशसभा सदस्यका लागि भएको ४ मंसिरको चुनावमा निर्विरोध निर्वाचित हुने ‘भाग्यमानी’ बने दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ ।

मनाङेले मनाङको १(१) उम्मेदवारी दिँदा नेपाली कांग्रेस र एमाले दुबै गठबन्धनले उम्मेदवार खडा गरेन । स्वतन्त्र उम्मेदवारी दिएका दोर्जे लामा गुरुङले उम्मेदवारी फिर्ता लिएपछि ४ मंसिर आउनु डेढ महिनाअघि नै मनाङ निर्विरोध निर्वाचित भए ।

बाँकी ३५ जनताबाट चुनिएर आउँदै गर्दा मनाङेले भने मन्त्री बन्ने बाटो खोजी थालेका छन् ।

गण्डकी प्रदेशसभामा सत्ता गठबन्धनको प्रष्ट बहुमत छ । तर सत्तारुढ एकीकृत समाजवादीको प्रदेशसभामा उपस्थिति छैन । प्रत्यक्षतर्फ एक सिट नजितेको एकीकृत समाजवादीले समानुपातिकमा पनि १.५ प्रतिशतको थ्रेस होल्ड कटाउन सकेन ।

मनाङेले त्यहीँ अवसर देखे र सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा पुगेर पार्टी प्रवेश गरेका छन् ।

अब सत्ता गठबन्धनको प्रदेश सरकार बन्दा मनाङे मन्त्री बन्ने सम्भावना अधिक छ । एकीकृत समाजवादीका एक नेता भन्छन्, ‘गण्डकीमा हाम्रो पार्टीले राम्रो मन्त्रालय पाउँछ । हाम्रो पार्टीको सांसद भएपछि मनाङेकै सम्भावना रह्यो ।

यद्यपि मन्त्री बनाउने शर्तमा उनलाई पार्टीमा प्रवेश नगराईको नेताहरु बताउँछन् । ‘उहाँ स्वतन्त्र सांसद हो, जुन पार्टीमा पनि लाग्छु भन्न पाउनु हुन्छ । गण्डकीमा हाम्रा सांसद छैनन्, एकीकृत समाजवादीमा लाग्छु भन्नु भएपछि स्वागत ग¥यौं,’ एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले भने, ‘मन्त्री बनाउने निर्णय भइसकेको होइन । अनुमानहरू आएका छन्, अनुमान गर्न पाइयो ।’

विगत पनि त्यस्तै

गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा आएका मनाङे ०७४ को निर्वाचनमा एमालेको समर्थनबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । तर पुरानो मुद्दाका कारण जेल बसे ।

जेलबाट छुटेपछि तत्कालीन सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सहयोगमा प्रदेशसभा सदस्यको सपथ लिए । प्रचिनिधिसभा विघटनको विवादसँगै नेकपाको एकता खारेज भएर एमाले र माओवादी ब्यूँतिएपछि त मनाङे गण्डकी प्रदेश सरकार ढाल्ने र नयाँ बनाउने खेलमा अग्रभागमा उभिए ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकार जोगाउन बहुमत जुटाउन भूमिका खेले । त्यसवापत गुरुङले १६ वैशाख २०७८ मा युवा तथा खेलकुद मन्त्री बनाए । नयाँ सरकार गठनको विपक्षमा रहेको राष्ट्रिय जनमोर्चाको सांसद कृष्ण थापा पदमुक्त भएपछि मुख्यमन्त्री गुरुङले राजीनामा दिए र सबभन्दा ठूलो दलको नेताको हैसियतमा फेरि मुख्यमन्त्री नियुक्त भए । मनाङे पनि खेलकुद मन्त्री बने ।

जब कांग्रेस नेतृत्वका गठबन्धनको सरकार बन्ने देखे, कित्ता फेरेर फेरि मन्त्री पद हात पारे । नेपाली कांग्रेसका कृष्णचन्द्र नेपालीको नेतृत्वमा नयाँ सरकार बन्यो । एकैदिन ४ मन्त्री नियुक्त गर्दा त्यसमा मनाङे पनि बिना विभागीय मन्त्री बने ।

मनाङेले आफूले अर्थ वा भौतिक पूर्वाधारमध्ये एउटा मन्त्रालय आफूले पाउनुपर्ने अड्डी कसेका थिए । तर कांग्रेसले भौतिक पूर्वाधार र माओवादी केन्द्रले अर्थ मन्त्रालय लिएपछि मनाङे फेरि पुरानै युवा तथा खेलकुद मन्त्रालय सम्हाल पुगे ।

मन्त्री हुँदा उनले विवादमा परिरहे । मन्त्री रहेकै बखत एन्फाका कास्की अध्यक्षलाई झापड हाने, आफ्नै कर्मचारी कुटे । आफू मन्त्री रहेकै बेला कानुन विपरीत स्वकीय सचिवलाई कार्यवाहक मन्त्रीको जिम्मेवारी दिएर आलोचित बने ।

यो पटक निर्विरोध निर्वाचित भएका उनी मन्त्री हुने बाटो खोज्दै एकीकृत समाजवादी पुगेका छन् ।

पार्टी प्रवेशपछि विज्ञप्ति जारी गर्दै उनले आफ्नो उद्देश्य र एकीकृत समाजवादीको नीति, सिद्धान्त र विचार मेल खाएकाले एकीकृत समाजवादीमा प्रवेश बताएका छन् । ‘त्यसमा रहेका नेता कार्यकर्ताहरुको स्वच्छ छवि, मुलुकका लागि केही गरौं भन्ने धारणा र दृष्टिकोणबाट प्रभावित भई आजैका मितिदेखि नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीमा आवद्ध हुँदै उक्त पार्टीको मार्ग निर्देशन अनुरुप जनसेवामा सक्रिय रहने कुरा सबैमा हार्दिक अनुरोध गर्दछु,’ मनाङेको विज्ञप्तिमा उल्लेख छ ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?