+
+

पर्यटक आगमनले पुनरुत्थानको संकेत

अच्युत पुरी अच्युत पुरी
२०७९ मंसिर २१ गते १९:४६
नेपालको हिमाल क्षेत्रमा पर्यटक । फाइल तस्वीर

२१ मंसिर, काठमाडौं । पछिल्लो तीन महिनायता नेपालमा पर्यटक आगमन संख्या मासिक ५० हजार भन्दा माथि छ । सन् २०२२ को ११ महिनाको तथ्यांक विश्लेषण गर्दा प्रतिमहिना ४९ हजार ६५६ जना पर्यटक नेपाल आएका छन् । अक्टुबर २०२२ मा ८८ हजार ५ सय ८२ पर्यटक नेपाल आएका थिए । नेपालमा निर्वाचनको तयारी भइरहेको समयमा पनि नोभेम्बरमा ७२ हजार ६५३ जना पर्यटक नेपाल आए । सन् २०२० र २०२१ मा पर्यटक आगमनमा प्रतिबन्धका कारण कुनै महिना शून्यमा समेत झरेको अवस्था थियो ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने यो तथ्यांकलाई सकारात्मक संकेतका रुपमा व्याख्या गर्छन् । उनका अनुसार संयुक्त राष्ट्रसंघ मातहतका विश्व पर्यटन संगठन (यूएनडब्लूटीओ)ले सन् २०२२ मा सन् २०१९ को तुलनामा विश्वभर ६०–६३ प्रतिशतको बीचमा पर्यटक आगमनमा पुनरुत्थान हुने अनुमान गरेको थियो । नेपालमा समेत सोही दरमा आगमनदर सुधार भइरहेको उनले बताए ।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२२ को नोभेम्बर महिनासम्म कूल ५ लाख ४६ हजार २१६ जना पर्यटक नेपाल आएका छन् । यस अनुसार प्रतिमहिना औसतमा ४९, ६५६ जना पर्यटक नेपाल आएका छन् । नोभेम्बर २०२२ को एक महिनामा मात्र ७२ हजार ६५३ जना पर्यटक नेपाल आएका छन् । यो सन् २०१९ को तुलनामा ५५.७६ प्रतिशत रिकभर भएको बोर्डको भनाइ छ ।

सन् २०१९ मा कोभिडको प्रभाव पर्यटनमा थिएन । सो वर्ष नोभेम्बर महिनामा मात्र १ लाख ३० हजार ३०२ जना पर्यटक नेपाल आएका थिए । अक्टुबर २०२२ मा भने ८५ हजार २२६ जना पर्यटक नेपाल आएको तथ्यांकले देखाएको छ । यसरी नेपाल आउनेमा साहसिक गतिविधिमा आउने पर्यटकको संख्या अधिक रहेको निर्देशक लामिछाने बताउँछन् । पर्वतारोहण र पदयात्राको प्रयोजनका लागि कोभिड तथा डेंगुका बाबजुत धेरै पर्यटक आएका हुन् ।

उता, व्यवसायीहरु भने तथ्यांकले राम्रो संकेत गरे पनि चुनौती भने यथावत रहेको बताउँछन् । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष निलहरी बास्तोला कोभिडपछि अन्तर्राष्ट्रिय पर्यटक आगमन ह्वात्तै बढ्नुमा गैरआवासीय नेपालीहरुको आगमनको समेत भूमिका रहेको बताए । ‘लामो समय नेपाल आउन नपाएका धेरै गैरआवासीय नेपालीको आगमनले समेत संख्या बढाएको छ,’ उनी भन्छन्, ‘होटेल/टुर/ट्राभल एजेन्सीको व्यवसायमा पुनरुत्थानको ठूलो प्रभाव भने देखिन बाँकी छ ।’

क्र.सं. महिना पर्यटक संख्या
१. जनवरी १६,९७५
२. फेब्रुअरी १९,७६६
३. मार्च ४२,००६
४. अपि्रल ६१,५८९
५. मे ५३,६०८
६. जुन ४६,९५७
जुलाई ४४,४६२
८. अगष्ट ४१,३०४
९. सेप्टेम्बर ५८,३१४
१०. अक्टुबर ८८,५८२
११. नोभेम्बर ७२,६५३

यकिन तथ्यांकको अभाव

अक्टुबर–नोभेम्बर सिजनमा ठमेलसहित काठमाडौंका साना–ठूला होटेल भरिभराउ थिए । यसमा भारतीय पर्यटकको ठूलो भूमिका रहेको होटेल संघ नेपाल (हान)का कार्यसमिति सदस्य युवराज श्रेष्ठ बताउँछन् । तर, होटेलको अकुपेन्सी र पर्यटक आगमनको तथ्यांकको बीचमा भने ठूलो मेल खाँदैन । यसमा स्थलमार्गबाट आउने भारतीयलाई पर्यटकका रुपमा गणना नहुने अवस्था मुख्य कारण रहेको उनको भनाइ छ । नेपालमा भारतबाट हवाईजहाज चढेर आउने सबै भारतीयलाई पर्यटक मानिन्छ । स्थलमार्गबाट भित्रिने भारतीय नागरिकलाई भने पर्यटकका रुपमा गणना गरिँदैन ।

यस पटक काठमाडौं–दिल्लीको हवाई भाडा ४५ हजार रुपैयाँभन्दा माथि पुग्दा धेरैजसो खर्चालु भारतीय पर्यटक आफ्नै गाडी लिएर नेपाल भित्रिएको उनको अनुमान छ । जसका कारण ठमेल, पोखरा तथा सौराहाका होटेलले राम्रो बिजनेस पाएका थिए । जसले गर्दा होटेल व्यावसाय सन् २०२० र २०२१ को तुलनामा आशलाग्दो गरी रिभाइभ भएको व्यवसायीको भनाइ छ । अक्टुबर–नोभेम्बरमा एकल भन्दा बढी समूहमा पदयात्रामा जाने पर्यटक बढी देखिएको सदस्य श्रेष्ठले बताए ।

त्यसो त कोभिड महामारीका बीचमा समेत काठमाडौं उपत्यका आसपास र मोफसलका होटेलले राम्रै बिजनेस पाएका थिए । हानका सदस्य श्रेष्ठका अनुसार यो टे«ण्ड अहिलेसम्म पनि कायम छ । ‘शुक्रबार नगरकोट र धुलिखेलमा आजको दिनमा पनि कोठा पाउन मुस्किल छ,’ उनले भने, ‘यस्तै बिजनेस आन्तरिक पर्यटकबाट प्राप्त भइरहेको छ ।’

अहिले आन्तरिक पर्यटकको समेत तथ्यांक राख्ने प्रचलन छैन । जसले गर्दा आन्तरिक पर्यटकबाट पर्यटन उद्योगमा भइरहेको योगदानको समेत यकिन तथ्यांक आउन सकेको छैन ।

अन्तर्राष्ट्रिय सेलिब्रिटी र युटुबरबाट सकारात्मक प्रचार

कोभिड महामारीपछि नेपालमा अन्तर्राष्ट्रिय सेलिब्रिटी तथा चर्चित युटुबरहरुको बाक्लो भ्रमण भयो । यसबाट नेपालको सित्तैमा ठूलो सकारात्मक प्रचार भएको छ । संसारभर कोभिड महामारीसँग लड्दै गर्दा बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफा २०७७ चैतमा सगरमाथा आरोहणमा आए । पर्यटक आगमन ठप्प रहेको समयमा उनको भ्रमणको संसारभर चर्चा भएको थियो ।

 

त्यसलगत्तै बलिउड चलचित्र उचाइको छायांकन र त्यसका लागि कलाकारहरुको नेपाल आगमनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा राम्रै स्थान पायो । यो चलचित्रका कलाकार बोमन इरानी, परिणती चोपडा, अनुपम खेर, निना गुप्ता लगायतनेपाल आएका थिए ।

यही बीचमा बीबीसी मास्टर सेफ : द प्रोफेसनलका फाइनलिस्टहरु समेत नेपाल आएर नेपाली खानाको प्रवद्र्धन गरेका थिए । यसै वर्ष म्यान भर्सेस वाइल्डबाट संसारबाट परिचित बियर ग्रिल्स नेपाल आए । उनको आगमनले समेत अन्तर्राष्ट्रिय पर्यटन बजारमा राम्रो चर्चा कमाएको थियो ।

यसबीचमा ट्राभल र एभिएसन ब्लगका लागि चर्चित युटुबरहरु एकपछि अर्को नेपाल आए । उनीहरुले नेपालबारे गरेको सकारात्मक चर्चाका कारण समेत कोभिडपछिको पुनरुत्थानमा सकारात्मक भूमिका खेलेको छ ।

बढ्दैछ आम्दानी, तर छैनन् ठूला योजना

पर्यटक आगमनमा भएको सुधारसँगै मुलुकले पर्यटनबाट गर्ने आम्दानीमा समेत सुधार भइरहेको छ । नेपाल राष्ट्र बैंकको आंकडा अनुसार चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा पर्यटनबाट मात्र मुलुकले ११ अर्ब ४० करोड रुपैयाँ आम्दानी गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा पर्यटनबाट ५ अर्ब ४२ करोड रुपैयाँ आम्दानी गरेको थियो । त्यसअघिको आर्थिक वर्ष २०७७/७८ को तीन महिनामा भने मात्र १ अर्ब ४८ करोड रुपैयाँ आम्दानी पर्यटनबाट भएको थियो ।

२०७२ सालको भूकम्पछि पर्यटन पुनरुत्थान गर्न नेपाल पर्यटन बोर्डले नेपाल सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्न अभियान नै चलाएको थियो । लगत्तै पर्यटन उद्योग बचाउन आन्तरिक भ्रमण वर्ष घोषणा गरी देशभर भ्रमणको अभियान नै चलाइएको थियो । गुगलबाट बिग्रेका–भत्किएका तस्वीर प्रतिस्थापन गर्ने अभियान चलाएर नेपालबारे सकारात्मक सन्देश प्रवाह गराइएको थियो ।

तर, कोभिडपछि भने सरकार र नेपाल पर्यटन बोर्डसँग यस्तो कुनै योजना छैन । पर्यटन पुनरुत्थान र पर्यटकको आगमनले आफ्नै सुरमा गति लिइरहँदा यसलाई थप बढावा दिने योजना यी निकायसँग छैनन् ।

निर्वाचनभन्दा अगाडि भ्रमण दशक घोषणा गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय त्यसपछि भने सुस्ताएको छ । मन्त्रालयसँग यस वर्ष पर्यटन उद्योगलाई योगदान गर्ने ठूलो योजना छैन । उता, पर्यटन बोर्ड समेत स–साना मेला महोत्सवमा मात्र केन्द्रित छ ।

नेपाल पर्यटन बोर्डको यस वर्षको योजनामा हिमालयन ट्राभल मार्ट, साहसिक पर्यटनसँग सम्बन्धित मार्ट, बुद्धिष्ट मार्ट र भारतीय सिमानाबाट पर्यटकलाई लक्षित गरी गर्ने कार्यक्रम भन्दा ठूलो योजना केही योजना छैन । ‘अब नयाँ सरकार र नयाँ नेतृत्व आएपछि केही नयाँ होला की,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक अधिकारी भन्छन्, ‘अहिले तत्काल पर्यटनमा ठूलो काम गरिहाल्ने कुनै योजना भने छैन ।’

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?