+
+
स्वास्थ्याेपचार अनुभव :

जब डाक्टरले हामीलाई प्रयोगशाला बनाउँछन्

रुद्र गुरुङ रुद्र गुरुङ
२०७९ मंसिर २२ गते ८:१३

ज्यान सही-सलामत नै थियो, स्वास्थ्यमा भयानक संकट आएको थिएन । समस्या एउटै मात्र थियो, मधुमेह । सहरिया जीवन बाँच्नेहरुका लागि यो त आम समस्या नै भयो ।

मधुमेहलाई काबुमा राख्न औषधि सुरु गरें । केही समयपछि एक जना ‘डाक्टर’सँग भेट भयो, जसले मेरो खानपान तालिका पूरै परिवर्तन गरिदिए, यसो भन्दै- ‘अब तपाईंले मोटोपन र मधुमेहबाट छुटकारा पाउनुहुनेछ ।’

केही वर्षदेखि सताइरहेको मधुमेह चट हुने कुरा गज्जब थियो ।

उनको सुझाव अनुसार मैले त्यस्तो खानपान पूर्णरुपमा त्यागें, जुन बच्चैदेखि खाँदै आइरहेको थिएँ । अब मेरो थालीबाट चामल, आलु सर्लक्कै हट्यो । त्यसको साटो मासु, चिज, बोसो, अण्डा खान थालियो । कार्बोहाइड्रेट चट्टै छाडेर उच्च प्रोटिन र बोसोयुक्त खाना खानुपर्ने । त्यससँगै १६ घण्टा भोको पेट बस्नुपर्ने ।

छोरा भन्थे, ‘बुवा यसरी कार्बोहाइड्रेट खाँदै नखानु ठीक होइन । शरीरलाई चाहिन्छ ।’

तर मैले उनको कुरामा चासो दिइनँ । किनभने खानपान बदलेपछि मेरो ज्यान हल्का भएको अनुभव गरिरहेको थिएँ । केही महिनापछि जचाउँदा मधुमेह नियन्त्रित भएको पाइयो । ती डाक्टरको सुझाव काइदा लाग्यो । अरुलाई पनि मैले आफूमा भएको परिवर्तनबारे खुुसी साटें ।

उनै डाक्टरको सल्लाहमा मैले मधुमेहको औषधि डस्बिनमा मिल्काइदिएँ ।

तर करिब दुई वर्षको अन्तरमा म दुई पटक नै जटिल स्वास्थ्य समस्याबाट गुज्रिएँ । एकपटक त कतिसम्म भने चिकित्सकले ‘हामी तपाईंलाई आज एक रातको लागि मात्र बचाउन सक्छौं’ भनिदिए । त्यसयता म शारीरिक र मानसिक रुपमा नराम्ररी बिथोलिएँ । एकपछि अर्को स्वास्थ्य समस्याले मलाई तर्साइरह्यो । आखिरमा मैले आफ्नो पुरानै खानपान सुरु गर्नुपर्ने भयो । मधुमेहको औषधि पनि पुनः खान थालें । क्षणिक नतिजाको आधारमा मैले जे गरें, त्यो मेरो स्वास्थ्यमाथि खेलबाड रहेछ भन्ने बोध भयो ।

म आज्ञाकारी भएर सुनिरहें । चिकित्सक भन्दै थिए, ‘हेर्नुहोस्, यो राम्रो होइन । बायोस्पी गर्नुपर्छ ।’ उनले मुखै खोलेर ‘क्यान्सर हो’ त भनेनन् । यद्यपि क्यान्सर हुनसक्छ भन्ने पूरा संकेत गरे ।

हाम्रो जस्तो कमजोर चिकित्सा संयन्त्र भएको मुलुकमा सर्वसाधरणलाई कसरी गोलचक्करमा फसाइन्छ ? कसरी उनको शरीरलाई प्रयोगशाला बनाइन्छ ? कसरी स्वास्थ्य क्षेत्रलाई कमाउधन्दा बनाइन्छ ? म यसको भुक्तभोगी हुँ ।

अस्पताल धाएको धाएकै

गएको पुस महिनामा भने अचानक मेरो स्वास्थ्यमा समस्या देखियो । लगातार खोकी लाग्ने, घाँटी दुख्ने भएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल गएँ ।

चिकित्सकले मलाई टन्सिलको औषधि दिएर पठाए । एक महिनासम्म औषधि खाएपछि म फेरि उनै चिकित्सककहाँ पुगें । तर समस्या ज्यूँको त्यूँ थियो ।

शिक्षण अस्पतालबाट पार नलाग्ने बुझेपछि म अर्को क्लिनिकमा गएँ । त्यहाँ मलाई इन्डोस्कोपी गर्न लगाइयो । रिपोर्टले मेरो घाँटीभित्र मासु पलाएको देखायो । त्यहाँका डाक्टरले भने, ‘यो ट्युमर होइन । तपाईंले पाँच-छ केजी तौल घटाउनुहोस् ठीक हुन्छ ।’

त्यहाँ दिइएको औषधि खाएँ । तौल घटाएँ तर समस्या उस्तै रह्यो । शारीरिक थकान र मानसिक तनावका बीच म अमेरिका गएँ ।

मेरो आवाज कहिले ह्वात्तै ठूलो हुने र कहिले ह्वात्तै सानो हुने गथ्र्यो । अमेरिकाबाट नेपाल फर्किएपछि फेरि म त्रिवि शिक्षण अस्पताल गएँ । त्यहाँ यसपालि भने मलाई ‘टन्सिल हो’ भनेनन्, इन्डोस्कोपी गर्न लगाए । रिपोर्ट हेरेपछि डाक्टरले भन्यो, ‘मासु पलाएको छ बायोस्पी गर्नुपर्छ ।’

‘बायोस्पी गर्नुपर्छ’ भन्ने सुनेपछि म झसंग भएँ । किनभने चिकित्सकले क्यान्सरको शंका लागेमा मात्र यस्तो परीक्षण गराउँछन् ।

बायोस्पीका लागि पालो कुर्नुपर्ने रहेछ । म अर्को हप्ता परीक्षणका लागि गएँ, तर पालो पाइएन । दुई हप्ता, चार हप्ता, छ हप्ता धाएको धाएकै गरें । म पालो कुरेर बसेको हुन्थें । त्यहाँको कर्मचारीले भन्थे, ‘धेरै लामो लाइन छ । यसपालि पनि तपाईंको भएन ।’

बायोस्पीका लागि मेरो पालो नै आएन । सरकारी अस्पतालको स्थिति यस्तो छ ।

जब चिकित्सकले भने ‘यो त क्यान्सर हुनसक्छ’

अब म अर्को अस्पतालको खोजीमा लागें । एक निजी अस्पताल जान सुझाए ।  त्यहाँ फेरि इन्डोस्कोपी गरियो । रिपोर्ट नियालेपछि चिकित्सकले विस्तारमा भने, ‘तपाईंको घाँटीमा मासु पलाएको छ । त्यो भागमा मासु दुई किसिमले पलाउँछ । गायक, शिक्षक आदिलाई यस्तै मासु पलाउँछ, जुन माथिल्लो भागमा हुन्छ । अर्को धुम्रपान गर्नेलाई मासु पलाउँछ, जुन तल्लो भागमा हुन्छ । तपाईंको तल्लो भागमा मासु छ ।’

म आज्ञाकारी भएर सुनिरहें । चिकित्सक भन्दै थिए, ‘हेर्नुहोस्, यो राम्रो होइन । बायोस्पी गर्नुपर्छ ।’ उनले मुखै खोलेर ‘क्यान्सर हो’ त भनेनन् । यद्यपि क्यान्सर हुनसक्छ भन्ने पूरा संकेत गरे ।

मेरो नौनाडी गल्यो । अब के गर्ने ?

चिकित्सकले सुझाए, ‘यो मासुलाई जतिसक्दो शल्यक्रिया गरेर निकाल्नुपर्छ ।’

दशैं आउनै लागेको थियो । दशैंपछि गर्ने कि अगाडि भनेर सोधियो । मैले दशैं अगाडि नै शल्यक्रिया गर्ने निधो गरें । तर जब म शल्यक्रियाको लागि तयार हुँदै थिएँ मनमा द्विविधा पलायो । शल्यक्रिया गरेर ठीक हुन्छ त ? यदि भएन भने ?

किनभने घाँटीको शल्यक्रिया गर्नु सामान्य हो जस्तो लागेन । मैले यसका सम्भावित जोखिमहरु खोज्न थालें । हतारमा शल्यक्रिया गर्नु उचित थिएन ।

समस्या ज्यूँका त्यूँ

म ईएनटी (नाक कान घाँटी)का डाक्टर सञ्जीवकुमार उपाध्ययकहाँ पुगें । सबै रिपोर्ट हेरिसकेपछि डा. उपाध्यायले भने, ‘शल्यक्रियाको विपक्षमा त म होइन । तर सबै घाँटीको रोग क्यान्सर हुन्छ भन्ने छैन ।’ उनले मलाई केही प्रश्न सोधे ।

‘तपाईंको रगत आउँछ ?’

मैले भने, ‘आउँदैन ।’

‘तौल घटबढ भइरहेको छ ?’

‘छैन ।’

‘घाँटीमा गाँठागुठी छ ?’

‘छैन ।’

प्रश्नोत्तरपछि उनले भने, ‘क्यान्सरको लक्षण त छैन ।’

उनले मलाई दुई हप्ताको औषधि दिएर पठाए । औषधि खाइसकेपछि म उनै डाक्टरकहाँ पुगें । उनले जाँचपछि मलाई भने, ‘तपाईंको अहिले नै ८० प्रतिशत ठीक भइसकेको छ ।’ उहाँको कुराले म निकै शान्त भएको थिएँ । यद्यपि दुखाइ भने कम भएको थिएन ।

त्यसपछि मैले आफूले बदलेको खानपानबारे बताएँ । मैले भनें, ‘म किटो डाइट लिइरहेको छु । साथै १८ घण्टे फास्टिङ पनि गरिरहेको छु । यसअघि कोरोनाले थलिएर टिचिङ अस्पतालको आईसीयूमा पुगेको थिएँ ।’ मेरो वृत्तान्त सुनेपछि उनले केही नभनी केही औषधि दिएर पठाए, जुन ग्यास्ट्रिकको थियो ।

एक सहपाठीको सुझाव अनुसार म अर्को डाक्टरकहाँ पुगे । उनी एक सरकारी अस्पतालको ईएनटी विभाग प्रमुख रहेछन् । उनले फेरि इन्डोस्कोपी गर्न लगाए । घाउ जस्ताको तस्तै थियो । ग्रान्डीमा त्यो घाउ रातो देखिएको थियो, सुमेरुमा सेतो देखियो । ती डाक्टरले भने, ‘घाउ त घाउ नै हो । यो घाउलाई किन राख्ने ? काटेर फ्याल्नुहोस् ।’

घुम्दै फिर्दै रुम्जाटार भनेजस्तै भयो । शल्यक्रिया गर्नैपर्ने उनको सुझाव थियो । यद्यपि त्यसले के बेफाइदा गर्न सक्छ भन्ने कुरा मलाई भनिएन । मैले तुरुन्तै उनलाई कुनै जवाफ दिइन ।

म थाक्दै, गल्दै, रन्थनिंदै थिएँ । कहाँ, के गर्ने ? मन रनभुल्ल थियो । मेरो समस्या ठ्याक्कै के हो ? आजको स्वास्थ्य परीक्षणपछि पनि चिकित्सकले भन्न सकेका थिएनन् । यसबीचमा मैले भारतको नामुद अस्पताल मेदान्तमा साथीमार्फत मेरो स्वास्थ्य रिपोर्ट पठाइयो । रिपोर्ट हेरेर त्यहाँबाट पनि जवाफ आयो, ‘शल्यक्रिया गर्नुपर्छ । बायोस्पी पनि गर्नुपर्छ । त्यसपछि बाँकी उपचार गर्नुपर्ने हुन्छ ।’

डा. अरुण केसीले भने- यो ग्यास्ट्रिकले हुनसक्छ 

न रोग पहिचान हुन्छ, न उपचार । आधा दर्जन अस्पताल र चिकित्सकको फन्को लगाइसकेपछि म निकै हतास भइसकेको थिएँ । यस्तैमा संयोगले डा. अरुण केसीको नाम सुनें । वीर अस्पतालका निकै अनुभवी डाक्टर रहेछन् उनी । म एक झोला रिपोर्ट बोकेर डा. अरुणकहाँ पुगें ।

उनले मेरो समस्या हेर्नासाथ अनुमान गरे, ‘यो समस्या ग्यास्ट्रिकले हुनसक्छ ।’

त्यसपछि मैले आफूले बदलेको खानपानबारे बताएँ । मैले भनें, ‘म किटो डाइट लिइरहेको छु । साथै १८ घण्टे फास्टिङ पनि गरिरहेको छु । यसअघि कोरोनाले थलिएर टिचिङ अस्पतालको आईसीयूमा पुगेको थिएँ ।’ मेरो वृत्तान्त सुनेपछि उनले केही नभनी केही औषधि दिएर पठाए, जुन ग्यास्ट्रिकको थियो ।

औषधि खान थालेपछि मलाई केही आराम भयो । दुखाए क्रमशः घट्दै गयो । यसबीचमा मैले आफ्नो मधुमेह जाँच गरें । मधुमेह बढेको रहेछ ।

मैले मधुमेहको औषधि पुनः सुरु गरें । यससँगै किटो डाइट छाडेर पुरानै खानपान गर्न थालें । यसपछि म सामान्य दिनचर्यामा फर्किएँ । दुखाइ पूर्णतः ठीक भयो । डा. अरुणले भने बमोजिम औषधि खाइसकेपछि म फेरि वीर अस्पतालमा थप परीक्षणका लागि पुगें । परीक्षणपछि उनले उत्साहका साथ सुनाए, ‘तपाईंको घाउ पूरै निको भएको छ ।’ उनले मलाई विगतमा खिचेको भिडियोसहित पछिल्लो भिडियो देखाउँदै भने, ‘हेर्नुहोस् त पहिले कस्तो थियो, अहिले कस्तो भयो ।’

वीर अस्पतालबाट बाहिरिंदै गर्दा म ढुक्क थिएँ, ‘यो क्यान्सर होइन रहेछ ।’ मैले यसबाट केही पाठ पनि सिकें ।

पाठ एक- जो सुकैको कुरा अन्धधुन्ध अनुसरण गर्दा पछि फन्दामा पर्न सकिने रहेछ ।

पाठ दुई- नेपालको चिकित्सा क्षेत्र अनुमान र प्रयोगकै चरणमा रहेछ ।

पाठ तीन- आफूले बच्चैदेखि खाएको खानपान, कुनै कारणवस सुरु गरेको औषधि चट्टै छाड्न घातक हुनसक्ने रहेछ ।

पाठ चार- मेरो शरीरमाथि अरुले खेलबाड गर्न सक्छन्, प्रयोगशाला बनाउन सक्छन् । हामी निकै सतर्क र सचेत हुनुपर्ने रहेछ ।

(गुरुङ फिल्म उपकरण व्यवसायी हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?