+
+

चोलेन्द्रले सोचेजस्तो सहज छैन सर्वोच्च फर्किन

सागर चन्द सागर चन्द
२०७९ मंसिर २१ गते १८:४१

२१ मंसिर, काठमाडौं । संघीय संसदका महासचिवले नै निलम्बन निष्प्रभावी भएको पत्र दिएपछि बुधबार बिहान प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत फर्किनेमा विश्वस्त थिए । उनले अनलाइनखबरसँगको कुराकानीमा भनेका थिए, ‘न्यायको अनुभूति भएको छ, म आजैदेखि सर्वोच्च फर्किन्छु ।’

उनले दिउँसो २ बजे सर्वोच्च अदालत जाने तयारी गरिरहेको पनि खुलाएका थिए । जबराले ६५ वर्षको उमेर हदका कारण २७ मंसिरदेखि अनिवार्य अवकाश पाउँदैछन् । ‘म खुसी छु, अब अवकाशसम्मै काम गर्छु’ उनले भनेका थिए ।

प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएपछि २०७८ फागुनदेखि १ देखि जबरा निलम्बित अवस्थामा थिए । महाअभियोग प्रस्ताव टुंगो नलगाई प्रतिनिधिसभाको कार्यकाल समाप्त भएको अवस्थामा बुधबार संघीय संसदका महासचिव भरतराज गौतमले निलम्बन निष्प्रभावी भएको पत्र दिएपछि चोलेन्द्रमा सर्वोच्च फर्किन पाउने आशा जागेको थियो ।

जबराले सर्वोच्च फर्किने बताइरहँदा सर्वोच्च अदालतका न्यायाधीश र बार एशोसिएसनका पदाधिकारी भने पूर्व न्यायाधीश प्रचण्डराज अनिलको अन्त्येष्टिमा सहभागी हुन पशुपति आर्यघाट पुगेका थिए ।

उनीहरु संसद सचिवालयले जबराको निलम्बन फुकुवा गरेको विषयमा अनभिज्ञ थिए । जबराले आफू सर्वोच्च फर्किन लागेको घोषणा गरेपछि बार पदाधिकारी र न्यायाधीश हतारिँदै सर्वोच्च आइपुगे । बार पदाधिकारीले महासचिवको पत्र असंवैधानिक भएको बताउँदै जबरालाई मूल गेटमा नै रोक्ने योजना बनाए ।

सर्वोच्च अदालतभित्र रहेको सुरक्षा स्रोतका अनुसार, जबरा आउने सूचना पाएसंगै सर्वोच्च अदालत प्रशासनले वैकल्पिक ढोका बन्द गर्न निर्देशन दियो । साथसाथै मूल गेटमा सुरक्षाकर्मी परिचालन गरेर जबराको प्रवेश रोक्ने रणनीति बनायो ।

जबरालाई ढोकामै रोक्ने योजना बनाएका बार पदाधिकारीले गृहमन्त्रीलाई फोन गरे । उनीहरुले आफूहरु जबरालाई रोक्न ढोकामा बस्ने बताउँदै हस्तक्षेप र बल प्रयोग नगर्न अनुरोध गरे ।

उता जबरा भने सुरक्षाकर्मीको स्कर्टिङसहित सर्वोच्च फर्किने तयारीमा थिए । सरकारले उनको निजी सुरक्षा यस अगाडि नै खोसिसकेको थियो । उनी सरकारसंग आफ्नो निजी सुरक्षा माग गरिरहेका थिए ।

‘सरकारले सुरक्षा पठाएको छैन । मैले बिहानै माग गरेको हुँ । म आफनो तर्फबाट समन्वय गर्दैछु । सरकारले सुरक्षा पठाएन भने पनि म हिँडेर आउँछु,’ जबराले बुधबार दिउँसो अनलाइनखबरसंगको दोस्रो कुराकानीमा भने ।

जबरा अन्ततः बालुवाटारको सरकारी निवासबाट बाहिर निस्कनै सकेनन् । संसदको महाअभियोग सिफारिस समितिले जबरालाई महाअभियोग लगाउन सिफारिस गरे पनि प्रतिनिधिसभाको अवधि सकिएपछि उक्त प्रतिवेदनमाथि निर्णय भएन र संसदमै थाती रह्यो । तर संसदका महासचिव गौतमले प्रतिनिधिसभाको नयाँ निर्वाचनसमेत भइसकेको भन्दै अघिल्लो प्रतिनिधिसभामा दर्ता भएको महाअभियोग प्रस्तावका कारण भएको निलम्बन निष्प्रभावी भएको जिकिर गरेका थिए ।

सत्तारुढ दलका ९८ सांसदले जबराविरुद्ध १ फागुन २०७८ मै संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । सोही दिन संसद सचिवालयले जबरालाई निलम्बन गरेको पत्र सरकार, राष्ट्रपति कार्यालय, सर्वोच्च र न्याय परिषदलाई पठाएको थियो ।

संसद नभएको मौका छोपेर जबरालाई सर्वोच्च फर्काउने संसद सचिवालयको निर्णय सरकारको सहमतिमा नभएको पुष्टि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले नै गरे । ‘महाअभियोग सार्वभौम सम्पन्न संसदको सम्पत्ति हो, यसबारे आउने प्रतिनिधिसभामा छलफल भएर निर्णयमा पुग्छ,’ सञ्चारमन्त्री समेत रहेका कार्कीले भने ।

सरकारले नै जबराको महाअभियोग फुकुवा नभएको बताएपछि जबरालाई सर्वोच्च आउन सहयोग गर्ने प्रश्नै भएन ।

सरकार जबरालाई फिर्ता ल्याउने पक्षमा नरहेको थाहा पाएपछि सर्वोच्चको फुलकोर्ट बैठकले के आधारमा पत्र दिएको भनी संसद सचिवालयलाई प्रश्न गर्‍यो ।

यी प्रश्नको जवाफ पठाएपछि मात्र जबरालाई स्वीकार गर्ने कि नगर्ने भन्ने निर्णय गर्ने सर्वोच्चको तयारी छ । न्यायाधीश अनिल सिन्हा भन्छन्, ‘हामीले सोधेका प्रश्नको जवाफ आएपछि, फेरि फुलकोर्ट बैठक बस्छ र त्यसले उहाँ सर्वोच्च आउने नआउने विषयमा निर्णय गर्छ ।’

जबरासंग अवकाशअघि अब तीन दिन मात्र समय छ । २२ मंसिरमा उधौली पर्व र २४ मा शनिबारका कारण सर्वजनिक विदा छ । बाँकी तीन दिनमा संसद सचिवालयले सर्वोच्चका प्रश्नको जवाफ दिनुपर्ने छ । सचिवालयको जवाफले मात्र जबराको सर्वोच्च छिर्ने सपना पूरा हुने छैन, सचिवालयको पत्रविरुद्ध आजै सर्वोच्च बारले रिट समेत दर्ता गराएको छ ।

यी तमाम असहजता छिचोल्दै सर्वोच्च प्रवेश गर्न जबरालाई सहज हुने छैन । यस अगाडि पनि जबराले आफूमाथि लगाइएको महाअभियोग प्रस्ताव पनि स्वतः खारेज भएको दाबी गर्दै सर्वोच्च जाने तयारी गरेका थिए । त्यतिखेर सरकारले नै सुरक्षाकर्मी पठाएर उनलाई घरबाहिर निस्कन रोकेको थियो ।

लेखकको बारेमा
सागर चन्द

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?