+
+

पुल्चोक–गोन्द्राङ सडकखण्डमा ५८ प्रतिशत काम, सम्झौता सकिन ३ महिना बाँकी

सुवास पण्डित सुवास पण्डित
२०७९ मंसिर २२ गते १२:४९

२२ मंसिर, चितवन । ठेक्का सम्झौता अवधि सकिन करिब ३ महिना बाँकी रहँदा चितवनको नारायणगढ पुल्चोकदेखि गोन्द्राङसम्मको ६ लेन सडक विस्तारको काम जम्मा ५८ प्रतिशत मात्रै सकिएको छ ।

आगामी फागुनमा ठेक्का सम्झौता अवधि सकिदैछ । सडक निर्माणको जिम्मा पाएको इन्डो सगुन जेभीले सडक विभाग र महानगरपालिकाले सडकको क्षेत्रभित्र पर्ने घर, टहरा र संरचना समयमा नै नभत्काउँदा काममा ढिलाइ भएको जनाएको छ ।

सुरुमा विद्युतका पोल सार्न समय लागेको र त्यसपछि सडकको क्षेत्राधिकार भित्र बनेका संरचना भत्काउन ढिलाइ हुँदा समयमै काम गर्न नसकिएको निर्माण कम्पनीका प्रमुख सहदेव खड्काले बताए ।

उनका अनुसार सडकको भौतिक प्रगति ५८ प्रतिशत र वित्तीय प्रगति ४३ प्रतिशत छ । निर्माण कम्पनीले गोन्द्राङदेखि चौबिसकोठीसम्म कामलाई गति दिए पनि चौबिसकोठीबाट नारायणगढसम्मको काम खासै अगाडि बढ्न सकेको छैन ।

निर्माण कम्पनीका अनुसार अबको एक महिनामा चौबीसकोठीसम्मको  सडक  क्षेत्र  कालोपत्रे भइसक्ने छ । त्यसभन्दा  यता चौबीसकोठीदेखि लायन्सचोक पुल्चोकतर्फको काम भने साइट क्लियर नहुँदा अगाडि बढाउन नसकिएको निर्माण कम्पनीका प्रमुख खड्का बताउँछन् । उनले कच्चा पदार्थको ठूलो अभावसमेत झेलेको बताए ।

‘हामी त समयमा नै काम सकाएर राज्यलाई हस्तान्तरण गर्न चाहन्थ्यौं तर, विभिन्न समस्याले बाधा दिइरहेको छ,’ निर्माण कम्पनीका प्रमुख खड्काले भने, ‘सडक विस्तारका लागि आवश्यक मालसामग्री पैसा हालेर किन्छु भन्दा पनि कही पाइएको छैन, महानगरपालिका र सडक डिभिजनले यसमा विशेष सहयोग गर्ने अपेक्षा छ ।’

उनले साइट क्लियर भएर कच्चा पदार्थ उपलब्ध भएमा चालु आर्थिक वर्षभित्र नै ६.०८ किलोमिटर लामो सडकखण्ड विस्तारको काम सक्ने लक्ष्य आफूहरुले लिएको दावी गरे । उनले भरतपुर महानगरपालिकाको केराबारीमा न सडक नै अवरुद्ध हुने गरी आएको पहिरोले जम्मा गरेको सामग्री महानगरपालिका र सडक डिभिजनले दिएर कामलाई सहज बनाउन अनुरोध गरे । ‘हामीलाई निर्माण सामग्री चाहिएको छ, त्यहाँ पहिरोले सडक थुनेको छ, वातावरणीय प्रभावसमेत सबै हेरेर आवश्यक परिमाण निकाल्न दिए काम गर्न सहज हुन्थ्यो’ खड्काले भने, ‘महानगरलाई राजश्व पनि आउँथ्यो, हाम्रो काम पनि हुन्थ्यो ।’

भरतपुर खानेपानी बोर्डले खानेपानीका पाइप बिछ्याउने कामसमेत समयमा नै नगर्दा विस्तारमा बाधा भएको निर्माण कम्पनीका प्रमुख खड्काले बताए । ‘हामीले जेठमा नै पाइप ल्याएर झारिदिएका हौं, अहिलेसम्म ठेक्का लगाएर काम अगाडि बढाउन काम भएन’ निर्माण कम्पनीका प्रमुख खड्काले भने, ‘हामीले मात्रै चाहेर सडक विस्तार गर्न मुश्किल परेको छ ।’

सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलले ६ लेनको सडकको मापदण्ड भित्र बनेका संरचनाहरु भत्काउन सार्वजनिक सूचना जारी गरिएको बताए । उनले सम्वन्धित घरधनीहरुलाई भेटेर सम्झाउने र पहिला मार्क गरिएका ठाउँहरुको पुनः जाँच गरिएको बताए ।

‘सडक क्षेत्राधिकार भित्र बनेका संरचना आफैं भत्काउनुस् भनेका छौं, तर उहाँहरुले भत्काउनुहोला जस्तो देखिदैन’ डिभिजन प्रमुख पौडेलले भने, ‘एक/दुई ठाउँमा नहानीकन उहाँहरु तात्नुहुन्छ जस्तो लागेको छैन ।’

उनका अनुसार यस सडक क्षेत्रमा ५७ वटा घर तथा टहराहरु मापदण्ड मिचेर निर्माण गरिएका छन् । राजमार्गको मूल सडकको बीच भागबाट २५ मिटर दायाँ-वायाँ छोएर बनेका संरचना भत्काइने सडक डिभिजन कार्यालयले जनाएको छ ।

२८ महिनाभित्र विस्तार गरिसक्ने सडकको लागत एक अर्ब बाह्र करोड रुपैयाँ छ ।  सडकको २०७७ माघ २० गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । आयोजनाले विद्युत पोल सार्न, रुख कटान तथा खानेपानीको पाइपका लागि भन्दै ५ करोड रकम छुट्याएको छ ।

५० मिटर चौडाइ रहने ६ लेनको सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र विजुली अन्डरग्राउन्ड गर्ने योजना छ । तर, अण्डर ग्राउण्ड विद्युतीकरणको काम सुरु भएको छैन ।

सडकको दायाँ-वायाँ ११.५/११.५ मिटरको पिच हुनेछ । त्यसको बीचमा ३ देखि ४ मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५.५ मिटरदेखि ६ मिटरसम्मको सर्भिस लेन दुवैतिर हुनेछ । त्यसभन्दा पर ३ देखि ४ मिटरको फुटपाथ हुने सडक डिभिजन कार्यालयले जनाएको छ । सडकका दुवैतर्फ स्मार्ट लाइट रहनेछन् ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?