+
+

सिन्धुलीमा किसानलाई जुनार बिक्री गर्न भ्याइनभ्याइ

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २२ गते १७:०५

२२ मंसिर, सिन्धुली । बारी र बगैँचामात्र होइन, सिन्धुलीका मुख्य चोक र बजार क्षेत्र पाकेका जुनारले पहेँलपुर भएका छन् । किसान र व्यापारीलाई जुनार किनबेच गर्न भ्याइनभ्याइ छ ।

गोलञ्जोर गाउँपालिका-५ खनियाखर्क बजारमा जुनार बिक्रि गर्न किसानको घुइचो नै लाग्ने गरेको छ । वीपी राजमार्ग सञ्चालनमा आएसँगै जुनारको कारोबारमा वृद्धि भएको व्यापारी सावित्रा थापामगरले जानकारी दिइन्। उनी विगत १५ वर्षदेखि जुनार बेच्दै आएका छन् । ‘यहाँ सुन्तला कम बिक्री हुन्छ, जुनारको व्यापार गज्जब छ’, उनले भने ।

विगत वर्षमा भदौदेखि नै जुनार बेच्ने गरेकामा यसवर्ष स्थानीय तहले हरियो जुनार बेच्न रोक लगाएको थियो । कात्तिकदेखि मात्र पाकेको जुनार बजारमा बिक्री हुन थालेको हो । विभिन्न ठाउँ आवातजावत गर्ने यात्रु नै जुनारका मुख्य ग्राहक हुन् ।

‘यहाँको जुनारलाई यात्रुले कोशेलीका रुपमा लैजाने गरेका छन्’, स्थानीय व्यापारी लक्ष्मी सापकोटाले भननिन्। एकै दिनमा रु ५० हजारसम्मको जुनार बिक्री हुने गरेको उनले बताइन् ।

किसानले कात्तिकदेखि जुनार बिक्री गर्न बजारमा ल्याउँछन् । शीत भण्डारमा राखेको जुनार वैशाखसम्म बेच्न सकिने सापकोटाले बताए । विगत १६ वर्षदेखि जुनार बेच्दै आएकी रत्नकुमारी मगरले विचौलियाले अन्यत्रको जुनारलाई सिन्धुलीको भनेर बिक्री गर्न थालेको गुनासो गरिन् । उनी जुनार बेचेर वर्षको रु एक लाख बचत गर्छिन्।

खनियाखर्क बजार आसपासमा मात्रै तीस जनाभन्दा बढी जुनार व्यापारी र व्यवसायी छन् । जुनारको मूल्यमा भने एकरुपता छैन । मुख्य बजारमा व्यापारीले प्रतिकिलो रु ६५ देखि रु ७० सम्ममा किसानसँग खरिद गरी रु ८० देखि रु १२० सम्ममा जुनार बिक्री गर्दै आएका छन् ।

गोलञ्जर गापाउँपालिका–६ नाकाजोलीका नविन हायुले जुनार बेचेर यसवर्ष रु सात लाख २० हजार आम्दानी भएको बताए । उनको बगैचामा एक हजार पाँच सय जुनारका बोट रहेका छन् ।

किसानको बगैचामै गएर ठेकेदार र व्यापारीले जुनार खरिद गर्ने गरेका छन् । जुनार बोटमै ठेक्का लागेकाले बजारमा गएर बेच्नुपर्ने झन्झट छैन । जिल्लामा कोकाकोला र फेन्टाको विकल्पमा जुनारको जुस प्रयोग हुन थालेको छ ।

जुनारलाई प्रशोधन गरी बनाइएको जुस काठमाडौँ, जनकपुर, विराटनगरलगायत ठाउँमा बिक्रीका लागि लैजाने गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका प्रमुख रमेश हुमागाईका अनुसार जिल्लामा एक हजार ३४५ हेक्टरमा जुनार खेती गरिँदै आएको छ ।

पूर्व पश्चिमसम्म फैलिएको महाभारत क्षेत्रमा जुनारको व्यवसायिक खेती गर्ने क्रम बढ्दै गएको उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?