+
+

प्रदेश-१ मा को बन्ला कांग्रेस संसदीय दलको नेता ?

हरि अधिकारी हरि अधिकारी
२०७९ मंसिर २६ गते १४:०८

२६ मंसिर, विराटनगर । प्रदेश-१ मा नेपाली कांग्रेसको संसदीय दलको नेतामा पाँच जना आकांक्षी देखिएका छन् । कांग्रेस संसदीय दलको नेता नै मुख्यमन्त्री  बन्ने सम्भावना रहेका कारण कांग्रेसमा आकांक्षीहरु धेरै देखिएका हुन् ।

प्रदेश १ मा प्रत्यक्षमा १७ र समानुपातिकमा १२ गरी कांग्रेसको २९ सिट छ । प्रत्यक्षबाट निर्वाचित चार र समानुपातिकबाट निर्वाचित एक जना प्रदेशसभा सदस्य संसदीय दलको नेताका लागि धौडधूप गरिरहेका छन् ।

कांग्रेस केन्द्रीय सदस्य अमृत अर्याल, भीम पराजुली, प्रदेश १ सभापति उद्धप थापा, प्रदेश १ का भौतिक पूर्वाधार मन्त्री हिमाल कार्की र आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की संसदीय दलको नेताको आकांक्षी हुन् । यीमध्ये सभापति शेरबहादुर देउवा प्यानलका अर्याल, कृष्णप्रसाद सिटौला प्यानलबाट थापा र पराजुली मुख्य आकांक्षी हुन् ।

कुन समूह बलियो ?

प्रदेश १ मा २९ प्रदेशसभा सदस्य जितेको नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा प्यानल बलियो छ । मुख्यमन्त्रीका दाबेदार अमृत अर्याल, हिमाल कार्कीसहित सदानन्द मण्डल, इसाइल मन्सुरीसहित १२ जना देउवा प्यानलका छन् ।

केदार कार्की, इन्दिरा थापा, मानबहादुर लिम्बू, गयानन्द मण्डलसहित ८ जना डा. शेखर कोइराला क्षा हुन् ।

कृष्णप्रसाद सिटौलाको समूहमा भीम पराजुली, उद्धव थापा, भूमिप्रसाद राजवंशीसहित ९ जना छन् । १४ औं महाधिवेशनमा सिटौला समूहले सभापति शेरबहादुर देउवालाई साथ दिएको थियो ।

म स्वाभाविक दाबेदार हुँ : अर्याल

नेपाली कांग्रेस केन्द्रीय सदस्य अमृत अर्याल संसदीय दलको नेतामा आफ्नो दाबी स्वाभाविक भएको बताउँछन् । २०७० सालको संविधानसभा सदस्य रहेका उनी केन्द्रीय नेताहरुकै सल्लाह अनुसार आफू प्रदेशमा आएको दावी गर्छन् । ‘पार्टीमा योगदानको हिसाबले म सिनियर हुँ, मेरो स्वाभाविक दाबी छ’, उनले भने, ‘हिजो सिनियर नेताहरुको सल्लाहमा प्रदेशमा आएको हुँ ।’

आर्याल मोरङ-५ बाट प्रतिनिधिसभा सदस्यको दाबेदार थिए । तर सत्तारुढ गठबन्धनमा भागवण्डा गर्दा सो क्षेत्र नेकपा माओवादी केन्द्रले पायो । त्यसपछि अर्याल मुख्यमन्त्रीको आश्वासन पाएर प्रदेशमा झरेका थिए ।

अर्याल दुई कार्यकाल मोरङमा कांग्रेसको जिल्ला सभापति भएका थिए । १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य मनोनित भएका उनी १४ औं महाधिवेशनमा भने केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

मलाई राप्रपाले पनि सहयोग गर्छ : पराजुली

विराटनगर महानगरपालिकाका पूर्वमेयर भीम पराजुलीले आफू संसदीय दलको नेता बने सरकार निर्माणका क्रममा राप्रपाले साथ दिने दावी गर्छन् ।

‘म संसदीय दलको नेताका लागि तयारी गरिरहेको छु’, उनले भने, ‘म संसदीय दलको नेता बने राप्रपाले पनि हामीलाई सहयोग गर्छ ।’ आफ्नो धार्मिक छविका कारण राप्रपाले सरकार निर्माणमा आफूलाई साथ दिने पराजुलीको जिकिर छ ।

प्रदेशसभाको अघिल्लो कार्यकालमा कोइराला पक्षका राजीव कोइराला दलको नेता बनेका थिए । यो पटक प्रदेशसभामा कोइराला पक्ष कमजोर छ । कोइराला पक्षबाट केदार कार्की दाबेदार छन् ।

सहमति नभए निर्वाचन गर्नुपर्छ : थापा

नेपाली कांग्रेस प्रदेश १ सभापति उद्धव थापा आफू संसदीय दलको नेताको दाबेदार भएको बताउँछन् । दुई कार्यकाल नेपाली कांग्रेस झापाको सभापति भएका उनी १४ औं महाधिवेशनमा गुरुराज घिमिरेलाई पराजित गर्दै प्रदेश १ सभापतिमा निर्वाचित भएका थिए ।

समानुपातिक पद्धतिबाट सांसद सिफारिसमा परेका थापा प्रदेश सभापति भएकाले संसदीय दलको नेतामा आफ्नो दावी स्वाभाविक भएको दावी गर्छन् । ‘२०३२ सालमा नेविसंघ हुँदै पार्टीको राजनीतिमा छु’, उनले भने, ‘प्रदेश सभापति भएका कारण संसदीय दलको नेताको स्वाभाविक दाबेदार हुँ ।’

उनले सहमतिका आधारमा दलको नेता छनोट हुन नसके प्रजातान्त्रिक विधिबाट अघि बढ्नुपर्ने बताए । ‘दलभित्र अरु पनि आकांक्षी हुनुहुन्छ’, उनले भने, ‘सहमतिका आधारमा नभए प्रजातान्त्रिक विधिबाट दलको नेता छान्नुपर्छ ।’

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?