२६ मंसिर, नेपालगञ्ज । शनिबार सम्पन्न नेपालगञ्ज म्याराथनको आठौं संस्करण नेपालमा हुने म्याराथन प्रतियोगितामध्ये ऐतिहासिक रह्यो । पहिलोपल्ट आधिकारिक रुटमा दौड आयोजना भएको थियो । एशोसिएसन अफ इन्टरनेशनल म्याराथन्स एण्ड डिस्टेन्स रेसेस (एम्स)ले वार्षिक क्यालेण्डरमा राखेको नेपालको एकमात्र म्याराथन प्रतियोगितासमेत बन्यो ।
कम उचाइको स्थान र सिधा रुट भएकाले यहाँको रुटलाई खेलाडीहरु आफैं सजिलो मान्छन् । नेपालमा हुने अन्य तीन म्याराथनभन्दा नेपालगञ्जमा दौडिन सजिलो हुन्छ भने खेलाडीहरुको आकर्षणमा यो प्रतियोगिता किन परिरहेको छैन ?
आठौैं संस्करणको नेपालगञ्ज म्याराथनमा २९ जना धावकको सहभागिता थियो । तीमध्ये ८ जनाले मात्र ४२.१९५ किलोमिटरको दूरी पार गर्न सके । पूरा गरेकाहरूमा पनि ८ जनाकाे टाइमिङ ४ घण्टा आसपास थियाे । २ घण्टा २० मिनेट २९ सेकेण्डको व्यक्तिगत उत्कृष्ट टाइमिङसहित त्रिभुवन आर्मी क्लवका खडकबहादुर खड्काले पहिलोपल्ट म्याराथन उपाधि जिते ।
नेपालगञ्ज म्याराथनको ८ संस्करणमा अहिलेसम्म कुनै पनि खेलाडी दोहोरिएर विजेता बनेका छैनन् । अघिल्ला सात संस्करणका विजेता कुनै पनि खेलाडीले यो संस्करणमा सहभागिता जनाएनन् । त्यसैले धेरैजसो गैरव्यावसायिक खेलाडीको सहभागितामा यसपल्ट म्याराथन आयोजना भयो ।
‘खै के भएर हो, नेपालगञ्जमा एकपल्ट जितेर गएका खेलाडी दोहोरिएर आएका छैनन्,’ म्याराथन आयोजक क्रिएटिभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकुरी भन्छन्, ‘छैटौं संस्करणले ओलम्पिक छनोटको पनि मान्यता पाउँदा सबै खेलाडी आएका थिए ।’ छैटौं संस्करणमा एपीएफका गोपीचन्द्र पार्कीले २ घण्टा १८ मिनेट ५९ सेकेण्डमा म्याराथन पूरा गरी उपाधि जितेका थिए । जुन समय यो रुटको कीर्तिमान हो ।
नेपालमा अहिले प्रमुख चारवटा म्याराथन प्रतियोगिता छन् । सबैलाई नेपाल एथलेटिक्स संघले मान्यतासहित प्राविधिक सहयोग दिँदै आएको छ । चारवटै म्याराथनको रुटले एम्सबाट हालै आधिकारिकता पाएको हो ।
खेलकुदको सबैभन्दा कठिन विधा मानिने म्याराथनमा एउटा खेलाडीलाई कम्तिमा तीन महिनाको आराम अत्यावश्यक हुन्छ । त्यो भनेको एउटा खेलाडीले आफू सहभागी हुने प्रतियोगितामा कम्तिमा तीन महिनाको अन्तर बनाउनेछ ।
नेपालमा भदौ/असोजमा काठमाडौं म्याराथन हुँदै आएको छ । मंसिरमा नेपालगञ्ज तथा माघ/फागुनमा पोखरा र प्रधानसेनापति म्याराथन आयोजना हुन्छ । भएका प्रतियोगिता पनि एकै समयमा आयोजना गरिँदा नेपालका सीमित म्याराथन धावकहरु बाँडिने अवस्थामा छन् ।
नेपालगञ्ज म्याराथन खेलाडीको रोजाइमा नपर्नुका तीन कारण
पुरस्कार राशी
नेपालगञ्ज म्याराथनले यो संस्करणमा पुरस्कार राशी बढाएर विजेताका लागि १ लाख ५० हजार रुपैयाँ बनाएको थियो । झण्डै तीन दशकको इतिहास भएको काठमाडौं म्याराथनका विजेताले १ लाख पुरस्कार पाउँछन् ।
तर, प्रधानसेनापति म्याराथन र पोखरा म्याराथनमा भने पुरस्कार रकम धेरै छ । पोखराले हालै पुरस्कार रकम बढाएर ४ लाख ५० हजार नगद बनाएको छ । यो नेपालकै सर्वाधिक नगद पुरस्कार हो । प्रधानसेनापति म्याराथनले ३ लाख नगद र एउटा मोटरसाइकल पुरस्कार दिँदै आएको छ ।
‘नेपालमा भइरहेकाभध्ये हामी नयाँ हौं । पुरस्कार रकम अपेक्षाकृत बढाउन नसकिएकोमा हाम्रो कमजोरी होला । तर, म्याराथनको यो रुट खेलाडीहरुको भविष्यका लागि निकै सकारात्मक हुन्छ भनेर पनि बुझाउन सकिएन,’ आयोजक क्रिएटिभ ह्याण्ड्सका ठकुुरीले अनलाइनखबरसँग भन्छन् ।
शरीर शिथिल बनाएर म्याराथन दौडिँदा खेलाडीले धेरैभन्दा धेरै पुरस्कारको अपेक्षा गर्छन् । कम पुरस्कार भएको प्रतियोगितालाई प्राथमिकता नदिनुलाई स्वभाविक मान्न सकिन्छ । तर, आफैंले मान्यता दिएको प्रतियोगितालाई सफल बनाउने दायित्वमा नेपाल एथलेटिक्स संघ पनि जिम्मेवार हुनुपर्ने प्रशिक्षक धनीराम चौधरी बताउँछन् । ‘नेपालमा म्याराथन धावकहरु औलामा गन्न सकिने छन् । त्यसो हुँदा संघले पनि प्रतियोगिताको क्यालेण्डर निर्धारण गरिदिए सबैलाई सजिलो हुन्छ’, चौधरीले भने ।
प्रतियोगिताको चाप
केहि समयअघि एक कार्यक्रममा नेपालगञ्ज म्याराथनका पूर्व विजेता गोपीचन्द्र पार्कीले नेपालगञ्जको रुट विश्वकै प्रतिष्ठित बर्लिन म्याराथनभन्दा पनि सजिलो भएको दावी गरे । तर, उनी आफैं त्यो प्रतियोगितामा खेल्न गएनन् ।
किनभने, उनी राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा छन् । नेपालले आगामी जनवरी ७ मा बंगलादेशको ढाका म्याराथनमा सहभागिता जनाउनेछ । गोपीले हाफ म्याराथनमा प्रतिस्पर्धा गर्दैछन् । ढाका म्याराथनमा करण खड्का र सन्तोषविक्रम विष्ट तथा महिलातर्फ विन्द्रा धानुके श्रेष्ठ र पुष्पा भण्डारी सहभागी हुँदैछन् ।
‘हामीले नवौं राष्ट्रिय खेलकुदका आधारमा बंगबन्धुका लागि खेलाडी छनोट गरेका थियौं । प्रधानसेनापति म्याराथनका लागि नेपाली सेनाले राष्ट्रिय टिमबाट आफ्ना खेलाडी फिर्ता बोलाएपछि वरीयतामा निकट रहेका खेलाडीहरुलाई अवसर दिइएको हो,’ प्रशिक्षक चौधरीले भने ।
भदौ २५ गते काठमाडौं म्याराथन सम्पन्न भयो, कात्तिक १ गते नवौं राष्ट्रिय खेलकुदअन्तर्गत म्याराथन आयोजना भयो, अन्तर्राष्ट्रिय म्याराथनको मितिसमेत जुध्नु र नेपाली सेनाले आफ्ना शीर्षस्तरका खेलाडीलाई आफ्नै प्रतियोगिताका लागि बचाएर राख्दा नेपालगञ्ज म्याराथनले शीर्षस्तरका नेपाली खेलाडीहरु पाउन सकेन ।
नकारात्मक मानसिकता !
अन्तर्राष्ट्रिय आधिकारिकता पाएपछि राम्रो टाइमिङ भएका विदेशी धावकहरु पनि नाम दर्ता गराएको भन्दै आयोजकले प्रतियोगिताको प्रचार गरेका थिए । यसले नेपाली खेलाडीले पनि स्तरीय धावकसँग प्रतिस्पर्धा गर्न पाउने र उनीहरुको स्तर बढ्ने अपेक्षा थियो । कतिपयले हार्ने प्रतियोगितामा किन दौडिने भन्ने नेपाली खेलाडीको मानसिकता रहेकोसमेत टिप्पणी गरे ।
यद्यपी नेपालगञ्ज म्याराथनका एक पूर्व च्याम्पियनले भने त्यसको खण्डन गरेका छन् । ‘प्रतियोगिता रोज्न पाउनु खेलाडीको अधिकार हो । हामीले प्रतिस्पर्धीको स्तर हेरेर प्रतियोगितामा सहभागी हुने होइन, आफूलाई विश्वास गर्ने हो,’ एपीएफका गोपीले अनलाइनखबरसँग भने ।
नेपालगञ्ज म्याराथनमा यसपल्ट समग्र सहभागीकै संख्यामा कमी थियो । म्याराथनका रेस डाइरेक्टर तथा नेपाल एथलेटिक्सका प्रमुख प्रशिक्षक चन्द्र गुरुङले विद्यालयका केटाकेटीसमेत गरी १ हजारभन्दा बढी खेलाडीहरु सहभागी भएको बताए । यद्यपी आयोजक संस्था क्रिएटिभ ह्याण्ड्सले भने म्याराथनमा समावेश १० विधामा २४६१ जनाले नाम दर्ता गराएको जनाएकाे छ । प्रमुख इभेन्ट म्याराथनमा २९ र हाफ म्याराथनमा ८ जना खेलाडीको सहभागिता थियो । हाफ म्याराथनमा सन्तोषी श्रेष्ठले लगातार दोस्रोपल्ट उपाधि जितिन् । आठमध्ये ७ खेलाडीले रेस पूरा गरे ।
‘यसपल्ट चुनावका कारणले पनि प्रतियोगिताको प्रचार र सहभागितामा कमी आएजस्तो लाग्यो,’ गुरुङ भन्छन्, ‘प्रतियोगिताहरु जुधेकाले खेलाडीहरु पनि सोचेजस्तो सहभागी हुन पाएनन् ।’
प्रतिक्रिया 4