 
																						२६ मंसिर, काठमाडौं । आम चुनावभन्दा केही साताअघि एमाले र माओवादी दुवै वृत्तमा भावी सहकार्यका सम्भावनाबारे कोण–प्रतिकोणबाट छलफल चलेका थिए । कथं एमालेले चुनावमा सोचेजस्तो नतिजा ल्याउन सकेन भने त्यो अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व क्षमतासँग जोडिने, भावी नेतृत्वबारे छलफललाई त्यसैले ढोका खोल्ने व्यापक बुझाइ थियो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पंक्तिमा भनेअनुसार एमाले अध्यक्ष केपी ओलीसँग सहकार्य सहज हुँदैन । अब सहकार्यका लागि एमालेले नयाँ विकल्प दिनुपर्छ । शीतलनिवास निकटस्थहरुका अनुसार राष्ट्रपति विद्या भण्डारीलाई आवश्यक पर्यो भने साझा नेता मानेर जान सकिने विकल्पबारे उनी स्वयंले सुझाएका थिए ।
शीतलनिवासमा छँदै कहिले असंवैधानिक संसद विघटनलाई तत्कालै सदर गरेर, कहिले संसदको प्रक्रियासम्मत बाटोबाट अनुमोदित नागरिकता विधेयक रोकेर चर्चामा आइराख्ने राष्ट्रपति विद्या भण्डारीको आगामी कदमबारे नयाँ संकेतहरु सार्वजनिक हुन थालेका हुन् ।
एपीवान टिभीलाई अन्तर्वार्ता दिँदै राष्ट्रपति भण्डारीले त्यसको स्पष्ट संकेत गरेकी छन् । चुनावको मौन अवधिमा प्रसारण गर्ने तयारीमा रहेको अन्तर्वार्ता उक्त टिभीले हिजो आइतबार प्रसारण गरेको हो । त्यसमा भण्डारीले भनेकी छन्, ‘राष्ट्रपति कार्यकाल सकिएपछि के गर्ने भन्ने धारणा बनाइसकेको छैन । निष्क्रिय त बस्ने कुरा हुँदैन । सक्रिय नै हुन्छु । सक्रिय हुने क्षेत्र भनेको सामाजिक क्षेत्र नै हुन्छ ।’
कार्यक्रम प्रस्तोता टीकाराम यात्री पूरक प्रश्न गर्छन्, ‘तपाईंलाई त्यसपछि सक्रिय राजनीतिमा देखिँदैन ?’
भण्डारीको जवाफ छ, ‘देख्ने नदेख्ने त्यो पछिको कुरा हो । अहिले नै धारणा बनाएकी छैन । देशका लागि आवश्यक पर्यो भने मेरो सेवा जहाँ आवश्यक पर्छ, म माग गरेर प्रतिस्पर्धा गरेर कहीँ गएको छैन । समयले घचेटेर त्यहाँ पुर्याएको छ, सेवा गर्नलाई ।’
उनले देशमा विभिन्न खालका चलखेलहरु भइरहेको दाबी गरेकी छन् । यस्तो बेलामा राष्ट्रपतिले आवश्यक सुझाव दिन सक्ने भन्दै त्यसलाई हस्तक्षेपका रुपमा लिन नहुने बताएकी छन् ।
उनले भनेकी छन्, ‘कहिलेकहिले राष्ट्रपतिले देशको स्थिरताका लागि कुरा गर्नु बेग्लै कुरा हो । पार्टीको स्थिरता भयो भने न देशको स्थिरता पनि रहन्छ भनेर पार्टीका उच्च नेताहरुलाई बेला–बेला सुझाव दिनु राष्ट्रियता एकता प्रवर्धन गर्ने नै कुरा हो नि ।
तपाईंलाई थाहा छैन, नेपालमा कस्ता खालका चलखेल हुन्छन् भनेर, राष्ट्रपतिले समयमा थाहा पाएर भन्दा देशलाई हित हुन्छ भने यसमा म धेरै बहस, लडाइँ गर्न तयार छु । राष्ट्रपतिले ‘मिलेर देश चलाउनुस्’ भन्दा चाहिँ राजनीति गरेको हुने ?’
नेपालको संविधानले राष्ट्रपतिलाई राष्ट्राध्यक्ष मानेको छ । संविधानमा भएको व्यवस्था हेर्ने हो भने राष्ट्रपतिलाई कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको अभिभावक निकाय मानिएको छ । आलंकारिक राष्ट्रपतिले आफ्नो कार्यकालभरमा आलंकारिक रुपमा भएपनि यी निकायको अविभावकीय भूमिका खेलेको हुन्छ ।
राष्ट्रपति कुनैपनि विवादमा आउनु हुदैन भन्ने मान्यताका आधारमा उसले गर्ने एकाध काम बाहेक सबै सिफारिसका आधारमा निर्णय गर्छन्, प्रतिवेदन ग्रहण गर्छन । राज्यका निकायका प्रमुखहरुलाई बेलाबेलामा बुझेर चासो र जानकारी लिन्छिन् वा लिन्छन् ।
राष्ट्रपतिले आफ्नो कार्यकालभर राज्यका गोप्य र गुप्त सूचनाहरु पाएका हुन्छन् । उनी नेपाली सेनाको परमाधिपति समेत भएकाले राज्यका आन्तरिक र बाह्य चुनौती, संवेदनशीलता र सम्बन्धहरुका वारेमा जानकारी हुन्छ । उनले विभिन्न निकायको प्रतिवेदन बुझ्ने भएकाले ती निकायका संवेदनशील सूचना पनि पाउँछिन् ।
कार्यकालभर विवाद रहित रुपमा रहुन् भन्ने अपेक्षा गरिएका राष्ट्रपति आफ्नो अवकाशपछि पनि विवादरहित रहुन भन्ने अपेक्षा गरिन्छ । उनलाई सम्मान स्वरुप अवकाशपछि समेत राज्यको तर्फबाट निश्चित कर्मचारी र सुविधा दिइएको हुन्छ । उनलाई राज्यको क्षमता र हैसियत अनुसार सुविधा पनि दिइएको हुन्छ ।
अविभावकीय भूमिकामा हुने राष्ट्रपतिले सबैको कुरा सुन्नुपरेको हुन्छ । सरकार गठन र पतनका सिलसिलामा सबै पक्षको दृष्टिकोण बुझेकी हुन्छन् । सरकार गठनका जोडघटाउलाई नजिकबाट नियाल्ने मौका पाएकी हुन्छिन् । प्रधानमन्त्री नियमित रुपमा गएर उनलाई ब्रिफिङ गरेका हुन्छन् ।
यस्तो पृष्ठभूमिमा कुनै पनि राष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा आउनु किन उचित होइन ?
जनताको मतको वैधताका आधारमा राज्यशक्ति प्राप्त गरी राज्यको र नागरिकको हितका लागि राजनीति गरिन्छ । राज्यशक्तिको सर्वोच्च पदमा पुगिसकेपछि थप के लाभ प्राप्त गर्नु छ र फेरि सक्रिय राजनीति गर्नु ?
राष्ट्रपति भएको व्यक्तिले राज्यका संवेदनशील सूचना पाएको हुन्छ । सबै जानकारी र विवरणमा पहुँच हुन्छ । भोलि राष्ट्रपति भएको व्यक्ति राजनीतिमा सक्रिय हुँदा प्रतिस्पर्धी दल र नेताहरुका बारेमा राष्ट्रपतिको हैसियतले पाएका सूचनाहरुको प्रयोग वा दुरुपयोग हुने चुनौती रहन्छ ।
हिजो पाएको सूचना वा जानकारीको दुरुपयोग नहोला भनेर कसरी विश्वस्त हुने ? दुरुपयोग नै भएन भने पनि पूर्वराष्ट्रपति आवद्ध दल अरु निकटतम प्रतिस्पर्धीको तुलनामा भारी हुँदा जनताले आशंका गर्ने अवस्था आउँदै र ? त्यसैले कसैलाई यो अवसर दिनुहुदैन ।
दुई कार्यकाल अर्थात ८ वर्ष राष्ट्रपति भएकी भण्डारीमाथि कार्यकालको सुरुवातदेखि अहिलेसम्म एमालेलाई पृष्ठपोषण गरेको आरोप छ । भोलिका दिनमा उनले राजनीति गरेपनि नयाँ दल खोल्ने वा अर्को दलमा आवद्ध हुने सम्भावना छैन ।
एमालेमै फर्केर राजनीति गरेपछि उनीमाथि हिजो कतिपयले लगाएको ‘एमालेलाई फेभर गर्यो’ भन्ने आरोप झनै पुष्टि हुन जान्छ । तटस्थ बस्नुपर्ने व्यक्तिमाथिको यति संगिन आरोप लाग्ने अवसर उनले दिनुहुदैन ।
आलंकारिक राज्यप्रमुख भएका अन्य कैयौ मुलुकहरुमा अवकाशपछि उनीहरु सक्रिय राजनीतिमा फर्केको उदाहरण निकै दुर्लभ छ । कार्यकारी प्रमुख नै हुने अमेरिकाका पूर्वराष्ट्रपति समेत कि त अर्को कार्यकालका लागि प्रयास गर्छन कि अवकाशप्राप्त जीवन रोज्छन् । उनीहरु कतै विश्वविद्यालयमा भिजिटिङ प्रोफेसर भएका, कतै अनुभव बाँडिरहेका वा कतै सामाजिक काममा लागेका उदाहरण भेटिन्छन् ।
नेपालमा निर्वाचित राष्ट्रप्रमुखको इतिहास लामो छैन । भण्डारीअघिका राष्ट्रपति रामवरण यादव अवकाशपूर्ण जीवन बिताइरहेका छन् । चुरे र मधेशको पर्यावरणको चिन्ता गरिरहन्छन् । मुलुकको राजनीतिवारे यदाकदा मात्रै टिप्पणी गर्छन ।
चाहेर वा नचाहेरै भएपनि सक्रिय राजनीतिमा उनको रुची देखिदैन । विवादास्पद पृष्ठभूमिका भए पनि पहिलो उपराष्ट्रपति परमानन्द झाले समेत करिब करिब त्यही बाटो रोजेका छन् ।
जन्मजात राज्य सञ्चालनको हक पाएका र जनआन्दोलनको भावना कदर गरेर खुसीसाथ नागार्जुनमा दिन बिताइरहेका पूर्वराजा ज्ञानेन्द्र समेत सक्रिय राजनीतिमा आउन चाहेनन् । तुलनात्मक रुपमा एजेण्डा सहित राजनीतिमा आउने उनको कुरा ‘जष्टिफाई’ हुनसक्थ्यो होला, तर कहिल्यै उनले त्यो बाटो समाएनन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4